0Shares

राजविराज : रगत परीक्षण गराउन १२ सय रुपैयाँ नपुगेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालछेउकै सडकपेटीमा बबिताकुमारी पासवान सुत्केरी भएको प्रकरणमा एक जना चिकित्सकसहित ६ जनालाई कामकाजबाट हटाइएको छ ।

घटनापछि बनेका छानबिन समितिहरूको प्रतिवेदन सार्वजनिक नहुञ्जेलसम्मका लागि एक चिकित्सक, दुई स्वास्थ्यकर्मी र तीन जना कर्मचारीलाई सेवाबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जितकुमार झाले जानकारी दिए ।

उनका अनुसार चिकित्सकका रूपमा डा.उषा देवलाई हटाइएको हो । पासवान सुत्केरी हुँदाको राति डा.देव आवश्यकतानुसार फोन गरेपछि आउने चिकित्सकका रूपमा कार्यरत थिइन् । तर, अस्पतालबाट त्यस विषयमा कुनै फोन नआएको डा.देवले कान्तिपुरसँग बताइन् । ‘मैले पनि त्यो घटना बिहीबार मात्रै थाहा पाएँ,’ उनले भनिन्, ‘छानबिन समितिलाई पनि मैले त्यही नै लिखित दिएँ पनि । तर तत्काललाई कामकाजबाट हटाइसकेको देखेँ ।’ कामकाजबाट हटाइएको विषयमा अस्पताल प्रशासनमा बुझ्दा माथिबाट नै त्यस्तो भएको जवाफ पाउँदा दुःख लागेको डा.देवले सुनाइन् ।

उनीसहित स्टाफ नर्सद्वय मनीषाकुमारी साह र सजन चौधरी तथा कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएको छ । तर, ‘गाइने वार्ड’ को व्यवस्थापन र नेतृत्व, बिरामीको प्रत्यक्ष हेरचाह, सुरक्षा, परामर्श तथा समन्वय गर्ने भूमिकामा रहेकी ‘गाइने इन्चार्ज’ भने कामकाजमै रहँदा अस्पताल प्रशासनको विरोध भइरहेको छ । अस्पतालमा ‘गाइने इन्चार्ज’ का रूपमा स्टाफ नर्स कृष्णा यादव कार्यरत छन् ।

निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.झाले घटनाका बेला ‘ड्युटी’ मा प्रत्यक्ष रहेकाहरूलाई तत्काललाई कामकाजबाट हटाइएको बताए । ‘गाइने इन्चार्जको प्रत्यक्ष संलग्नता देखिएन तर हाम्रो र जिल्ला प्रशासन कार्यालय, मन्त्रालय तथा काउन्सिलले गरिरहेको छानबिनको दायरामा उहाँ पनि हुनुहुनन्छ,’ उनले भने, ‘दोषी देखिने जोकोहीलाई कारबाही हुन्छ । र, कामकाजबाट हटाइएकाहरू पनि दोषी नदेखिए कामकाजमा फिर्ता गर्छौं ।’

मंगलबार राति अस्पताल आएकी राजविराजको पर्साहीकी ३० वर्षीया पासवानले सडकपेटीमा सुत्केरी भएको भिडियो सीसीटीभीमा रेकर्ड भएको थियो । ती भिडियो बिहीबार बिहान सार्वजनिक भएपछि सामाजिक सञ्जालमा छाएका थिए । घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सत्यतथ्य छानबिन गर्न समिति बनाएको छ भने काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी र एथिकल कमिटीका डा. अजय शाह सम्मिलित टोलीले स्थलगत छानबिन र सम्बन्धित व्यक्तिको बयान लिएर शुक्रबार फर्किएको छ । यता, अस्पताल र जिल्ला प्रशासन कार्यालयले गठन गरेका छानबिन समितिले पनि घटनाको छानबिन गरिरहेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement