4Shares

२०२५ सालमा सरकारी सेवामा आबद्ध भएका रामप्रित यादव (७५) ले संरक्षणको क्षेत्रमा लामो समय काम गरे। अहिले चितवनमा बस्ने गरेका उनी अवकाशपछिको जीवनमा पनि संरक्षणकै काममा धेरै खटिन्छन्।

वन विज्ञानमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि सरकारी सेवामा जोडिएका उनको पहिलो पोष्टिङ इलाममा भयो। त्यतिवेला इलाम जान अहिले जस्तो सजिलो थिएन। राजमार्ग नबनेका कारण आफ्नो भूमि जान पनि भारतको बाटो प्रयोग गर्नुपथ्र्यो। सिराहा निवासी यादव भारत हुँदै इलाम पुगेका थिए।

इलाममा १० महीना बसेर हेटौंडा फर्किए। हेटौंडामा रहेको प्रधान वन कार्यालयबाट वनको सिमांकन गर्ने टीममा रहेर काम गरे ।

सरकारले चितवनमा राष्ट्रिय निकुञ्ज बनाउन २०२७ सालमा अध्ययन प्रक्रिया अगाडि बढाएको थियो। निकुञ्ज निर्माणको संभाव्यता अध्ययनका लागि टोली खटियो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का तर्फबाट परामर्शदाताका रूपमा जोन ब्लोर संलग्न रहेको टोलीमा विश्वनाथ उप्रेती, कर्ण शाक्य र यादव पनि सहभागी थिए। जोनसँग अफ्रिकामा राष्ट्रिय निकुञ्ज बनाएको अनुभव थियो।

टोलीले २०२७ सालको शुरूआतदेखि सौराहामा पाल टाँगेर काम शुरू गर्‍यो। त्यहाँ झण्डै एक वर्ष काम गरेपछि यादवलाई अर्को जिम्मेवारी आयो। त्यो थियो, रारा राष्ट्रिय निकुञ्जको सम्भाव्यता अध्ययन र सीमांकनको टोलीमा जाने।

राराको रोमाञ्चक यात्रा

२०२८ सालमा रारा जाने अध्ययन टोलीमा भने जोन ब्लोर र यादव मात्रै थिए।

त्यतिवेला आफ्ना कर्मचारीका लागि यूनएडीपीको आफ्नै जहाज थियो। काठमाडौंदेखि जुम्लासम्म उनीहरू एकपंखे विमानमा गए। त्यसभन्दा अगाडिको यात्रा भने कठिन थियो। त्यसमा पनि तराईवासी उनलाई हिमाली भेगतिर हिंडेको अनुभव नै थिएन।
यादव सम्झन्छन्, “पहाड हिंडेको बानी नभएका कारण एक हप्तासम्म त मलाई एकदमै गाह्रो भयो। पछि भने बानी परेछ, फटाफट हिंड्न सक्ने भएँ।”

लामो समय बसेर काम गर्नुपर्ने भएकाले ओढ्ने–ओछ्याउनेदेखि दुई–तीन महीनाका लागि आवश्यक सामग्री लगिएको थियो। जुम्लाबाट आठ जना भरिया खोजेर जोन र उनी रारातिर उक्लिए।

त्यो यात्रामा जोनको अचम्मको बानी देखे उनले। “उनी गाउँबस्तीको नजिक बस्दैनथे, एकान्त ठाउँमा बस्न रुचाउँथे। बस्ती नजिक बस्दा फोहोर हुन्छ र गोरो छाला देखेपछि बच्चाहरू पछि लाग्छन् भन्थे।”

उनलाई रारा गएको महीना ठ्याक्कै याद छैन। तर, त्यो जाडोको महीना थियो। रारामा पुग्दा तालमा हिउँ जमेको थियो।

निकुञ्जको सिमाना तोक्न उनीहरूले ४५ दिनसम्म हिमाली भागका गोरेटाहरुमा जुत्ता खियाए। काम अवधिभरि भरियाहरू पनि सँगै थिए। त्यो यात्रामा यादवसँग केही यस्ता स्मरण छन्, जुन अहिले पनि उनको सम्झनामा ताजै छन्।

एकदिन रारा तालबाट माथि उक्लिनुपर्ने थियो। बिहान १० बजे हिंड्ने भने पनि १२ बज्यो। ३ बजेपछि भरियाहरुले ‘माथि जान सकिंदैन, आज यतै बसौं’ भन्न थाले। तर, टोली नेता जोन ब्लोर भने गन्तव्यमा नपुगी नछोड्ने अडानमा थिए।

“भरियाहरुले अगाडि पानी पाइँदैन, नबढौं भने। मैले जोनलाई त्यो कुरा भनें, तर उनले हिउँ पगालेर पानी बनाउँला भनेर रोकिन मानेनन्”, यादव सम्झन्छन् “अँध्यारो हुँदासम्म पनि उनले भनेको ठाउँ पुग्न सकिएन। भिरालो पाखामा पाल टाँगेर रात काट्नुपर्‍यो। निद्रामा कोल्टे फेर्दा खसिएला कि भनेर आँखा झिमिक्क नपारी रात बित्यो।”

जीवनमा उनी रारा पुगेको त्यो नै एक पटक हो। त्यो वेलाको रारा सम्झँदा अझै रोमाञ्चित हुन्छन्।

उनीहरु पहिलो पटक रारा पुग्दा ताल बरफले ढाकिएको थियो। ४५ दिनपछि फर्केर आउँदा बरफ पग्लिएर पानी भएको थियो। उनी ४९ वर्षअघिको समयमा फर्किए, “गाढा नीलो र सफा दह थियो रारा। ताल छेउछाउका बस्तीमा ओखर, मह र स्याउ खुब खाइयो। अहिले कस्तो होला!”

धुवाँ उडाएर जहाज अवतरण

काम सकिएपछि काठमाडौं फर्कने तयारी हुन थाल्यो। जोन ब्लोरले जहाजलाई रारामै बोलाएका थिए। तर, रारामा जहाज बस्ने राम्रो ठाउँ थिएन। जहाज अवतरण गर्ने ठाउँ सम्याउन मान्छे चाहिने भयो। त्यसका लागि यादव आफैं मुगुको सदरमुकाम गमगढी पुगे।

तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनले आफ्नो परिचय र कामको बारेमा बताउँदै जहाज बस्ने ठाउँ बनाउन स्थानीयलाई जम्मा पारिदिन आग्रह गरे।

“मेरो काम थाहा पाएपछि सिडिओ सापले ‘यहाँ राष्ट्रिय निकुञ्ज बनाउन सम्भव छ त’ भनेर सोधे, मैले सम्भव छ भनेपछि खुशी हुँदै मान्छे पठाइदिए”, यादव भन्छन्।

मानिसहरू आएर काठको धुर्मुसले माटो सम्याए। बिहान साढे ११ बजेतिर जहाज रारा पुग्यो। जहाजलाई संकेत दिन धुँवा उडाइयो। ४/५ फन्को मारेपछि जहाज अवतरण भयो।

चीलगाडी आयो भन्दै मान्छे झुम्मिए। मेला लागे झैं भयो। जहाजमा काठमाडौं फर्कन पाइने भयो भनेर मख्ख परेका यादव पाइलटको कुराले निराश भए।

“पाइलटले आफ्नो फस्ट ल्यान्डिङ भएकाले उड्न गाह्रो हुन्छ भन्दै धेरै लोड लैजान नसक्ने बतायो”, यादव भन्छन् “जोन चाहिं गए। मलाई सामानहरू लिएर जुम्ला गएर बस्न र त्यहाँ जहाज आउने भनियो।”

उनी भरियालाई बोकाएर तेस्रो दिनमा जुम्ला पुगे। त्यहाँ जहाज आएपछि काठमाडौं फिर्ता भए।

अध्ययन र सीमांकनको कामपछि २०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो।

4Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement