0Shares

नागोया, जापान । जापानका नेपाली समुदायमाथि विभिन्न खालका समस्या आउनुअघि नै समाधानको उपाय निकाल्न सरोकारवाला निकायले गैरआवासीय नेपाली संघ, क्षेत्रीय समिति नागोयालाई सुझाव दिएका छन् । समिति अन्तर्गतको स्थानीय संघ संस्था समन्वय समितिले गरेको कार्यक्रममा उनीहरुले आ–आफ्ना धारणा राख्दै सुझाव दिएका हुन् ।
पछिल्लो समय यस क्षेत्रका नेपाली समुदायमा विभिन्न खालका समस्या देखिँदा मृत्यूसम्म हुने गरेको अवस्थालाई ध्यान दिँदै यस्ता खालका घटना हुन नदिन एनआरएनए नागोयाले अभिभावकत्व लिनुपर्ने सुझाव पनि उनीहरुको थियो ।
जापानको अध्यागमन विभागले दिएको तथ्याँकअनुसार जापानमा हाल नेपालीहरुको संख्या १ लाख ५६ हजार ३९३ रहेको छ । यो गएको जुनसम्मको तथ्याँक हो । अझ पछिल्लो समय झन् नेपालीहरु प्रवेश प्रवेश गर्ने क्रम बढिरहेको छ । नागोया क्षेत्रमा मात्र २० हजार नेपाली रहेको अनुमान छ ।
मानसिक रुपमा पूर्ण तयार नभई जापान आउँदा यहाँको परिवेश सोँचेभन्दा फरक भएपछि धेरैलाई मानसिक तनाव भएको र यसले मृत्यूसम्मको बाटो लिने गरेको विषयमा समेत कार्यक्रममा छलफल भएको थियो ।
‘गएको हप्ता यस क्षेत्रमा तीन जना नेपालीको मृत्यू हुनु पनि यसैको कारण हो ।’–कार्यक्रममा एनआरएनए एशिया प्यासिफिक उपसंयोजक दिपक कार्कीले जानकारी दिए । गएको हप्ता यस क्षेत्रमा धनकुटाका रविन पौडेलसहित लमजुङका युवराज तामाङ र नुवाकोटका अनुज कार्कीको मृत्यु भएको थियो । मृत्यू भएको सूचना पाएलगत्तै शव व्यवस्थापनसम्म जुटेका कार्कीका अनुसार उनीहरु सबैको मृत्यूको कारण मानसिक र शारीरिक समस्या नै प्रमुख रहेको छ ।
लामो समयदेखि नागोयामा रहँदै आएका कार्की नेपालीलाई परेका विभिन्न समस्याबारे जानकार छन् । उनका अनुसार गएको ६ महिनाको तथ्याँक हेर्दा यस क्षेत्रमा ३५ जना नेपालीहरु दूर्घटनामा परेका छन् । १३ जना नेपालीको मृत्यू भएको छ । १४ जना नेपालीहरुलाई प्रहरीले चोरी मुद्धामा समातेको छ । गैर कानूनी काम गरेका ४ जना नेपालीलाई अध्यागमनले नेपाल फिर्ता पठाएको छ । ६ जना नेपालीलाई ठगीको आरोप लागेको छ भने १५ जना नेपालीले आपसी लेनदेनको मुद्दा खेपिरहेका छन् ।

एक हप्तामै जापानको नागोयाम ज्यान गुमाएका तीनजना नेपाली

नेपालीहरुको बाक्लिँदो उपस्थितिसँगै समस्या पनि बढ्ने गरेको कार्कीको अनुभव छ । नेपालीका धेरै समस्या त हामी भए ठाउँमा आएकै छैनन् । आफ्ना समस्या बाहिर ल्याउँदा अझ समस्या हुने हो कि भन्ने डरले पनि हामीमाझ जानकारी आउँदैन । तर पछि यसले मृत्यूको बाटो रोजिसकेको पाईएको छ । यसैले एनआरएनएले यहाँको नेपालीको अभिभावकत्व लिलैपर्छ । नत्र समस्या अझ बिकराल बन्ने अवस्था छ । कार्कीको सुझाव छ,–‘अब हामी सबै मिलेर समस्यामा परेका नेपालीलाई काउन्सिलिङ गर्नुपर्ने देखिन्छ ।’
जापानमा रहेका नेपालीहरु मुख्यतया व्यवसायी, विद्यार्थी, कुक र डिपेन्डेण्ट भिषामा रहेका छन् । यी सबैका समस्या बेग्लाबेग्लै छन् ।
‘अब विगतमा जे–जस्तो भएपनि जापानमा रहेका नेपालीलाई यहाँको अवसर, चुनौति, समस्या र समाधानको उपायबारे जानकारी गराउन सक्नुपर्छ । यसो भएमा आफूमाथि आइपर्ने समस्याप्रति उनीहरु आफै सजग हुने वातावरण बन्नेछ ।’– कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका संस्थापक सचिव हरिप्रसाद पोखरेलले भने । जापानमा भएगरेका कार्यक्रमहरु सधैँ एकै प्रकृतिको हुने गरेकोले लक्षित वर्गसम्म एनआरएनए पुग्न नसकेको गुनासो उनको थियो ।
‘कार्यक्रममा सधैँ एउटै अनुहार देखिन्छ । जसले कार्यक्रमको आया्ेजना गरेपनि सहभागी, दर्शक, श्रोता र अतिथि अधिकांश एउटै अनुहार हुने हुँदा वास्तविक रुपमा सुझाव पाउन र समस्याको पहिचान गर्न पनि गाह्रो भएको छ ।’ कार्यक्रममा आफ्ना सुझाव राख्दै पोखरेलले अबका दिनमा सबै वर्गका नेपालीको सहभागिता गराउन एनआरएनएलाई जोड दिए ।
एनआरएनए जापानका सचिव श्यामशित्तल श्रेष्ठको धारणा पनि उस्तै छ । ‘गुनासो र समस्या कसलाई सुनाउने हो, भन्ने विषयमा नेपालीहरु अझै अन्यौलमा छन् । अब एनआरएनएले अभिभावकत्वको महशुस सबैलाई गराउनैपर्छ ।’–श्रेष्ठले भने ।
एनआरएनए आइसिसीका सचिव एवम् नागोया क्षेत्रीय समितिका संस्थापक संयोजक पारसमणि पोखरेलले क्षेत्रीय समितिको कामप्रति आफू सन्तुष्ट रहेको बताए । एनआरएनएलाई अभिभावक मानेर अगाडि बढ्ने कुरालाई यहाँका सबै संघसंस्थाले साझा धारणा बनाउनुपर्ने उनको सुझाव थियो ।
‘आ–आफ्नो क्षेत्रबाट सहयोग सबैले गरौँ । एनआरएनएको नेतृत्वमा सबै हिडौँ । समस्याको पहिचान पनि हुन्छ र समाधानको बाटो पनि निस्कन्छ ।’–पोखरेलले भने ।
विदेशमा रहेको नेपाली पूँजीलाई संकलन गरेर नेपालमा लगानी भित्राउने एनआरएनएको स्थापनाको मुख्य लक्ष्य रहेको हुँदा नागोयामा रहेका नेपालीबाट पनि एउटा परियोजनाबारे छलफल गर्न पोखरेलले क्षत्रीय समितिलाई कार्यक्रममा सुझाव दिए ।
कार्यक्रम नागोयाको ‘वका काइकान मिटिङमा आयोजना गरिएको थियो । कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया अन्तर्गतको स्थानिय संघ– संस्था समन्वय समितिका संयोजक समेत रहेका योमन देवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
पहिलो सत्रको कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका सह–कोषाध्यक्ष मित्र सिग्देलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समिति नागोयाका सह–सचिव सागर थापा बगालेले गरेका थिए भने सचिव दलवहादुर कार्की (प्रतिक) ले सहभागीले दिएको सुझावलाई टिपोट गरेका थिए ।
राष्ट्रिय गान बाट शुरु गरिएको उक्त कार्यक्रममा हालै मात्र नागोया क्षेत्रमा असमायिक निधन भएका लमजुङका २२ वर्षका युवराज तामाङ, धनकुटाका २२ वर्षिय रविन पौडेल र नुवाकोटका २८ बर्षिय अनुज कार्की प्रति १ मिनेट मौंन धारण गरिएको थियो ।
कार्यक्रममा नेपाली समुदायको एनआरएनए नायोयाप्रतिको बुझाई, एनआरएनए प्रतिको अपेक्षाहरु, एनआरएनए नागोयालाई दिईने सुझाव लगाएत एनआरएनए नागोया संग गर्न सकिने सहकार्यको विषयमा विषयमा सहभागी संघ–संस्थाका प्रमुख एवं प्रतिनिधीहरुले धारणा राखेका थिए ।
यसरी सुझाव राख्नेहरुमा एनआरएनए जापानका सह–कोषाध्यक्ष राम थापा, , एनआरएनए जापानका सल्लाहकार यम खत्री, नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष एवं एनआरएनए जापानका प्रेस सल्लाहकार कविकिरण न्यौपाने, एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, मितेरी नेपालका अध्यक्ष चिरञ्जिवी सिग्देल, नेपाली जनसम्पर्क समिति नागोयाका संयोजक कुशल धिताल, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग चुबुका सभापति हरि श्रेष्ठ, गुल्मी समाज नागोयाका अध्यक्ष गोविन्द भुषाल, नेपाली व्यवसायी मञ्च नागोयाका अध्यक्ष नरबहादुर थापा, एनआरएनए नागोयाका उपाध्यक्ष कुशल पौडेल, चितवन समाज नागोयाका अध्यक्ष भैरव अधिकारीलगायत थिए ।
कार्यक्रमका आएका सुझावलाई लिपिवद्ध गरी आगामी कार्यसमितिको वैठकबाट परिमार्जनसहित पारित गरिने संयोजक यमन देवानले जानकारी दिए ।
कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement