2.1K+Shares

मान्छेको जीवनमा अनेकन घटनाहरू आइरहन्छन्, कुनै सुखद त कुनै कहालीलाग्दा। सामान्य घटना अनुभूतिका रुपमा सँगालिन्छन्। केही परिस्थितिले उठ्नै नसक्ने गरि बिथोल्दिन्छन्। त कुनै दुःख क्षण भने जीवनको पाइला तीव्र बनाउने हिम्मत बनिदिन्छ।

कल्याणी मिश्र त्रिपाठी, कृषि तथा वन विश्वविद्यालयकी सेवा आयोग अध्यक्ष। आजको उहाँको स्तर मात्रै देख्ने अनि पदीय दायित्व मात्रै जान्ने व्यक्ति उहाँले भोगेका कहालीलाग्दा उकालीका अनुमान कहाँ लगाउलान् र ?

हुन त कल्याणीलाई विगत सम्झिएर पीडा बल्झाउन पनि उत्ति रुचि लाग्दैन। त्यो एउटा भवितव्य, जसले कल्याणीको जीवनको लय नै फेरिदियो। पहिचान नै बदलिदियो। केही क्षण अघिको साहसी पात्रलाई क्षणभरमै निरिह बनाइदियो।

त्यो निरिह अवस्थामा निकै कममात्रै सहयोगी बने। धेरैले आत्मसम्मानमा ठेस पुर्‍याए। उहाँ समाजसँग लड्नुभयो, परिवारलाई नबोलेरै जित्नुभो। संघर्षलाई साथी मानेर अघि बढ्नुभो र आज सफल पेशाकर्मी बन्न सफल हुनुहुन्छ।

०००

कल्याणी त्रिपाठी लमजुङको नार्कुटारमा २०२३ सालमा जन्मनुभयो। परिवारको कान्छी छोरी। तीन दाजु र तीन दिदीकी बहिनी। छोरीलाई ८ पास पछि बिहे गरिदिने समाज। तीन जना दिदीको त्यही अनुसार विवाह भयो। कल्याणीको पालामा दाजुहरू ठाँटिएर विद्यालय जान्थे। उहाँलाई भने दिनदिनै ‘माग्न’ आउँथे।

विद्रोही स्वभाव बाल्यकालदेखि नै थियो सायद, उहाँले हरेक विवाहको प्रस्ताव अस्वीकार गर्दै जानुभयो। दाजुहरूसँगै कुँदैँ, पढाइमा प्रतिस्पर्धा गर्दै विद्यालय गइरहनुभयो। परिवारलाई जितेरै पढाइ निरन्तरता दिइरहनुभयो। २०३८ सालमा लमजुङकै भोटेओडारको भक्ति नमुना माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभयो। कल्याणी विद्रोही नभएको भए उहाँको पढाइ एसएलसीदेखि नै पूर्ण विराम लाग्थ्यो।

पढ्ने रुचि कहिल्यै नछोडेपछि दाजुहरूसँगै आइएससी लमजुङको सुन्दरबजारमा भएको कृषि क्याम्पसमा भर्ना हुनुभयो। दाजुहरूले पनि उहाँको पढाइमा साथ दिए। पहिलो वर्ष त्यही पढेर दोस्रो वर्षदेखि दाजुहरूसँगै चितवन आएर पढ्नुभयो। पढाइ अघि बढेपछि रोकिने कुरै थिएन।

छोरी पढाइमा अब्बल हुँदै गएपछि भने परिवार पनि सहयोगी भयो। रामपुरबाटै कृषिमा स्नातक पनि पढाइ थाल्नुभयो। कल्याणीको पढाइको पहिलो जीवन चल्दै गर्दा अन्तिम वर्ष सोही कलेजबाट स्नातक सकाएका प्रकाश मिश्रसँग कल्याणीको विवाह भयो र शुरु भयो दोश्रो जीवन।

कल्याणी जीवनमा केही गर्ने हुटहुटी भएको महिला। २०४८ सालमा विवाहलगत्तै पढाइ सकियो। त्यसपछि उहाँले महिला बालबालिकाको अधिकारका लागि काम गर्ने ओरेकमा काम गर्न थाल्नुभयो।

त्यही बीचमा उहाँको एउटा गर्भ खेर गएको थियो। एउटी महिला चाहनाले आमा बन्दैछिन् भन्ने थाहा हुँदा कति खुसी हुन्छिन्। गर्भमा आएको एउटा मानवलाई सन्तानको रुपमा अँगालोमा च्यापेर स्तनपान गराउनु अगावै गराउनुपर्दाको अनुभूति कति पीडादायी होला। निकै समय बिथोलिनु भयो कल्याणी।

जति बिथोलिए पनि दुःखलाई आत्मसाथ गर्दै जिउनुको विकल्प के नै हुन्छ र। उहाँ सम्हालिँदै हुनुहुन्थ्यो। नुवाकोटको शिखरबेशीमा बसेर ओरेकमा काम गर्दागर्दै एउटा अर्को अफर आयो, रेडवर्ना नामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने। लमजुङकै गुरुङ गाउँमा बसेर बालबालिकाको लागि काम गर्ने उहाँको जिम्मेवारी थियो। त्यो समय टीम ठूलो थियो। स्थानीयकै पोशाक लुङ्गी टिसर्ट लगाएर काम गर्नुपर्ने नियम थियो।

उहाँको श्रीमान भने लमजुङकै कृषि क्याम्पसमा पढाउनुहुन्थ्यो। प्राविधिक शिक्षा भएकोले विदेश पढाइ, अनुसन्धानको अवसर आइरहन्थ्यो। पढाउँदा पढाउँदै नेदरल्याण्ड्समा स्नातकोत्तर पढाइको लागि जाने तयारीमा हुनुहुन्थ्यो प्रकाश।

सायद विदेश जाने तयारी भएकोले होला, उहाँ श्रीमतीले काम गर्ने ठाउँ कस्तो रहेछ हेर्न लमजुङको गाउँ पुग्नुभएछ। कल्याणीको कामको प्रकृति देखेर सायद प्रकाशलाई चित्त बुझेन। कल्याणी सम्झिनुहुन्छ, ‘केही समय नबोली हेरेपछि उहाँले एकैपटक भन्नुभयो कि यो काम छोड कि मलाई।’

कल्याणीलाई पनि आफू दोस्रो पटक गर्भवती भएको अनुभुति भइरहेको थियो। निकै सोचेपछि श्रीमानको प्रस्तावमा सहमति जनाएर नयाँ जागिरको पहिलो महिना पनि पूरा नगरी उहाँले राजीनामा दिनुभयो।

अघिल्लो गर्भ खेर गएकोले निकै सचेत भएर उहाँले गर्भावस्था पार गर्नुभयो। २०५० सालको साउनमा छोरा जन्मियो। पहिलो सन्तानले परिवारमा खुसी ल्यायो ।  छोरा हुर्कंदै थियो। पार्ट टाइम शिक्षण थाल्नुभएको थियो कल्याणीले। यता श्रीमानको नेदरल्याण्ड्सको अध्ययन भिसा पक्का भएको थियो। काठमाडौँ गएर कागज मिलाएर कलेजको बिदा स्वीकृत गर्न घर फर्किदै गर्दा कल्याणीको श्रीमान् प्रकाश दुर्घटनामा पर्नुभयो।

२०५१ साल साउन महिनाको २५ गते कल्याणीको जीवनकै कहालीलाग्दो दिन बन्यो। कल्याणी भन्नुहुन्छ, ‘छोराको ३१ गते जन्मदिन थियो, छोरा जन्मदिन मनाएर नेदरल्याण्ड्स उड्ने तयारीको साथ आउँदै हुनुहुन्थ्यो, साउनको २५ गते नै उहाँ दुर्घटनामा पर्नुभयो।’

प्रकाशको निधनसँगै कल्याणी विधवा हुनुभयो। छोरा विनायकले बाबु गुमाए। अनि, प्रकाशका बुबा आमाले एकमात्रै छोरा गुमाए।

कल्याणी सम्झिनुहुन्छ, ‘मेरो अर्को जुनीको सुरुआत प्रकाशको दुर्घटनामा निधनपछि भयो।’

नेपाली समाज आज पनि एकल महिलाका लागि कति निष्ठुर छ भोग्ने जोकोहीले कहन्छन्। २८ वर्षकी एकल महिला कल्याणीले के के भोग्न पर्‍यो केके ? कहेर के साध्य? कल्याणीको तेश्रो जीवन अति पीडादायी रह्यो।

श्रीमान बिते। जिन्दगीको सहयात्री छुटे। अप्ठ्यारोको सहारा चुँडियो। मनोबल कमजोर हुँदाको आत्मविश्वास रहेन। त्यही समय आफन्त, छिमेकी, कुटुम्बले भन्न थाले, ‘पढेकीलाई त सेतो लुगा पनि कति सुहाउने !’

एकातिर लोग्ने छैनन्। परिकल्पना नगरेको बज्रपात भोग्नुपरेको छ। अर्कोतिर ससुराका दाजुभाइ नै भन्छन्, बुहारी जता गएपनि हाम्रा छोराले पालिहाल्छ दाजु चिन्ता नलिनुस्।’

आज श्रीमान बितेकै कारण आफूले भोगेका सबै पीडाहरूलाई एकीकृत गरेर उहाँ भन्नुहुन्छ, ‘एकल भएपछि पटक पटक सामाजिक बलात्कार खेपिरहनुपर्‍यो।’

दुःख बेसाउने एउटै ठाउँ श्रीमान् साथ थिएनन्। दिउँसो उदासीमा बित्थ्यो। रातमा सपनामा प्रकाश आउँथे, अनि कल्याणी भन्नुहुन्थ्यो, ‘तपाईँ त जानुभयो मेरो रातो पनि किन साथै लानुभयो।’

त्यो समय उमेर थियो, लगाउने खाने रहर थियो। ती सबै चुँडियो। कल्याणी भन्नुहुन्छ,’ २ /३ वर्ष टिभी हेरिनँ। कपाल कोरिन। ८ वर्षसम्म त मेरो शरीरमा रातो कपडा नै परेन।’

सामाजिक सम्बन्धबाट परिवार बनेको एउटा पुरुषको मृत्युमा अर्की महिलाले मृत्यु सरहको जीवन बाँच्नुपर्ने कस्तो संस्कारमा हुर्किएका छौँ हामी ?

जिम्मेवारीले थिचिएको अनि आफ्नो जिम्मेवारी बोध गर्ने मान्छे पीडामात्रै सङ्गालेर बाँच्न कहाँ सक्छ। सासूससुरा भन्थे, कल्याणी हामीलाई छोडेर गए तँलाई पाप लाग्छ।’ उहाँको अघि छोरा, सासूससुराको जिम्मेवारी थियो। त्यसैले उहाँले आफ्नै शिक्षाको उपयोग गर्नुभयो।

जेठाजु नाताका एकजना रेक्टरले सहयोग गर्नुभयो। लमजुङकै तत्कालीन कृषि तथा वन अध्ययन संस्थानमा अध्यापन थाल्नुभयो। परिवारले स्वीकृति दिए। विस्तारै जीवनलाई लयमा फर्काउन थाल्नुभयो। सुन्दरबजारमै दाना चल्लाको व्यापार गर्नुभयो। विस्तारै आम्दानी हुन थाल्यो। उहाँमा आँट पनि बढ्न थाल्यो।

हातमा कमाइ भएपछि उहाँले घर नयाँ बनाउने निर्णय गर्नुभयो। लमजुङमै रहेको घर नयाँ बनाएपछि भने बुहारी हुनु त यस्तो ! भन्न थाले।

उहाँ २०५७ सालमा स्थायी हुनुभयो। त्यसपछि चितवन सरुवा भयो। त्यसपछि चितवनमा नै जग्गा जोडेर। घर बनाउनुभयो। उहाँको निर्णयमा परिवारले साथ दिए। विश्वास गरिदिए। आँट भरिदिए। आफूसँगै परिवार नै चितवन ल्याएर उहाँले पेशागत र सामाजिक जीवन सँगसँगै अघि बढाउनुभएको छ।

तत्कालीन कृषि तथा वन विज्ञान अध्ययन संस्थानमा लेक्चर, रिडर, प्रोफेसर हुँदै सात महिनायता विश्वविद्यालय सेवा आयोगको प्रमुख तहमा हुनुहुन्छ।

फूल खेतीमा स्नातकोत्तर र फोहोर व्यवस्थापनमा पिएचडी गर्नुभएकी मिश्रले आफै गड्यौला खेती पनि गर्नुहुन्छ। गड्यौला खेतीबाट वर्षको चार लाखसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो। चितवनमा महिलाहरूलाई व्यवसायिक फूल खेतीमा लगाउन समेत उहाँले धेरै सहयोग गर्नुभएको छ।

फूल सजावट, फूल खेती लगायतका थप आयआर्जनको काममा पनि उहाँले आफूलाई संलग्न गरिराख्नुभएको छ। कृषिलाई दिगो बनाउन सके देशको दीर्घकालिक विकास हुन्छ भन्ने सोचका साथ कल्याणीकै नेतृत्वमा अर्घाखाँचीमा नेपाल अर्गानिक भिजन एण्ड एक्सन नामको संस्थाले पाँच सय २० रोपनी जग्गा किनेर त्यहाँ खेती लगाउने तयारी गरेको छ।

आफ्नो अध्ययन तथा अनुसन्धानका क्रममा दश वटा बढी देश घुमिसक्नुभएको छ। राष्ट्रपतिबाट उहाँले २०७७ सालमा सुप्रवल जनसेवा श्री तृतीय पदक पनि पाउनुभएको छ। आफ्नै सङ्घर्षबाट अघि बढेकी कल्याणी महिलालाई अघि बढ्ने आँट प्राविधिक शिक्षा रहेको बताउनुहुन्छ। यो कल्याणीको यो जुनीको चौथो जीवन हो। नेपाली महिलालाई आत्मनिर्भरताको बाटो देखाउने जीवन।

‘मसँग प्राविधिक शिक्षाको डिग्री थिएन भने श्रीमानको मृत्युपछि लमजुङको त्यही गाउँमा हुन्थेँ, उहाँ भन्नुहुन्छ, ‘मेरो भोगाइ भन्छ हरेक नेपाली महिलालाई प्राविधिक शिक्षा दिनुपर्छ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

2.1K+Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement