0Shares

भरतपुर, साउन २१। प्रभात दिदीबहिनी सहकारी संस्था लिमिटेडले सदस्यहरूको सीप विकास, सुरक्षित खाद्य उत्पादन तथा आत्मनिर्भरतामा टेवा पुर्‍याउने उद्देश्यले तरकारीको बीउ वितरण तथा अर्गानिक साबुन बनाउने तालिम सम्पन्न गरेको छ।

संस्थाले आयोजना गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष बिमला न्यौपाने ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष पुष्पा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीले बचत तथा ऋण लगानीमा मात्र सीमित नरही समुदायको आवश्यकता अनुसार सामाजिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

उहाँले पछिल्लो समय बजारमा विषादीयुक्त तरकारीको प्रयोग बढ्दै गएकाले सदस्यहरूलाई घरमै अर्गानिक तरकारी उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यले तरकारीको बीउ वितरण गरिएको जानकारी दिनुभयो । साथै, दैनिक प्रयोगमा आउने साबुन आफैं उत्पादन गर्न सक्ने सीप विकासका लागि अर्गानिक साबुन बनाउने तालिम सञ्चालन गरिएको बताउनु भयो ।

 

तालिममा संस्थाकी पूर्वअध्यक्ष भगवती पौडेलले अर्गानिक साबुन निर्माण सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिनु भएको थियो । तालिममा सहभागी सदस्यहरूले साबुन बनाउने विधि, आवश्यक सामग्रीको प्रयोग तथा गुणस्तरीय उत्पादनका विषयमा जानकारी प्राप्त गरेका थिए।
प्रमुख अतिथि बिमला न्यौपाने ज्ञवालीले सहकारीप्रति सदस्यहरूको विश्वास, एकता र सक्रिय सहभागिताकै कारण प्रभात दिदीबहिनी सहकारी संस्था लिमिटेड समुदायको घरदैलोमै पुगेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष साधना पोख्रेल ज्ञवालीले सहकारीले आर्थिक कारोबारसँगै उत्पादन, सीप विकास, स्वास्थ्य र आत्मनिर्भरतासँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताउनु भयो । यस्ता कार्यक्रमले सदस्यहरूको आर्थिक
तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी सदस्यहरूलाई तरकारीको बीउ वितरण गरिएको थियो भने अर्गानिक साबुन निर्माणसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो । सहकारीले आगामी दिनमा पनि सदस्यहरूको आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर यस्ता उत्पादनमूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने सचिव मञ्जु रेग्मीले बताउनु भयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement