265Shares

चितवन । स्थानीय तह निर्वाचनको परिणामले एमालेलाई चितवनमा पहिलो पार्टीको रुपमा स्थापित गरेको छ । चितवनमा रहेका ७ पालिकाको स्थानीय तहमा ५०४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
जसमध्ये अन्तिम नतिजा अनुसार एमालेले जिल्लाभर आफ्ना २४२ जनप्रतिनिधिलाई विजयी गराउन सफल भएको छ । यसैगरी चितवनको स्थानीय तहमा नेपाली काँग्रेसका २०३, माओवादी केन्द्रका ३६, एकीकृत समाजवादीका ९, राप्रपाका ११ र स्वतन्त्रका ३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
इच्छाकामना, रत्ननगर, कालिका, खैरहनी र राप्तीमा एमालेले एक्लै तथा माडी र भरतपुरमा राप्रपासँग तालमेल गरेर पाँच दलीय गठबन्धनसँग प्रतिष्पर्धा गरेको थियो ।
पालिका नेतृत्वमा पनि एमाले बढि
सात पालिकामा एमालेका ३ जना प्रमुख र ४ जना उपप्रमुखमा निर्वाचित भएका छन् । यसैगरी काँग्रेसबाट प्रमुखमा २ र उपप्रमुखमा ३ जना आएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक जना प्रमुख पाएका छन् ।
एमालेले एक्लै प्रतिष्पर्धा गरेको इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । यस्तै एक्लै प्रतिष्पर्धा गरेको कालिका नगरपालिकामा पनि प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ । एक्लै प्रतिष्पर्धा गरेको खैरहनीमा एमालेले उपमेयर पाएको छ । मेयरमा भने काँग्रेसले विजय हासिल ग¥यो । राप्तीको मेयर र उपमेयर दुवैमा एमालेले पराजय भोग्नुप¥यो । यहाँको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा काँग्रेसले विजय हासिल ग¥यो ।
राप्रपासँग तालमेल गरेको माडीमा भने एमालेले मेयर पदमा विजय हासिल गरेको छ । माडीको उपमेयरमा एमालेसँग तालमेल गरेको राप्रपाले भने पराजय भोग्नुप¥यो । यसैगरी भरतपुरको मेयरमा एमालेले पनि पराजय भोग्नुप¥यो । भरतपुरको मेयरमा दोश्रोपटक माओवादी केन्द्र विजयी भयो । एमालेसँग तालमेल गरेर उपमेयरमा प्रतिष्पर्धा गरेको राप्रपाले भरतपुरमा पराजय भोग्नुप¥यो । भरतपुरको उपमेयरमा काँग्रेसले विजय प्राप्त ग¥यो ।
वडाध्यक्षमा काँग्रेस अगाडि
चितवनमा पाँच दल अर्थात् काँग्रेस, माओवादी, समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले एकापसमा तालमेल गरी निर्वाचनमा प्रतिष्पर्धा गरेपनि गठबन्धनको फाइदा भने काँग्रेसले मात्र पाएको छ । जसका कारण चितवनका ९८ वडामध्ये काँग्रेसले ४० वडामा वडाध्यक्ष जितेको छ । तालमेल गरेका अन्य दलहरुमध्ये माओवादीले ११ वडामा अध्यक्ष जितेको छ भने समाजवादीले ६ वटा वडामा वडाध्यक्षमा विजय हासिल गरेको छ । जसपा र राजमोले भने जिल्लाभर जनप्रतिनिधिको कुनैपनि पदमा विजय प्राप्त गर्न सकेन ।
सदस्यहरुमा भने एमाले
चितवनमा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा निर्वाचन जितेर जनप्रतिनिधि बन्नेहरु पनि एमालेकै धेरै छन् । एमालेबाट ५४ महिला सदस्य, ५१ दलित महिला सदस्य र ९४ खुल्ला सदस्यले निर्वाचनमा विजय प्राप्त गरेका छन् । एकीकृत समाजवादीका तर्फबाट भने चितवनमा दलित महिला सदस्य र खुल्ला सदस्यमा कुनैपनि जनप्रतिनिधिले विजय प्राप्त गर्न सकेनन् ।

265Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement