0Shares

अन्ततः खारेज गर्ने बहस चलिरहेका बेला माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई झनै ठूलो हाउगुजी बनाइएको छ । यस वर्ष उपलव्ध नतिजाले एसएलसीभन्दा एसईई झनै ठूलो फलामे ढोकाको रुपमा स्थापित भयो । कारण हो, यो परीक्षामा विद्यार्थीले पाएको नतिजा र प्रतिष्पर्धा ।
एसईईमा यसअघि पास तथा फेल अंकित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो । शैक्षिक वर्ष २०७१ पछि लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक भयोे । यसवर्ष भने परीक्षा बोर्डले पहिलोपटक पास–फेल सहितको नतिजा सार्वजनिक गरेको छ । यसअघि कम अंक ल्याउने विद्यार्थीहरूको हकमा समेत ग्रेडअनुसार ११ कक्षा पढ्न पाउँथे । तर, यसवर्ष भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेदेखि पास–फेलको विवरण प्रकाशन ग¥यो । जसका कारण विद्यार्थीको परिणाम ९ वर्षअघिकै जस्तो देखियो । अन्ततः यसलाई फेरि ठूलो फलामे खुड्किलाको रुपमा स्थापित गराउने प्रयास भएको छ ।
यस्तो आयो नतिजा
शैक्षिक वर्ष ०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा स्तरीकृत अंक (जीपीए)को आधारमा विगतभन्दा खस्किएको छ । ११ कक्षामा भर्ना हुन योग्य विद्यार्थीको तुलनामा कक्षा चढ्नै नसक्ने अर्थात् नन ग्रेडिङ विद्यार्थीको संख्या आधाभन्दा बढी छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा असार १३ गते बिहीबार सार्वजनिक गरेको हो ।
गत चैतमा सञ्चालित एसईई परीक्षामा देशभरबाट ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थी सहभागी थिए । तीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । यो कुल विद्यार्थीको ४७.८६ प्रतिशत मात्रै हो । कुल विद्यार्थीमध्ये ननग्रेडिङ (एनजी) मा २ लाख ४२ हजार २ सय ९८ विद्यार्थी परेका छन् । यो कुल परीक्षार्थीको ५२.१४ प्रतिशत हो। यस्तो नतिजा २०७१ सालतिर हुन्थ्यो । परीक्षामा २ लाख ३३ हजार २ सय ७० जना छात्रा र २ लाख ३१ हजार ५ सय ३ छात्र सहभागी थिए ।
यद्दपि ननग्रेडिङ भएका सबैले जति विषयमा फेल भएपनि मौका परीक्षा भने दिन पाउने भएका छन् । यदि मौका परीक्षामा पास भए भने उनीहरुले लगातार नै पढ्न पाउनेछन् । तर यो अवसर पाएपनि विद्यार्थीको मनोवल पास–फेल भन्ने चिन्ताले घट्नै नै छ । कलिलो उमेरका यी विद्यार्थीहरुमा निराशाको भावना झल्कन बेर मान्दैन । अन्ततः पहिले पहिले एसएलसीमा फेल भएर आत्महत्या जस्तो निर्णय लिन पनि विद्यार्थीले बेर मान्दैनन् ।
नतिजा खस्कनुको कारण
विद्यालय तहमा पहिले विद्यार्थीका लागि एसएलसी कठिन अभ्यास भयो भन्दै यसलाई खारेज गरेर एसईई सञ्चालन गरियो । एसईई शुरु हुँदा ‘अब कोहि फेल हुनपर्दैन, कक्षा ११ मा विषय रोजेर पढ्नका लागि भने आवश्यकता अनुसार नम्बर ल्याउन पर्छ’ भनियो । सोहि बमोजिम विद्यार्थीले पढ्दै गए । क्षमता अनुसारको विषय लिएर १२ कक्षासम्म पढेका थिए । यतिसम्म ठिकै थियो । पछि फेरि यो एसईईको केहि उपलव्धि भएन, यसलाई पनि खारेज गरौँ भन्ने बहस चल्यो । कक्षा १२ लाई विद्यालय तहको खुड्किलोृ बनाउनुपर्छ भन्न थालियो । यस्ता खालका पटकपटक हुनै शैक्षिक नीति र परिवर्तनले न विद्यार्थिले राम्रोसँग पढे, न त शिक्षकहरुले नै राम्रोसँग पढाए । अभिभावक पनि आफ्नाृ छोराछोरीको पढाईप्रति खासै सम्बेदनशील हुन सकेनन् । अन्ततः यसको असर यस वर्षको नतिजामा आएर प¥यो ।
एसईईको न्यूनतम उपलब्धि शिक्षकले गरेनन् । नतिजाले पनि यो देखाएन । सोहीअनुसार विद्यार्थी परीक्षाका लागि तयार पनि भएनन् । परीक्षा अघिसम्म एसईईमा न्यूनतम सक्षमता हाँसिल गर्नुपर्छ भन्ने चिन्तन थियो । तर यसलाई शैक्षिक माफियाहरुले पास–फेलसँग तुलना गरिदिए । यस्ता खालको मनोविज्ञान कम हुँदै जानुपथ्र्यो । तर एसएलसीभन्दा पनि ठूलो हाउगुजी एसईईमा सवार भएपछि नतिजा अवश्य नै खस्किने नै भयो ।
अझै पनि हाम्रे शिक्षा र पढाउने शैली परम्परागत नै छ । धेरै शिक्षकको ३५ वर्षदेखि पढाउने शैली पनि एउटै छ । तर, विद्यार्थीहरू नयाँ छन् । ‘ग्लोवलाइजेसन’को यो समयमा विद्यार्थीले विद्यालय जानुअघि नै धेरै अतिरिक्त कुरा थाहा पाइराखेका छन् । विद्यार्थीको यो प्रतिभालाई शिक्षकहरुले बुझ्न सकेनन् । पढाउने शैलीमा परिवर्तन आएन । घोक्न सिकाए, सोँच्न सिकाएनन् । जसका कारण समग्रमा शैक्षिक स्तर खस्कियो ।
एसएलसीपछिको हाउगुजी
नामैले पनि एसएलसी स्कूल छाड्ने ‘सटिफिर्केट’ मात्रै थियोे । तर एसएलसीलाई उतिबेला हुनेखानेहरुले ठूलो ‘हाउगुजी’ बनाइदिए । ‘फलामे ढोका’ भन्दिए । एसएलसी पास गरिएन भने संसारै डुव्छ भनेर सिकाइयो । यस्तै सिकाइले विद्यार्थीले पनि संसार छाड्न वाध्य भए । विशेष गरी नीजि विद्यालयले एसएलसीलाई मात्रै आफ्नो प्रतिष्ठासंग तुलना गरे । ‘एसएलसीमा सफल भए सबै सफल’ भन्ने उनीहरुको बुझाइ रह्यो । यस्तो अस्वस्थ प्रतिष्पर्धाले विद्यार्थीलाई जसरी पनि एसएलसीमा उत्कृट नतिजा ल्याउन वाध्य पारियो । हुन त स्कूलबाट धेरै विद्यार्थी पास भएर विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए सबैका लागि राम्रो हुन्थ्यो । तर एसएलसीलाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै एसएलसीको परिण्ाँममा छ भन्नु चाहि गलत थियो । एसएलसीलाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरियो, फेरि अहिले आएर एसईईलाई उस्तै हाउगुजी बनाउने प्रयास गरिँदैछ । जति हाउगुजी बनाईन्छ, उति नै यसको परिणाम ओरालो लाग्दैछ । यसैले असफल भएका विद्यार्थीले पनि बुझन्पर्ने एउटै कुरा के हो भने परीक्षामा असफलता जीवनकै असफलता कदापि होइन, किनभने जीवन एउटा असफलताले रोकिदैन ।
अझै पनि सानैदेखि बालबालिकामा एसईईको असफलताप्रति डर देखाइएको छ । नकारात्मक भाव उत्पन्न गराइएको छ । उत्तिर्ण हुन नसके बाबुआमाको सपना पूरा गर्न नसकेको अरोप लगाइन्छ । जीवनभन्दा पनि परीक्षाको अंक नै हो भन्ने सन्देश दिईन्छ । उता विद्यालयले एसईईको शतप्रतिशत सफलतालाई नै आफ्नो भविष्यको मानक मान्छ । असफल हुने सम्भावित विद्यार्थीहरुमा हीनताबोध नै जाग्नेगरी व्यवहार गरिन्छ । परिणामतः यस्ता क्रियाकलापले विद्यार्थीलाई यसअघि ‘आत्महत्या’ तिर अग्रसर गराएको घटना सार्वजनिक हुन्थ्यो । धन्न यतिबेलासम्म यस्ता घटना चाहिँ सुन्न परेका छैनन् । यसैले एसएलसीको भयावह मनोदशालाई सबैले बुझ्ने भाषामा ‘यो सामान्य परीक्षा हो र असफलतापछि सफल हुन सकिन्छ’ भन्ने सन्देश विशेषतः सबै विद्यालय प्रशासन र अभिभावहरुले आफ्ना विद्यार्थीहरुलाई दिन जरुरी छ ।
अनुगमन खोइ ?
अन्य समयभन्दा बढि आत्तिने विद्यार्थीको स्वभावले राम्रो गर्न सक्ने विद्यार्थी पनि यतिबेला असफल भएका उदाहरण छन् । यसैले हामीले बुझ्नुपर्ने कुरा के हो भने एसईई विद्यालय तहको एउटा खुड्किलो मात्र हो । पार गर्न नसके पनि अर्को पटक पार गर्न सकिन्छ । एकपटक असफल भइयो भन्दैमा जिन्दगी नै असफल भयो भन्न हुन्न । विद्यार्थीहरु एसईईमा असफल हुनु भनेको राज्यको शैक्षिक नीति कमजोर भएर हो । राज्यले शिक्षाको लागि सरकारी विद्यालयमा धेरै लगानी गरे पनि अभिभावकहरुले अक्सर गरेर ‘राम्रो पढाई हुने’ आशमा आफ्ना नानीबाबुहरुलाई निजी विद्यालयमै पढाउने गरेको पाईन्छ । यसैले सामुदायिक विद्यालयको कमजोर नतिजाले राज्यको शैक्षिक लगानी समेत खेर गएको छ भनेर भन्न सकिन्छ । यसकारण एसईईमा असफल भईन्छ कि भनेर विद्यार्थीहरु आत्तिहाल्नुपर्ने अवस्था छैन ।
पैसा हुने बोर्डिङ स्कूल र पैसा खन्याउन सक्ने यसका अभिभावकले अर्जुनवाण जस्तै ‘एसईई’ नै ‘टार्गेट’ गरेर पढाइरहेको अवस्था छ, अहिले । सरकारी स्कूल पनि उही बाटोमा छ । एसईईलाई मात्रै शैक्षिक गुणस्तरको मापन गर्ने सरकारी शैलीले नीजि विद्यालय पनि अछुतो रहन सकेका छैनन् । एसईईमा राम्रो परिणाम ल्याउन सके अर्को वर्ष धेरै विद्यार्थीलाई आफ्नो विद्यालयमा पढाउन सकिने र राम्रो आयआर्जन गर्न सकिने लक्ष्यमा नीजि विद्यालय केन्द्रीत छन् । राम्रा कहलिएका बोर्डिङ स्कूलमा भर्ना गर्न ‘प्लेग्रुप’ का विद्यार्थीलाई पनि ‘प्रवेश परीक्षा’ र ‘अन्तर्वार्ता’ लिने गरिन्छ । तर आफैले प्रवेश परीक्षा लिएर आफ्नै विद्यालयमा भर्ना गरी पढाएको विद्यार्थी एसईईमा गएर फेल हुन्छ । अनि यस्ता स्कूलका ‘प्रवेश परीक्षा’ को मापन के हो ? एसईई अगाडिका कक्षाहरुमा उनीहरुले विद्यार्थीलाई कसरी पढाए ? यसको अनुगमन कसले गर्ने ?
व्यवहारिक शिक्षाको खाँचो
अहिले करिब ४८ प्रतिशत हाराहारीका विद्यार्थी एसईईमा पास भएका छन् । यसमध्ये करिब ९० प्रतिशत विद्यार्थी ‘घोकाइ र रटाइ’ले पास भएका हुन् भन्न गाह्रो छैन । किनभने हाम्रो पढाईको तरिका नै यस्तै छ । विद्यार्थीको क्षमता नाप्ने कुरामा अन्य तात्विक भिन्नता छैन । समसामयिक विषयवस्तुमा सिर्जनात्मक र प्रयोगात्मक परीक्षा लिइयो भने यस्ता विद्यार्थी धेरै असफल हुन्छन् । अलिअलि जान्नेबुझ्ने र हुनेखाने ‘ए प्लस’ वालाहरु विदेश पढ्न गइहाल्छन् । बाँकि विद्यार्थीहरु यतै रुमल्लिन्छन् । व्यवहारिक रुपमा ‘घोकन्ते विद्या’ले काम गर्दैन । सामान्य हिसाब हातैले औंला भा“चेर या कण्ठै गर्न सिपालु आफ्नै ‘हजुरबुवा हजुरआमा’का अगाडि अहिलेका एसईई प्रमाणपत्रधारीहरुलाई त्यही हिसाब गर्न ‘क्याल्कुलेटर’ नभई हु“दैन । अनि विस्तारै यस्ता निराशलाग्दा व्यावहारिक नतिजाले आजका विद्यार्थीहरु अपरिपक्व हु“दै गइरहेका छन् । लाखौं किशोरकिशोरीहरुको भविष्यलाई अनिश्चित बनाइरहेको छ । निश्चित प्रतिशत अङ्क प्राप्त नगरेका विद्यार्थीलाई कमजोर कित्तामा परीक्षा नियन्त्रण कार्यालयले राख्दा विद्यार्थी चिन्तित र हतास देखिएका छन् । सहभागीमध्ये आधाभन्दा बढी विद्यार्थी फेल हुनुमा नेपालको समग्र शिक्षा प्रणाली र परीक्षा प्रणालीमै कमजोरी छ । परीक्षामा उत्तीर्ण हुनुमात्रै पढाईको सफलता होइन । अध्ययनको सफलता त विद्यार्थीको हरेक पक्षसँग जोडिएको हुन्छ । नैतिक आचरण स्वच्छ हुनु पनि विद्यार्थीको गुण हो । परीक्षाको लागि चिन्तित रहनुभन्दा बेलैदेखि अध्ययनलाई समयानुकुल अगाडि बढाउँदै लैजानु विद्यार्थीका लागि सफलताको सुत्र हो ।
एकातिर पढाइको चाप, अर्कातिर अभिभावक र शिÔकहरुले बारम्बार ‘अंक एवं परीक्षा परिणाम’ बारे मात्रै विद्यार्थीमागि चासो लिने परिपाटी मात्रैले नेपालको शिक्षा नीति उभो लाग्दैन । अब एसईईलाई जीवनको फलामे ढोका ठानेर एसईई फेल भएकाहरु त कामै नलाग्ने हुनेजस्तो अतिशयोक्तिपूर्ण धारणालाई चिर्न विद्यालयस्तरमै यस्ता शिक्षा दिनु आवश्यक छ । एसईई अनुत्तिर्ण भइसकेपछि बाबुआमाले छोराछोरीमाथि गरेकोे लगानी खेर गएको ठान्ने या राम्रो श्रेणी ल्याउन नसके त्यस्ता छोराछोरीलाई अपराधीसरह व्यवहार गर्ने गर्छन् । यसो हुनु राम्रो होइन । किनभने मान्छेको जीवन जस्तो ठूलो कुरा केही होइन ।
अभिभावकहरुको जोडबल र एसईईको ठूलो हाउगुजीले यसबाट धेरै विद्यार्थीहरु तर्सिरहेका छन् । परीक्षामा असफल भएपछि आफ्नो इज्जत प्रतिष्ठा सबै गुम्नेसम्मको धम्कीपूर्ण शब्द अभिभावकहरुले प्रयोग गर्नुले पनि आत्महत्यातर्फ विद्यार्थीलाई धकेल्न बाध्य पारेका उदाहरण छन् । त्यसमाथि स्कूलहरुको ‘शतप्रतिशत’ नतिजा ल्याउने मोहले पनि यसको असर सोझै विद्यार्थीमाथि परेको छ । यस्ता कुराले विद्यार्थी परीक्षाफल आउनुअघि नै विक्षिप्त भइसकेका हुन्छन् । परीक्षाफलले असफल बनाएको खबर पाएलगत्तै आत्महत्याको बाटोमा पुग्ने गरेका पनि छन् । अब यसलाई रोक्नैपर्छ ।
हटाउनैपर्छ मनोवैज्ञानिक त्रास
परीक्षामा सबै विद्यार्थी पास भएर स्कूलले पनि शतप्रतिशत नतिजा ल्याउनुलाई शैक्षिक उन्नतीको हिसाबले राम्रो मान्न सकिएला । तर कुनै विद्यार्थीले एसईई परीक्षाकै कारण ‘मेरो जिन्दगी नै सकियो’ भन्ने सोँचाईले समग्र शिक्षाकर्मीका लागि चुनौती थपिदिएको छ । यसका लागि विद्यार्थीलाई परीक्षादेखि डराउने वातावरण शिक्षकले गराउनु हुँदैन । मनोवैज्ञानिक त्रासलाई कम गराउन घरपरिवारले पनि उत्तिकै जिम्मेवारीका साथ काम गर्नुपर्छ । ‘घोडा चढ्ने मान्छे अवश्य लड्छ’ भनेझै हरेक सफलताका पछाडि असफलताको पनि उत्तिकै हात रहेको हुन्छ । यसैले असफलतालाई सामना गर्ने विधि र तरिकाबारे पनि विद्यालय तहको शिक्षा जरुरी भएको छ । असफल भयो भन्दैमा विद्यार्थीलाई चिन्तित र निरास पार्ने काम गर्नुहुँदैन । एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले बाँकि गन्तव्य राम्रोसंग निर्वाह गर्न सकेनन् भने उत्तीर्ण हुनुको सार्थकता पनि रहँदैन । एसईई पास गरेपछि अगाडि बढ्न धेरै बाटोहरु भेटिन सक्छन्, जसले विद्यार्थीलाई द्विविधा उत्पन्न गराउन सक्दछ । परीक्षाका समय धेरै पढ्ने भन्दा पनि विगतमा पढेका कुरालाई सम्झने गरियो भने एसएलसीमा सफलता प्राप्त गर्न सकिन्छ । सँगसँगै एसईई मर्यादित बनाउन सबै शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीले सहयोग पु¥याउनु जरुरी छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement