0Shares

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आज (पुस २५) बाट ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ।

यसअघि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेसँगै दुबै बैंकका साधारणसभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो।

मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरू गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द गरिएको थियो।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको दाबी बैंकले गरेको छ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुने बैंकले बताएको छ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

दुई बैंकहरूको मर्जर पछि बैंक कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक हुने बताइएको छ।

अरू बैंकहरु पनि गाभिने क्रममा छन् ।

भोलि मंगललवार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच पनि एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन्। हिमालयन बैंक र सिभिल बैंक तथा लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ।

आपसमा मर्ज गरेर एकीकृत कारोबार गर्नको लागि आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही बैंकहरुले केही दिन बैंकिङ कारोबार सेवा बन्द गरेका छन्। ठूला बैंकबीच आपसमा मर्ज भएपछि वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्नेछ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement