11Shares

 

भरतपुर । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले समाजलाई सकारात्मक दिशातर्फ झकझक्याउन सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभएको छ। उहाँले राष्ट्रिय महिलाअधिकार आयोगले विभिन्न सेवा प्रदायक निकाय र पीडितलाई जोड्ने सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
मञ्जुश्री असाह्य संरक्षण गृहको सामाजिक संस्थाको अवलोकनका क्रममा अध्यक्ष पराजुलीले आयोग र यस्ता सामाजिक संस्थाबीच सहकार्य हुँदै आएको बताउँदै प्रत्यक्ष रूपमा सेवा प्रवाहको अवस्था हेर्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

“राज्यको सहयोगमा भित्रबाटै सेवा प्रवाह भइरहेको देख्दा सकारात्मक अनुभूति भयो” उहाँले भन्नुभयो, “स्थानीय तहको साथ–सहयोगमा सञ्चालन भएका संस्थामा सामान्यतया समस्या देखिँदैन, किनकि स्थानीय स्तरमै मूल्यांकन हुने गर्दछ।” उहाँले उजुरी दर्ता गरिनु आफैंमा सकारात्मक अभ्यास भएको उल्लेख गर्दै महिला, बालबालिका र पीडितका पक्षमा राज्य, आयोग र नागरिक समाजले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।“यो कुनै एक व्यक्तिको मात्र काम होइन, राज्यको दायित्व हो। आवश्यक परेको ठाउँमा हामी हाम्रो भूमिका निर्वाह गर्छौ,” अध्यक्ष पराजुलीले स्पष्ट पार्नुभयो।


कार्यक्रममा वरिष्ठ समाजसेवी तथा अधिकारकर्मी ईन्द्रराज भट्टराईले मञ्जुश्री असाह्य संरक्षण केन्द्रले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको बताउनुभयो। उहाँले यस्ता संस्था सञ्चालन गर्दा आउने चुनौतीहरू र महिला हिंसाका विविध पक्षबारे जानकारी गराउनुभयो।

संस्थाकी अध्यक्ष मञ्जु खाँड ठकुरीले संस्थाको गतिविधिबारे जानकारी दिँदै महिला हिंसा र न्याय प्राप्तिमा देखिने कठिनाइहरूको चर्चा गर्नुभयो। उहाँले जेनजी आन्दोलन पछि केही अपराधीहरू अझै फरार रहेकाले पीडित बालबालिकामा गम्भीर मानसिक असर परेको बताउनु भयो ।
उहाँले महिलाहरूलाई यस्ता संरक्षण गृहहरुमा रहदा आत्मनिर्भर बनाउने उद्देश्यले सिपमूलक तालिम र रोजगारीका अवसरमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।


कार्यक्रममा सहभागीहरूले महिला र बालबालिकाको अधिकार संरक्षणका लागि राज्य, स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो ।

11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement