0Shares

अभिभावकहरूले माया गरेर दिने वा बालबालिका आफैंले किनेर खाजाको रूपमा खाने चाउचाउ कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई हानि गर्छ । ससाना बालबालिकाको लागि त झन् खराब हानिकारक छ । किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौहतत्व, क्याल्सियम केही पाइँदैनन् । त्यसैले यस्तो वस्तु खानाले बालबालिकामा पोषणको कमी हुन्छ ।
यस्तो वस्तु बनाउँदा प्रयोग गरिने मैदाले पनि स्वास्थ्य खराब गर्छ । यस्ता खानेकुरा बनाउन प्रयोग गरिने तेल कम गुणस्तरको र बारम्बार तताइएको हुन्छ। यस्तो तेलले क्यान्सरसमेत हुन सक्छ। त्यसैले बजारका तयारी पाकेट–बन्द खानेकुरा नखानु नै उत्तम हुन्छ ।

पत्रुखाना भनेको काम नलाग्ने, फाल्न लायक खाद्यवस्तु हुन् तर यही पत्रु खाना हाम्रा बालबालिकाको पेटमा परेपछि उनीहरूलाई यसले कति खराब गर्दो हो भन्ने कुरा आमाबुबाले सोचेका हुँदैनन् । प्राय: आमाबुबाले समयको बचत हुन्छ भनेर बालबालिकाका लागि खाजा पकाउन अल्छी गर्छन् । अनि बालबालिकालाई फकाउँदै पैसा दिएर बजारको तयारी खाजा किन्न उक्साउँछन् । यसो गर्दा बाबुआमा पनि मख्ख । एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन् । बिरामी भएपछि औषधिउपचार गर्दा समय र धन दुवै खर्च हुन्छ । त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस हुन्छ ।

अभिभावकको बेवास्ता
पत्रु खानाले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेर नै स्वास्थ्य मन्त्रालयका साथै शिक्षा मन्त्रालयले समेत समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता वस्तुहरू स्कुलमा खाजाका रूपमा लैजान र स्कुलमा बेचबिखन गर्न प्रतिबन्ध लगाउने कोसिस गरेको छ । यसले गर्दा कतिपय स्कुलमा शिक्षक शिक्षिकाले बालबालिकालाई घरबाट नै खाजा लिएर आउनुपर्छ भनी सिकाएका छन् । अनि बालबालिकाले घरबाट चिउरा, चना, आलु, रोटी आदि लिएर आउन थालेका छन् तर अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गरेको पाइँदैन । अभिभावकले समेत आफ्ना छोराछोरीले स्कुलमा खाने खाजाका बारेमा चासो दिने गरेको पाइँदैन । कुनै आमाबुबाले खाजा खान पैसा त दिन्छन् तर त्यो पैसाले स्वस्थकर खाजा खाएको छ कि छैन भन्नेबारेमा वास्ता गर्दैनन् ।
हुन त ग्रामीण स्वास्थ्य सेवा गुठीले सिन्धुपाल्चोक र काठमाडौंका ६० वटा जति स्कुलमा पत्रु खानाको विरुद्धमा कार्यक्रम नै चलाएको थियो । दुई वर्षसम्म चलेको त्यो कार्यक्रमको मूल्याङ्कन गर्दा स्कूलका विद्यार्थी र शिक्षकहरूलाई पनि पोषण सम्बन्धी धेरै चेतना आएको महसुस भने भएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement