0Shares

नवलपरासी – नेपालको जल पर्यटनमा नयाँ आयाम थप्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा देशकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ। आइतबार साँझ विधिवत् उद्घाटन भएपछि ‘राइनो क्रुज’ ले नियमित सेवा सुरु गरेको हो। नारायणी नदीमा जल यात्राको आनन्द लिँदै यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई एउटै करिडोरमा जोड्ने उद्देश्यले यो परियोजना अघि सारिएको हो।

क्रुजको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले यसलाई नगरको नमुना गहनाका रूपमा चित्रण गरे। उनले क्रुज सञ्चालनका लागि नदीमा रहेका प्राविधिक अवरोध हटाउन र जलमार्गलाई थप सहज बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। यो क्रुजले देवघाटधामदेखि त्रिवेणीधामसम्मको धार्मिक पर्यटनलाई जोड्ने विश्वास लिइएको छ।

के-के छन् सुविधाहरू? राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउनको ५० करोड रुपैयाँ लगानीमा सञ्चालित यो क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। साढे दुई तलाको यो क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए। क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेजका साथै विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सव जस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था गरिएको छ।

शुल्क र सुरक्षा पर्यटकका लागि साधारण टिकट ५ सय रुपैयाँ तोकिएको छ भने विभिन्न प्याकेजअनुसार १५ सयदेखि ३ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक यात्रुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। ठूलो हावाहुरी र पानीको बहावमा पनि सञ्चालन हुन सक्ने क्षमता भएको यो क्रुजले नारायणी नदीमा ४० किलोमिटरसम्मको यात्रा अनुमति पाएको छ।

आर्थिक विकास र रोजगारी यस परियोजनाले स्थानीय उत्पादनको खपत बढाउनुका साथै ५० जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ। देवघाट, मौलाकालिका, वाल्मीकि आश्रम र चितवनको सौराहालाई जोड्दै दक्षिण एसियाकै नमुना नदी पर्यटन गन्तव्य बनाउने लक्ष्य सञ्चालकहरूको छ। यसले नवलपुर र चितवन क्षेत्रको समग्र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूले बताएका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement