0Shares

काठमाडौं, साउन २८-

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्कँदै राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। स्वदेश फिर्ता भएपछि जारी गरिएको औपचारिक वक्तव्यमा उनले आफू कुनै शक्ति वा पद प्राप्तिका लागि नभई राष्ट्रिय एकतालाई सुदृढ बनाउन फर्किएको स्पष्ट पारेका छन्।

 

वक्तव्यको सुरुवातमा देउवाले आफू स्वस्थ भएर पुनः देशको काखमा उपस्थित हुन पाउँदा गहिरो भावुक बनेको उल्लेख गरेका छन्। ‘झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर म पुनः यस पुण्यभूमिको काखमा उपस्थित हुन पाउँदा मेरो हृदय गहिरो भावनाले भरिएको छ,’ उनले भने, ‘हिमालका शिखर, पहाडका हरियाली धराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन्।’ उपचारका क्रममा आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र स्वास्थ्यलाभको कामना व्यक्त गर्ने सबैप्रति उनले हार्दिक धन्यवाद समेत ज्ञापन गरेका छन् ।

 

आफूलाई नम्र सेवकको रूपमा प्रस्तुत गर्दै देउवाले सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन खुला चेतनासहित फर्किएको बताए। साथै, उनले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको स्मरण गराएका छन्। ‘हामीले यस राष्ट्रको स्वतन्त्रता र लोकतन्त्रका लागि रगत बगाएका छौँ,’ देउवाले भने, ‘नेपाली कांग्रेसको यो लामो संघर्षपूर्ण यात्रामा एउटा यात्रीको रूपमा विभिन्न कालखण्डमा सहभागी हुन पाएकामा म आफूलाई गर्व अनुभूत गर्दछु।’

वक्तव्यको अन्त्यतर्फ पूर्वसभापति देउवाले वि.सं. २०३३ मा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा राष्ट्रिय एकताको आह्वान गरेको ऐतिहासिक सन्दर्भ जोड्दै वर्तमान अवस्थामा पनि त्यस्तै एकताको आवश्यकता रहेको औँल्याए । ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय सहकार्य जरुरी रहेको उनको भनाइ छ। ‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,’ उनले अपिल गरेका छन्, ‘यस्तो नेपाल निर्माण गरौँ जहाँ प्रत्येक बालकले निर्भीक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस्, र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’

सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दा विभिन्न आलोचना र प्रत्यालोचना हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले आफ्नो जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सधैँ सर्वोपरि मानेर काम गरेको दाबी गरे छ। कानुन र नीतिविपरीत कुनै काम नगरेको र आफ्नो जीवन खुला किताबजस्तै रहेको भन्दै देउवाले जीवन रहेसम्म राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको हितमा कुनै सम्झौता नगर्ने प्रतिज्ञा गरे । ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु’, उनले लेखेको छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement