0Shares

नेकपा एमालेका प्रदेश कमिटीका सचिवसमेत रहेका विजय सुवेदीलाई एमालेले भरतपुर महानगरपालिको मेयरमा उठाएको छ । अघिल्लोपटकको स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रत्यासी रहेका देवी ज्ञवालीकै प्रस्तावमा सुवेदी भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेका हुन् । चितवनको राजनीतिमा लामो समयसम्म भिजेका सुवेदी तीनपटकसम्म एमाले चितवनको पार्टी प्रमुख भएर काम गरे । भरतपुर अस्पतालको दुई बर्ष अध्यक्ष भएर काम गरेका सुवेदीले अस्पतालको भौतिक विकासमा योगदान गरेका छन् । उनी विभिन्न सामाजिक कामहरुको अगुवाई गर्दै त्यसको नेतृत्व लिएर काम गरेका छन् । पहिला योजना बनाएर मात्रै विकास गर्नुपर्छ भन्न सोच राख्ने सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर एमालेबाट भरतपुर महानगरको मेयर उम्मेदवार बनेका छन् । सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार रहेकी रेनु दाहालसँग उनको मूल प्रतिस्पर्धा हुने देखिन्छ । महानगरका २९ वटै वडामा एकसरो घरदैलो गरेका सुवेदीसँग गरिएको कुराकानीको एक अंश ः

प्रदेश सांसद हुँदाहुँदै तपाईलाई भरतपुरको मेयर बन्ने भोक किन जाग्यो ?
म २०७४ सालमा प्रदेश सांसद जिते । मैले आफ्नो तागतले भ्याएसम्म काम गरे । जनताको घर टोलवस्तीदेखि संसदसम्म आफूलाई पु¥याए । म ४९ दिन प्रदेशको मन्त्री पनि भए । तर परिस्थिती बद्लियो । म सानैदेखि कार्यकारी पदमा बसेर काम गर्ने चाहाना राख्ने मान्छे हो । प्रदेशको सांसद र भूमिका त्यति फराकिलो छैन । पदिय हिसावले माथि भए पनि भूमिकाका हिसावले भरतपुर महानगरको मेयर भएर जनताको पक्षमा धेरै काम गर्न सकिन्छ भन्ने लाग्यो । अर्को कुरा मेरो चाहाना मात्रै भन्दा पनि पार्टीका सबै नेताहरुका विषयमा छलफल भयो । देवी जीलाई नै मेयरमा पहिलो प्राथमिकता दियौं हामीले तर, उहाँले यसपटक नउठ्ने र म तपाईलाई मेयर बन्न प्रस्ताव गर्छु भन्नुभयो । माननीय कृष्णभक्त पोखरेलले सर्मथन गर्नुभयो । विना विवाद सर्वसम्मत रुपमा सबै कमरेडहरुले तपाई नै अगाडि बढ्नुस् भनेपछि म अगाडि बढेको हो । भरतपुर महानगरपालिका बनाउन पनि मेरो नेतृत्वदायी भूमिका छ । माओवादी र कांग्रेसका साथीहरुलाई समेत कन्भिन्स गराएर हामीले भरतपुर महानगरपालिका बनाउका हौं । भरतपुरलाई महानगरपालिका बनाउने कामको नेतृत्व लिएको र यसको योजनावद्ध दीगो विकास गर्नका लागि पनि म अगाडि सरेको हो । भरतपुरको भविश्य बिगार्ने खतरा देखे । अब योजना बनेन् भने भरतपुर सपार्न नसक्ने गरी बिग्रन्छ । त्यसैले म अगाडि सरे ।

विगतमा नेकपा हुँदा तपाई र रेनु मिलेर नै कपितय कामहरू गरेको देखिन्छ तर अहिले आमुन्नेसामुन्ने हुुनुभा’छ कस्तो लाग्छ ?
यो सहि कुरा हो । उहाँ मेयर हुँदा मैले सहयोग नै गरेको थिए । एक ढंगले भन्दा म उहाँको सल्लाहाकार जस्तै थिए एकताका । रेनु दाहालबाट मात्रै पार नलाग्ने, उहाँले गर्न नसक्ने सवैलाई समेटेर अगाडि लैजाने र समन्वय गर्ने हिसावले मैले काम गरेको छु । जुन जुन काम रेनु दाहालबाट सम्भव हुन्थेनन् ति कामको जिम्मा मैले लिएर नेतृत्व गरे । यो दिनको घाम जतिकै छर्लङ्ग छ । क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन महायज्ञ लगाउने कामको नेतृत्व मैले लिए, भरतपुरमा विज्ञहरू राखेर योजनावद्ध विकास गर्नुभन्दा भन्ने बारेमा मैले नै अग्रसरता लिए तर पछि त्यो काम उहाँको अरुचीका कारणले अगाडि बढ्न सकेन । कोभिडको बेला जिल्लाको समग्र कोभिड नियन्त्रण तथा उपचारको व्यवस्थापनको जिम्मा लिन उहाँले भन्नु भएकै थियो । सिटी हलका लागि जग्गा उपलब्ध गराउने विषयमा जिल्ला समन्वय समिती प्रमुखज्यूलाई कन्भिस गराउने विषयमा माननीय सांसद कृष्णभक्त पोखरेल र मैले नै अग्रसरता लिएको हो । जिल्लाका राजनीतिक दलहरुको वीचमा समन्वय जुटाउन, सहकार्य गर्न र एकतावद्ध ढंगले अगाडि लैजान मैले समन्वयकारी भूमिका खेल्न सक्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । अहिले रेनु दाहाल र म मेयरमा उठेका छौं । उहाँले मप्रति गरेका टिप्पणीहरु पनि मैले सुनिरहेको छु । मलाई उहाँ प्रति कुनै गुनासो र थप टिप्पणी छैन । किनकी उहाँले जे जति जान्नुभाछ त्यति नै भन्ने हो । आफूसँग जति छ त्यति दिने हो । मैले ४२ बर्ष यहीँको माटोमा रगत पसिना र जीवन खन्याएको छु ।

प्रधानमन्त्रीदेखी पूर्व प्रधानमन्त्रीले भरतपुरलाई विषेश प्राथमिकतामा राज्यशक्तिको दुरुपयोग गरेको देख्दा तपाईलाई यसले मनोवैज्ञानिक असर त गरेको छैन?
मलाई यसले कुनै असर पारेको छैन । मलाई त थप वल र उर्जा मिलिरहेको छ । राज्यशक्तिको चरम दुरुपयोग गरेर एकजना उम्मेदवारका विरुद्धमा उहाँले के के गर्नुभएको छ त्यो त जगजाहेर नै छ नी । जगन्नाथ जीमाथि के कस्तो गर्नुभएको छ यो पनि थाहा भएकै कुरा हो । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु भरतपुरमा तारेख परेजस्तै गरेर आउनुभएको छ । आखिर यो सबै केका लागि भन्ने त आम जनतालाई थाहा भएकै विषय हो । उहाँहरुलाई कति धेरै चिन्ता परेको रहेछ । कति डर रहेका भन्ने कुरा त स्पष्टै भा’छ । उहाँहरू भरतपुरका मतदातालाई धम्काउँदै हिड्नु भएको छ । माओवादीलाई भोट नदिए देश दुर्घटनामा जान्छ भन्नु भा’छ । उहाँहरूले एउटा कुरा बुझे हुन्छ चितवनका जनता उहाँहरूका दास हैनन् । उहाँहरूले जता मत हाल भन्यो उतैं हाल्ने पनि हैनन् । सचेत नागरिक हुनुुहुन्छ भरतपुरमा, धम्कीको भाषा चल्दैन ।

निर्वाचनको दौरानमा तपाईले विपीको शालिकमा माल्यार्पण गर्ने र मतदाताको खुट्टासम्म ढोेकेको देखियो यसलाई चुनावी स्टण्ड पनि भनेका छन् नी कतिपयले ?
मेरो यो कुनै चुनावी स्टण्ड हैन । मलाई नचिन्ने मान्छेले गर्ने टिप्पणी हो यो । म सबै पार्टी नेताहरू जसले राष्ट्रिय राजनीतिक जीवनमा योगदान गर्नुभएको छ । उहाँहरूलाई सधै सम्मान गर्छु । मैले पहिलादेखि नै सार्वजनिक रुपमा भन्दै आएको छु । विपी कोइराला मलाई मनपर्ने एक जना नेता हुनुहुन्छ । जसको विचार र आदर्शबाट म प्रभावित थिए र छु । मदन भण्डारी त मेरो नेता नै हुनुभयो । कुनै नयाँ कामको प्रारम्भ गर्दा उहाँहरुलाई सम्झन र सम्मान गर्न उपर्युक्त देखँे र गरे । मेरो दृष्टिकोण सबैप्रति समान खालको छ । म कुनै पनि मान्छेलाई आस्थाका आधारमा फरक ब्यवहार गर्दिनँ । सबैलाई समान ढंगको ब्यवहार गर्ने मेरो विषेशता हो । मलाई चिन्ने सबैलाई मेरो बानी थाहै छ ।

रेनुले मत परीक्षण भैसकेको मान्छे अब अनुभव संगाल्न छैन काम गर्ने हो भन्नुभाछ, तपाईसँग चाँही अनुभव त्यति छैन हो ?
म त विगत ४२ बर्षदेखि चितवनका जनताको माझमा छु । जमिनका कार्यकर्ता र जनताको सुःख दुःखमा छु । मेरो आफ्नो क्षमता कति छ, विजय कति काम गर्न सक्ने हो भन्ने कुरा चितवनका सारा जनतालाई थाहा छ । जिल्लाका हरेक महत्वपूर्ण घटना परिघटना र मोडको नेतृत्व मैंले लिएको छु । यो त चितवनका जनतालाई थाहै भएको कुरा हो । ५ बर्षमा भरतपुर महानगरको गुरुयोजना बनेन । योजनावद्ध विकास भएन । मैंले मेरो नेतृत्वमा पश्चिमको दाउन्नेदेखि पूर्वको मनहरीसम्मको भूभाग समेटेर वृहत्तर चितवनको गुरूयोजना बनाउने काम गरे । म मेयर हुँदा त्यसका अन्र्तवस्तुलाईसमेत लिएर काम गर्छु । भरतपुरसँगै यस वरपर जोडिएका पालिकाहरुसँग समन्वय गरेर चितवन उपत्यकाको विकासका लागि अगाडि सछौं । योजनावद्ध विकास, सुसासन र त्यसमा जनतालाई जोड्ने मेरो प्रमुख उद्देश्य हुन्छ । म दीगो विकास योजनावद्ध ढंगले गर्ने मान्छे हो । भरतपुर अस्पतालको अध्यक्ष भएर मैंले गरेका कामहरु जनतालाई थाहा छ । अस्पतालको ए ब्लक, बी ब्लक भवन अलपत्र थिए पूर्णता दिने, सिटी स्क्यान मेसिन ल्याउने, एमडीएमएस र विएन कार्यक्रम चलाउने, वेवारिसे लासको दुर्गन्धले अस्पतालको मूल गेटबाट पस्न सक्ने अवस्था थिएन त्यसलाई व्यवस्थित गरे, मैनवत्ती बालेर बिरामीको उपचार गर्ने अवस्थाको अन्त्य मैले गरे । भरतपुर महानगरपालिका बनाउनुपर्छ, बन्नुपर्छ भनेर मैले नै अगुवाई गरेको हुँ । भरतपुरको विकास कसरी गर्ने भनेर भरतपुरलाई केन्द्रमा वृहत्तर चितवनको अवधारणसहितको गुरुयोजना बनाउने कामको नेतृत्व मैले नै गरेको हो । म ४९ दिन प्रदेशको मन्त्री हुँदा १ सयभन्दा बढि काम गरेको छु । मैले २०४६ साल र २०६२÷०६३ को जनआन्दोलनमा चितवनको नेतृत्व गरेको छु । राजनीतिक, सामाजिक र विकासका क्षेत्रमा मंैले योगदान गरेको छु ।

निर्वतमान मेयर रेनु दाहालले भरतपुरमा निकै विकास गरेको भनेर मत माग्नुभाछ तपाईलाई उहाँले विकास गरेको जस्तो लाग्छ ?
उहाँले गरेको विकास के रहेछ भन्ने कुरा एक झर पानी पर्दा जलमग्न हुने भरतपुरले केहीदिन अगाडि नै देखाइसकेको छ नी । निकास विनाको विकास भन्ने गरिएको छ । यो किन भयो भन्दा योजनावद्ध दीगो विकासको सोच नभएर । उहाँले महानगरमा के त्यस्तो काम गर्नुभाछ । अलि अलि सडक कालोपत्रे गरेको भन्ने हो । महानगरपालिका भएपछि सडक कालोपत्रे हुन्छन् नै । सिटी हल र छ लेनको सडक केपी ओली नेतृत्वको सरकारले हामीहरुको पहलमा निकासा भएको बजेटबाट बन्दैछ । क्रिकेट रंगशाला बनाउन रकम जुटाउन म नै महायज्ञ मूल समितिको संयोजक भएर काम गरेको हो । उहाँले गरेको एउटा गौरवको काम देखाउनुस् त ? कुनै एउटा गौरवका आयोजना उहाँ आफूले शिलान्यास गरेर पूरा गरेको देखाउनुस् त ।
नारायणी नदीमा बजारभरीको फोहर फाल्नु भएकै छ, बजार क्षेत्र अस्तब्यस्त छन् । पाकिङ्ग छैन । कति रोजगारी दिनुभयो ? कति उद्योग खोल्नुभयो ? कति युवालाई स्वरोजगार बनाउनुभयो ? खै केही छ । महानगरको अडिट रिर्पोटसमेत लुकाउने काम भएको छ । वेथिती र अनियमितताका कुराहरु त महालेखाले उल्लेख नै गरेको छ ।

तपाईले निर्वाचन जित्छु भन्नुभा’छ जितको हिसाव कसरी गर्नुभाछ ?
म निर्वाचन जित्नेमा ढुक्क छु । एमालेको भरतपुरमा आफ्नै जनमत छ । अघिल्लो चुनावमा मतपत्र च्याँतेर हामीलाई हराइएको हो । हामीले हारेको हैन । त्यतिबेला पनि नेपाली कांग्रेसको समर्थन माओवादीलाई थियो । यसपटक पनि कांग्रेसले केन्द्रीय नेताको दवावमा समर्थन गरेको छ । हामीले राप्रपासँग तालमेल गरेका छौं । हाम्रो मतमा राप्रपाको मतसमेत थपिन्छ । हामीबाट चोइटिएको समाजवादीको मत एकता प्रकृयामा आएको माओवादी केन्द्रबाट पूर्ती हुन्छ । कांग्रेस भित्र कांग्रेस जोगाउन भनेर जगन्नाथ जीहरुले विद्रोह गर्नुभएको छ । उहाँहरुले पनि राम्रै मत पाउनुहुन्छ । केही स्वतन्त्र र निष्पक्ष मतहरुसमेत मलाई आउँछन् । हामीले मतदातालाई धम्की दिएका छैनौं । मलाई मत नदिए देश दुर्घटनामा जान्छ भनेका छैनौं । जनतालाई धम्काएका छैनौं । जनतासँग मत मागेका छौं । सबै वडा वडामा जनताको दैलो दैलोमा पुगेका छौं । उत्साहजनक अवस्था छ ।

मेयर बन्नुभयो भने भरतपुरको विकास कसरी गर्ने सोच बनाउनुभएको छ ?
सबैभन्दा पहिला भरतपुरको दीगो विकासको योजना बनाउने काम गछौं । हरियाली र शहरी सौन्दर्यकरणलाई प्राथमिकतामा राख्छौं । शिक्षा र स्वास्थ्यमा आधारभूत कुराहरु निशुल्क गछौं । शुद्ध पिउने पानी सबै नागरिकलाई पु¥याउँछौं । फुसका सबै घरहरुमा जस्तापाताले छाउँछौं । सबै नागरिकहरूको तथ्यतथ्यांक संकलन गरेर कसको के अवस्था छ भनेर डाटा लिन्छौं । सो अनुसार महानगरपालिकाबाट सहयोग गछौं । किसानहरूलाई विषेश सहयोग गछौं । युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिमहरू दिने, लघु उद्योगहरू खोल्ने, लगानीको वातावरण सिर्जना गर्ने, पर्यटकीय ठाँउहरूको विकास गर्ने, यहाँका विभिन्न जातजातीको संस्कृती र भेषभूषाको संरक्षण गर्ने, महानगरीय अस्पताल बनाउने, फोहरको दीर्घकालिन व्यवस्थापन गर्ने लगायतका थुप्रै कामहरू गर्नेछौं । विभिन्न देशका ठूला महानगरहरूसँग भगिनी सम्वन्ध कायम गर्नेछौं । भरतपुर लगानी सम्मेलनको आयोजना गर्नेछौं । भरतपुरलाई अन्र्तराष्ट्रिय मापदण्डको हरियालीसहितको महानगर बनाउने मेरो सोच छ । योजनावद्ध दिगो विकासको मेरो मूल प्राथमिकता हो ।
गरिवीको रेखामूनि भएका सबैलाई निशूल्क स्वास्थ्य बीमा, न्यूनत्तम विद्युत र खानेपानी निशूल्क दिन्छौं । प्रति बर्ष ५ हजार रोजगारी दिने, अहिले भरतपुरमा एउटा पनि रमणीय पार्क छैन पार्क बनाउने, शारदानगर, चनौली र पार्वतीपूर क्षेत्रलाई मिलाएर नयाँ सहरको रुपमा विकास गर्ने योजना छ । पटिहानी र मेघौलीलाई प्राकृतिक सुन्दरता सहितको पर्यटकीय करिडोरको रुपमा विकास गर्ने योजना छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement