उच्चासन उक्लिएका पौडेलको अग्निपरीक्षा
परिपक्व राजनीतिज्ञ रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु निःसन्देह खुसीको कुरा हो । राजनीतिक संघर्षको सुदीर्घ इतिहास बोकेको व्यक्ति राष्ट्राध्यक्षमा पदासीन हुँदा राष्ट्रपति संस्था मात्र होइन, स्वयं गणतन्त्रकै पनि ओज बढेको छ ।
पहिलो र दोस्रो राष्ट्राध्यक्षमा क्रमशः मधेशी र महिला निर्वाचित हुँदा तेस्रो पनि वर्चस्वशाली भनिएको बाहेकका समुदायबाट चुनिएका भए हुन्थ्यो भन्ने भावनालाई बिर्सिदिने हो भने, राजनीतिक योगदान तथा व्यक्तित्वका हिसाबले मुलुकको सर्वोच्च पदमा सुयोग्य पात्र पुगेका छन् भन्नु अत्युक्ति हुँदैन । परन्तु, शीर्षस्थ भईकन पनि समकालीन राजनीतिज्ञहरूमा कम विवादास्पद र स्वच्छ छवि भएका पौडेलको अबको मूल्यांकन भने यसअघिको विगतले हुनेछैन; राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा जस्तो भूमिका प्रदर्शन गर्छन्, त्यसले नै इतिहासमा लेखिने उनको कीर्ति तय गर्नेछ ।
गणतन्त्रलाई संस्थागत गर्न तथा लोकप्रिय तुल्याउन राज्यका चरित्रहरू गणतान्त्रिक हुन जरुरी छ, जसमा शंकै छैन— एउटा प्रमुख भूमिका स्वयं राष्ट्रपति संस्थाको हुन्छ । अढाई सय वर्ष लामो राजतन्त्रलाई मासेर प्रतिष्ठापन गरिएको राष्ट्रपति संस्थाको आम छवि जस्तो बन्छ, गणतन्त्रको सर्वप्रियता त्यसमै निर्भर रहन्छ । परिवर्तनका पक्षधर शक्तिहरूले नै घरीघरी बाटो बिराइरहेको र त्यसकै बलमा प्रतिगामी शक्तिहरू सलबलाइरहेको यो बेला संविधानको परिपालना र संरक्षणमा राष्ट्रपति संस्था निर्विवाद एवं निष्पक्ष ढंगले खरो उत्रन आवश्यक छ; नवनिर्वाचित राष्ट्रपति पौडेलको अग्निपरीक्षा अब यसमै हुनेछ ।
एक–दुई दिनमै औपचारिक रूपमा पद सम्हाल्न गैरहेका पौडेलसामु नयाँ संविधानको सफल कार्यान्वयन गर्न/गराउन अभिभावकीय भूमिका खेल्नुपर्ने ऐतिहासिक दायित्व छ । व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको संवैधानिक राष्ट्राध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न उनले आफ्ना दुई पूर्ववर्तीहरूको गल्तीबाट पाठ सिक्नुपर्छ । सरकार एवं संसदीय गणितको राजनीतिक रंग हेरेर राष्ट्रपतिले कहिल्यै ‘माछा देख्दा दुलाभित्र हात, सर्प देख्दा दुलाबाहिर हात’ जस्तो व्यवहार प्रदर्शन गर्नु हुन्न । विगतमा जस्तो आफूलाई मन परेको सरकार भए गैरसंवैधानिक सिफारिसमा पनि ‘रबर स्ट्याम्प’ नै बनिदिने, मन नपरेको भए संसद्ले दोहोर्याएर पारित गरेको विधेयक अस्वीकार गर्नेजस्तो राजनीतिक पक्षधरता झुक्किएर पनि देखाउनु हुन्न ।
दैनन्दिन दलीय राजनीति गर्दागर्दै पौडेल राष्ट्रपति बनेका हुन् । ६५ वर्ष लामो राजनीतिक जीवन, वर्षौंको सत्ता अभ्यास र राज्यको कार्यकारी प्रमुख पदकै पनि लामो आकांक्षाको प्रतिविम्ब उनको राष्ट्रपतीय भूमिकामा कहीँकतैबाट देखिनु हुन्न । खास गरी, यसपालि राष्ट्रपति पदको उम्मेदवारी टुंग्याउनुअघि जेजस्ता अस्वाभाविक उछलकुदहरू भए, त्यसबाट यो संस्थालाई अनावश्यक रूपमा शासकीय शक्तिकेन्द्रका रूपमा लिइएको सन्देश बाहिरिएको छ, जुन हाम्रो संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्र तथा संवैधानिक राष्ट्रपतीय पद्धतिको बर्खिलाफ छ । त्यसैले पनि नवनिर्वाचित राष्ट्रपतिले यो संस्थालाई कसरी विकसित गर्दै लैजान्छन् भन्ने प्रश्न सर्वत्र छ, जसको जवाफ पौडेलले आफ्नो सर्वस्वीकार्य व्यवहारबाटै दिन सक्नुपर्छ ।
संविधानतः ‘संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ ।’ यसको अर्थ, राष्ट्रपतिबाट संविधानको जति अक्षरशः पालना हुन्छ, पदीय गरिमा पनि त्यति नै बढ्नेछ । त्यसो त, संविधानले राष्ट्राध्यक्षलाई केही ‘विवेकीय’ अधिकार पनि दिएको छ । जस्तो, धारा ११३(३) अनुसार, ‘प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा… सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउने’ अधिकार राष्ट्रपतिलाई छ । विवेकको परीक्षण हुने यस्ता प्रावधानहरूको प्रयोगमा अनुत्तीर्ण हुने भूल पौडेलले गर्नु हुन्न । त्यसका लागि उनले अत्यावश्यक सल्लाहकारहरूमा दलीय कार्यकर्ताभन्दा पनि प्रतिभाशाली विज्ञहरू चयन गर्नुपर्छ, ताकि तिनले राष्ट्रपतिलाई निर्णायक परिस्थितिमा सही सुझाव दिन सकून् । यहाँ झुक्किनु हुन्न, राष्ट्रपतिको मूल सल्लाहकार भने फेरि पनि सरकार नै हो । त्यसबाहेक पनि अत्यावश्यक सल्लाहकार र विज्ञहरूको समूह उनले राख्न सक्छन्, तर त्यो राज्यलाई आर्थिक बोझ बढ्ने गरी अनावश्यक भद्दा भने बनाइनु हुन्न ।
समग्रमा, पौडेलले राष्ट्रपति संस्थालाई जति विवादभन्दा बाहिरै राख्छन्, त्यति नै शीतलनिवासको साख मात्र बढ्दैन, राष्ट्रपति संस्था आम नागरिकको सर्वस्वीकार्य आस्थाको प्रतीक पनि बन्दै जान्छ । र, यो संस्थाको गरिमा बढ्दा गणतन्त्र स्वतः संस्थागत र चिरस्थायी हुँदै जान्छ । यसका निम्ति पौडेलले राजकाजबाहेकको जीवनशैलीमा पनि विशेष विचार पुर्याउनुपर्छ; ठ्याक्कै राजाकै शैलीमा सर्वसाधारणलाई घण्टौं जाममा कुराएर सार्वजनिक सवारी गर्नेदेखि नागरिकलाई घुँडा टेकाएर दसैंको टीका लगाइदिनेजस्ता राजतन्त्रीय (अझ त्यसभन्दा बढी पनि) अहंकारकै पुनर्प्रदर्शन कदापि गर्नु हुन्न । यस्ता गतिविधिबाट विगतमा शिशु गणतन्त्र नै बदनाम भएको यथार्थबोध गरेर उनले आफूलाई कुन रूपमा अघि बढाउने हो, त्यसबमोजिमको व्यवस्थापनका लागि सरकारलाई भन्नुपर्छ । राजा–महाराजाकै सामन्तवादी शैली अनुसरण गरेर गणतन्त्रको शाश्वत मूल्य–पद्धतिविरुद्ध राष्ट्रपति नउभिए मात्रै संवैधानिक राष्ट्रपति पद जनआस्थाको केन्द्र बन्न सक्छ ।
तसर्थ, नवनिर्वाचित राष्ट्रपति पौडेल राजनीतिक पक्षधरताबाट सदैव माथि उठून्, संविधानको पूर्ण परिपालना गरून्/गराऊन्, र उनका हर क्रियाकलाप आम समुदायले गर्व गर्ने र गणतन्त्रको शोभा बढाउने किसिमका हुन् । यिनै कार्य–व्यवहारहरूका कसीमा भविष्यले उनको नाम इतिहासमा कुन रूपमा अंकित गर्ने भनेर निर्क्योल गर्नेछ । हाम्रो कामना छ— गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रूपमा पौडेलको नाम पादटिप्पणीमा मात्र सीमित नरहोस्; गणतन्त्र नेपाललाई सुमार्गमा डोर्याउने शालीन राष्ट्रपतिका रूपमा भविष्यमा सम्झिन सकियोस् ।-कान्तिपुरको सम्पादकीयबाट