जापानको अनुभवसहित भरतपुरमा खुल्यो ‘चितवन स्पाइसी हर्ब’
भरतपुर । बढ्दो सहरीकरणसँगै होटल तथा रेष्टुरेन्टमा पारिवारिक तथा संस्थागत कार्यक्रम गर्ने प्रचलन बढिरहेका बेला भरतपुरमा नयाँ अवधारणासहित ‘चितवन स्पाइसी हर्ब Chitwan Spicy Herb होटल सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका–१०, दीपचोकमा सञ्चालनमा आएको होटलमा जापानमा लामो समय रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै फरक स्वाद र गुणस्तरीय सेवा दिने प्रयास गरिएको सञ्चालक प्रकाश आचार्यले बताए । ‘सहज र सुलभ रूपमा गुणस्तरीय, स्वच्छ खाना, फरक तथा नौलो स्वाद र उत्कृष्ट सेवा–सत्कार प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ आचार्यले भने ।
चार कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा जग्गाबाहेक करिब पाँच करोड रुपैयाँ लगानी भएको छ । होटलमा १२ वटा डिलक्स कोठा छन् भने फरक डिजाइनका दुईवटा गोलाकार कोठासमेत निर्माण गरिएको छ । कार्यक्रम तथा समारोहका लागि होटलमा ६० जना क्षमताको एउटा र ३० र ३० जना क्षमताका दुईवटा हल रहेका छन्। त्यस्तै, १०० जना र २०० जना क्षमताका दुईवटा रेष्टुरेन्टका साथै १०० जनाभन्दा बढी क्षमताको ओपन रेष्टुरेन्टसमेत सञ्चालनमा छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै होटल परिसरमा २५ वटा कार र करिब १०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ ।

जापानी स्वाददेखि दक्षिण एसियाली फ्युजनसम्म
जापानमा करिब दुई दशक रेष्टुरेन्ट व्यवसायमा काम गरेको अनुभवलाई भरतपुरमा उपयोग गर्दै जापानी, इन्डियन, चाइनिज तथा दक्षिण एसियाली परिकारलाई फ्युजन गरेर नयाँ स्वाद पस्कने तयारी गरिएको आचार्यले बताए। ‘नेपालका अन्य रेष्टुरेन्टभन्दा फरक स्वाद दिने गरी मेनु तयार गरेका छौं,’ उनले भने, ‘ग्राहकले नयाँ स्वाद र फरक अनुभव पाउन सकून् भन्ने हाम्रो प्रयास हो ।’
आचार्यका अनुसार जापानको टोकियोस्थित प्रमुख बजार क्षेत्रमा हाल सातवटा रेष्टुरेन्ट सञ्चालनमा छन् । खान्चिदोकीमा दुईवटा तथा चुकिस, चुकुदा, हारुमी, तोयोसु र तोयोचोमा एक–एकवटा रेष्टुरेन्ट सञ्चालनमा रहेको उनले जानकारी दिए।

पारिवारिक जमघटदेखि संस्थागत कार्यक्रमसम्म
पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको होटलमा जन्मदिन, बेबी सेरेमनी, एनिभर्सरी, पारिवारिक जमघट तथा साथीभाइको भेटघाटलगायत विभिन्न अवसरमा कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, बैठक, गोष्ठी, साधारणसभा, अधिवेशन तथा विभिन्न संस्थागत कार्यक्रमका लागि समेत होटल उपयुक्त हुने सञ्चालक आचार्यले बताए।

ग्राहकको सहजताका लागि होटलले होम डेलिभरी सेवासमेत सञ्चालनमा ल्याएको छ । होटल शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था गरिएको जनाउँदै सञ्चालक आचार्यले आम सेवाग्राहीलाई उक्त अवसरको लाभ लिन आग्रह गरेका छन् । ‘हामीले जापानमा हासिल गरेको अनुभव र सीपलाई नेपालमा प्रयोग गरेर ग्राहकलाई फरक स्वाद र गुणस्तरीय सेवा दिने लक्ष्य राखेका छौं,’ आचार्यले भने।

सम्बन्धित खवर
-
राजविराज : रगत परीक्षण गराउन १२ ...
-
काठमाडौं, भदौ २७ – बालबालिका ...

















