0Shares

भरतपुर – नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तीव्र पारेको छ। महासंघले यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको महोत्सवको स्थलगत प्रचारप्रसारसँगै स्टल निर्माणको कामलाई तीव्रता दिएको हो। महासंघलाई महोत्सवको तयारी गर्ने समय कम रहेकोले पनि तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ।

सोहीअनुरूप ठाउँठाउँमा प्रचारसामग्री पुर्‍याउने काम भइरहेको महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

यही क्रममा महासंघका अध्यक्ष दुरासहितको एक टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गर्न काठमाडौँ गएको छ। चैत ९ गते हुने महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न टोली नै काठमाडौँ गएको हो।

आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानलाई विश्वव्यापी प्रचारप्रसार गराउने उद्देश्यले चितवन जिल्लाले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। करिब ४० जाति आदिवासी जनजाति समुदायको बसोबास रहेको चितवन जिल्लामा हाल १७ जाति संगठित भएका छन्। संगठित हुन बाँकी जातिलाई पनि संगठित बनाइ महोत्सवको तयारीमा जुटिरहेको आयोजक संस्थाका अध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए ।

आदिवासी जनजाति समुदायको परिसर र करिब ३५० वटा व्यापारिक प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। भरतपुर महानगरपालिकाले तय गरेको ‘घुमौं भरतपुर’लाई सार्थत तुल्याउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकको दाबी छ। प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव चितवनमा हुँदै आएको अन्य महोत्सवभन्दा फरक रहेको पनि महोत्सव मूल समारोह समितिले जनाएको छ।

‘किनकि यो महोत्सवले चितवनमा बसोबास गर्ने आदिवासी जनजाति समुदायको संस्कृति र पहिचान बोकेको छ। त्यसकारण पनि यो महोत्सवको भूमिका फरक छ,’ मूल समारोह समितिका संयोजक दुराले भने। मनोरञ्जनसँगै पर्यटन प्रवर्द्वन, कृषि उपजको उत्पादन र बजारीकरण तथा व्यावार व्यवसायलाई थप चलायमान गराउनको लागि महोत्सवले विशेष भूमिका खेल्ने उनको भनाइ छ।

महोत्सव अवधिभर चितवन जिल्लामा बसोबास गर्दै आएका आदिवासी जनजातिको साँस्कृतिक पहिचानलाई प्रदर्शन गर्ने महोत्सवका आर्थिक समिति संयोजक पवन गुरूङले जानकारी दिए। ‘हरेक दिन आदिवासी जनजातिका फरकफरक साँस्कृतिक कार्यक्रम देख्न पाउनुहुनेछ,’ उनले भने, ‘त्यसबाहेक बजारको मागअनुसार ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति पनि हुने नै छ।’

आदिवासी जनजातिको संस्कृति संरक्षण गर्नुपर्ने अवस्थामा आइपुगेको हुँदा महोत्सवमार्फत संरक्षणमा टेवा पुर्‍याउने प्रयास गरिएको उनले बताए। करिब ८० लाख रूपैयाँ खर्च र एक करोड रूपैयाँ कारोबार गर्ने अनुमान गरिएको महोत्सवलाई सफल पार्न जिल्लामा संगठित भएका जातीय संघसंस्थालाई समेत अनुरोध गरिएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement