0Shares

परीक्षणको संख्या घटाएसँगै पछिल्ला दुई दिनमा नेपालमा नयाँ संक्रमितको संख्यामा ह्वात्तै कमी आएको सरकारी तथ्यांकमा देखिएको छ । तर परीक्षणको संख्या घटेर संक्रमितको संख्या कम देखिए पनि संक्रमण दर भने अझै उच्च रहेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको छ जसमा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १७८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ७०२ र ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि दैनिक २० हजार हाराहारीमा परीक्षण गरिँदै आएकोमा शनिबार पनि मात्र १४ हजार ७५२ जनाको मात्र परीक्षण गरिएको थियो । जसमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी शनिबार परीक्षण गरिएका मध्येमा संक्रमण दर ३०.४१ प्रतिशत रहेको थियो भने आइतबार यो दर ३४.२१ रहेको छ । शुक्रबार २० हजार ११० जनाको परीक्षण गरिएको थियो जसमा ६९५१ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन संक्रमण दर ३४.५६ प्रतिशत रहेको थियो ।

 

‘किन परीक्षणको संख्या घटाइयो ?’ भन्ने प्रश्न गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी शनिबार भएको कारण हिजो परीक्षणको संख्या केही कम देखिएको बताउँछन् । आइतबार भने पीसीआर परीक्षणको संख्यामा किन कमी आयो भनेर प्रयोगशालाहरूलाई बुझ्ने काम भइरहेको उनले रातोपाटीलाई बताए ।

यतिबेला सामाजिक सञ्जालमा एउटा अडियो कुराकानी पनि भाइरल छ, जसमा अब असारमा कर उठाउनका लागि संक्रमितको संख्या कम देखाउन थाल्ने सरकारी योजना रहेको दाबी गरिएको छ । ‘आम मानिसले त्यसबारे पनि आशंका व्यक्त गरिरहेका छन् नि !’ भन्ने प्रश्नमा अधिकारीले त्यस्ता अफवाहको पछाडि नलाग्न आग्रह गरे । ‘हामीले व्यापकरुपमा एन्टिजेन परीक्षणका लागि सामग्री पठाएका छौँ । यो अब बढ्छ । पीसीआर परीक्षण चाहिँ किन कम भयो भन्ने बुझ्दैछौँ । यो प्राविधिक समस्या हो, अन्यथा नबुझौँ,’ उनले स्पष्ट पारे ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । यसमध्ये १ लाख १ हजार ३३४ जना होम आइसोलेसनमा, ७ हजार ५६३ जना संस्थागत आइसोलेसनमा, आईसीयूमा १५४५ जना र भेन्टिलेटरमा ४०७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ४ हजार ४० हजार ९५५ जना पुगेको छ । नेपालमा निको हुने दर ७९.२ प्रतिशत रहेको छ ।

कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् । हालसम्म ७२७२ जना संक्रमितको मृत्यु भइसकेको छ । मृत्तकमध्ये ३३ प्रतिशत २ हजार ३६८ जना महिला रहेका छन् भने ६७ प्रतिशत अर्थात् ४९०४ जना पुरुष रहेका छन् । मृतक मध्ये सबैभन्दा धेरै ६० वर्ष र सोभन्दा माथिका रहेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement