0Shares

कुनै बेला ‘युद्ध’का सहयात्री थिए उनीहरू। दसवर्ष सँगसँगै कैयौँ ‘दुश्मन’सँग युद्ध लडेका उनीहरूबीच नै अहिले ‘दुश्मनी’ सुरु भएको छ।

रामबहादुर थापा ‘बादल’अहिले गृहमन्त्री छन्। अर्का ‘विप्लव’जो फेरि ‘रक्तपातपूर्ण’ आन्दोलनको अभीष्ट पछ्याउन थालेका छन्।
एकातिर गृहमन्त्री ‘बादल’सँग सरकारी बाध्यता छ भने, अर्काेतिर विप्लवसँग ‘इगो’को चुली।

सँगै युद्ध लडेर, सँगसँगै शान्तिपूर्ण राजनीतिमा आएका उनीहरू फेरि फरक बाटोमा लागे।

यद्यपि शान्तिपूर्ण राजनीतिमा अवतरणपछि ‘प्रचण्ड–बाबुराम’ले ‘क्रान्तिलाई गद्दार गरेको’ भन्दै मोहन वैद्य ‘किरण’ले मूल पार्टी छाडे र, केही नेता–कार्यकर्ता लिएर छुट्टै पार्टी बनाए।

धेरैपछि बाबुरामले पनि ‘देशमा कम्युनिष्ट’ रहेनन् भनेर ‘नयाँ शक्ति’ बनाए। प्रचण्ड र केपी एक भएर ‘नेकपा’ भए।

त्यो बेला बैद्य समूहका ‘हर्ताकर्ता’ भने उनै विप्लव थिए।

एउटा फरक ‘ग्याङ’

चिनियाँ कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा गुट कुख्यात छ, ‘ग्याङ अफ फोर।’

१९६६देखि ७७ सम्म चलेको चिनियाँ सांस्कृतिक क्रान्तिभित्रको यो एउटा ‘षड्यन्त्रकारी’ ग्याङ थियो। त्यसलाई माओकी अन्तिम श्रीमती जियांग किंगले नेतृत्व गर्थिन्।

यो ‘ग्याङ’ले त्यही क्रान्तिको नाममा थुप्रै नरसंहार र विध्वंस मच्चाएको थियो। पछि उनीहरूलाई ‘देशद्रोह’को आरोपमा कारबाही गरियो।

माओवादीभित्रको ‘ग्याङ’

दसवर्ष ‘युद्ध’ लडेको माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। हतियार बिसायो। ‘लालसेना’हरू नेपाली सेनामा मिसिए।
यद्यपि मूलधारको संसदीय अभ्यासमा आउन माओवादीलाई सजिलो थिएन। किनकि ‘हिंसालाई क्रान्तिको अनिवार्य शर्त’ मान्ने राजनीतिक दर्शन घोकेका थुप्रै नेता–कार्यकर्ता पार्टीभित्र सक्रिय थिए।

‘संसदीय राजनीतिमा आत्मसमर्पण’ नगर्न नेतृत्वलाई दबाव दिनेमध्येका एक थिए, विप्लव।

अनि उनलाई साथ दिएका थिए, शक्ति बस्नेत, खड्गबहादुर विश्वकर्मा र कूलप्रसाद केसीले।

माओवादी भित्रको यो ‘ग्याङ’ले मोहन बैद्यलाई पनि साथमा लिएको थियो। ‘ग्याङ’ चलाउने विप्लव नै थिए तर, बाहिर भने बैद्यलाई नै ‘शो’ गराइन्थ्यो।

केही समयपछि पुष्पकमल दाहाल (प्रचण्ड) ले शक्ति बस्नेतलाई यो ग्याङबाट झिक्न सफल भए। तर,‘ग्याङ’ भने पार्टीका लागि निकै ‘सकस’ बन्दै थियो।

‘युद्ध बिसाएर घात गरेको’ भन्ने माओवादी नेता–कार्यकर्ताको एउटा हुल यो ग्याङलाई समर्थन गथ्र्याे र, प्रचण्डको आलोचना बढ्दै थियो। नेता कार्यकर्तामा असन्तुष्टि चुलिँदै थियो।

विप्लवको ‘विप्लव छलाङ’

२०२४ साल फागुन ११ गते रोल्पाको इरिबाङमा जन्मिएका थिए नेत्रविक्रम चन्द । जो पछि ‘विप्लव’भए।

कृष्णबहादुर महरा(अहिलेका सभामुख)ले पढाउने बालकल्याण माविका विद्यार्थी थिए उनी।

पाकिस्तानमा बेनेजिर भुट्टोलाई फाँसीको सजाय सुनाएपछि नेपालमा पनि विद्यार्थीको विरोध आन्दोलन सुरु भएको थियो। त्यो आन्दोलनले उनी पढ्ने स्कूललाई पनि छोयो।

त्यसको असर यहाँसम्म भयो कि, विद्यालयमा शिक्षक, विद्यार्थी सबै मिलेर विरोधसभा गरे। अनि प्रहरीले व्यापक दमन गर्‍यो। विद्यालय पूरै राजनीतिक थलो नै बन्यो। यही आन्दोलनले पनि विप्लवलाई माथि जान अझ सघायो। उनी त्यो बेला अनेरास्ववियुमा थिए।

सानैदेखि उनी विद्रोही स्वभावका थिए। अनि धेरै अटेरी पनि। बाबुका सात भाइमध्ये सबै ‘लाहुरे’ थिए। उनका बाबुबाहेक।

२०४८ सालमा रोल्पा छोडेर उनी कपिलवस्तुमा बसाइँ सरेका थिए। त्यहाँ उनको ३ बिघा खानदानी जमिन थियो। राजनीतिमा लाग्दा उनले त्यो जमिन पनि बेचे। भाइहरू छुट्टिँदा आफ्नो भागमा परेको १० कठ्ठा जमिन पनि माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीलाई बुझाएपछि उनी ‘सर्वहारा’मा दर्ज भए।

१५ वर्षकै उमेरमा उनी अखिल छैंटौमा थिए। २०४२ सालमा मोहन बैद्यले नेतृत्व गरेको मसालको विद्यार्थी संगठनमा प्रवेश गरे। २०४८ सालमा केन्द्रीय सदस्य र त्यसपछि अध्यक्षसम्म भए।

२०५० सालमा पार्टीको जिल्ला सदस्य भए। जनयुद्ध सुरु हुँदासम्म उनी पार्टीको ललितपुर जिल्ला सदस्य थिए।

२०५२ सालमा माओवादी ‘जनयुद्ध’ सुरु भयो। रक्तपातपूर्ण त्यो भूमिगत राजनीतिक जीवनको यो पहिलो ‘इनिङ थियो।’

उनीसँगै वर्षमान पुन ‘अनन्त’ त्यो बेला रोल्पाबाट जिल्ला सदस्य थिए। जनयुद्धकै बेला उनीहरूबीच निकै ‘प्रतिष्पर्धा’ पनि भयो।
पार्टीका अर्का नेता ‘वादल’का नजिक थिए पुन। उनी माओवादीको आधार इलाकामै थिए।

त्यहीबेला बादल यौन काण्डमा मुछिए र, पार्टीले उनलाई कारबाही गर्‍यो। त्यसपछि पार्टीभित्र पुन अलिकति हाबी हुने मौका पाए।
पुनको उचाईँ चुलिइरहेको थियो, अर्काेतिर विप्लवलाई महत्वकांक्षाले गाँज्दै थियो।

त्यही महत्वाकांक्षाले उनको टकराव, आफूलाई प्रचण्डको ‘दाहिने हात’ ठान्ने यानप्रसाद गौतमसँग हुनपुग्यो।

पार्टीले यो ‘टकराव’मत्थर गर्न चन्दलाई ‘कारबाही’ गरेर आधार इलाका पठायो। तर, यही ‘कारबाही’ चन्दको राजनीतिक जीवनमा एउटा ‘कोशेढुङ्गा’ नै सावित भयो।

२०५३ सालमा उनी कर्णाली उपक्षेत्रीय ब्यूरोको इन्चार्ज भए। पहिलोपटक उनले सानीगढ प्रहरीचौकी आक्रमणमा आफैँ ‘कमिसार’को रुपमा सामेल भएर लडे। त्यो पनि भरुवा बन्दुकको भरमा। त्यो सफलताले उनको महत्वाकांक्षालाई हलक्कै बढायो।
२०५६ सालमा कालिकोट आक्रमणमा पनि उनी अग्रमोर्चामै उभिएर लडे। २०५८ मा दाङ घोराहीको ब्यारेक आक्रमणमा उनी प्रत्यक्ष सहभागी भए। यही आक्रमणपछि देशमा संकटकाल लाग्यो। म्याग्दीको बेनी आक्रमण तथा दाङकै सतवरियामा सशस्त्र प्रहरी क्याम्प आक्रमणको प्रमुख योजनाकार चन्द नै थिए। यद्यपि सतवरियामा आक्रमण सफल हुन सकेन।

२०५५सालको चौथो विस्तारित बैठकबाट पुन र चन्द सँगसँगै पार्टीको केन्द्रीय सदस्य भए। पार्टीमा हैसियत एउटै भयो। टकराव अझैँ बढ्यो।

त्यही बीचमा पुनमाथि पनि यौनकाण्डको आरोप लाग्यो। पार्टीले पुनलाई कारबाही गर्न खोज्यो तर, प्रचण्डले बचाए। कारबाही गरेजस्तै गरेर पुनलाई पूर्वाञ्चल ब्यूरोमा खटाइयो।

उता, मुख्य आधार ईलाकामा विप्लव एक्लै भए। आफ्नो प्रभाव देखाउन विप्लवलाई टक्कर दिने कोही भएनन्। पुनको कारबाही विप्लवको ‘विप्लवता’ स्थापित गर्ने मौका बन्यो।

२०६० सालमा माओवादीले ‘हेडक्वार्टर’ रोल्पालाई बनायो। चन्दले त्यो आधार इलाकामा आफूलाई राम्रै जमाइसकेका थिए। त्यसपछि उनलाई प्रचण्डसँग नजिकिन अझैँ सजिलो भयो।

प्रचण्डको सारा भौतिक सुरक्षाको नेतृत्व पनि विप्लव आफैले गरे। जनयुद्धमा प्रचण्डसँग चन्दजति नजिक सायदै अरु नेता भए।

त्यहीबेला डा. बाबुराम भट्राई पनि कारबाहीमा परे। उनलाई भूमिकाहीन बनाएर कारबाही गरिएको थियो।

आफूसँग प्रतिष्पर्धामा आउने नेताहरूलाई भइरहेको यो ‘कारबाही’ चन्द उदयीकरणको एउटा गतिलो मौका बनिरहेको थियो।

२०५८ माघ १९को ज्ञानेन्द्रको शाही कदमसँगै प्रचण्ड–बाबुरामबीचको ‘लडाईँ’ उत्कर्षमा थियो।

त्यो लडाईँको ‘भेउ’ राम्रोसँग बुझेका चन्दले माओवादीको ऐतिहासिक चुनवाङ बैठकमा पनि प्रचण्डलाई नै साथ दिएका थिए।
अघिल्लो लावङ बैठकमै बाबुराम कारबाहीमा परिसकेका थिए। त्यो बैठकमा पनि प्रचण्डलाई चन्दको दरिलो साथ थियो।
यसरी चन्द प्रचण्डको विश्वास जित्ने ‘अभीष्ट’मा लागिसकेका थिए।

माघ १९ले माओवादी आन्दोलनलाई पूरै कोल्टो पारिदियो। कांग्रेस, एमालेसँग कार्यगत एकता गर्ने नीति लियो।

यसमा चन्द सहमत थिएनन्। राजनीतिमा कुटिल र चतुर प्रचण्डले चन्द र उनको स्वभावलाई नचिन्ने कुरै थिएन।

आखिर माओवादी २०६२–६३को आन्दोलनमा कांग्रेस–एमालेलाई सडकमै आएर साथ दिन तयार भयो।

चन्दको महत्वाकांक्षाबाट प्रचण्ड अत्तालिईसकेका थिए। त्यसैले त्यो बेला ‘काठमाडौं’ जस्तो ‘रणनैतिक’ र महत्वपूर्ण क्षेत्रको कमाण्ड सम्हाल्न पुनलाई जिम्मेवारी दिए।

चन्दलाई भने ‘सेती–महाकाली’मै सीमित पारियो। चन्दको छटपटि अझैँ बढ्दै थियो। बेचैनीले प्रचण्डमाथि प्रतिशोध कोरलिरहेको थियो।

त्यो बेला प्रचण्ड आफैले भनेका थिए ‘अबको बैचारिक लडाईँ चन्दसँगै हुन्छ।’ युद्धका क्रममा प्रचण्ड आफैले चन्दलाई ‘अबको उत्ताराधिकारी’ भनेर ठट्ठा पनि गर्थे।

जनआन्दोलन सफल भयो। माओवादी जंगलबाट निस्कियो। दसवर्षको रक्तपातलाई बिसाएर माओवादी काठमाडौं उत्रिइसकेको थियो।

जंगलपछि काठमाडौंँ भित्रिइसकेको माओवादी इतिहासमा शान्ति प्रक्रियासँगै बालाजु बैठक एउटा ‘टर्निङ’ प्वाइन्ट बन्यो।

त्यो बैठक सञ्चालन गर्ने जिम्मेवारी चन्दलाई थियो। त्यो बैठकमा सायद अरु नेताभन्दा ‘उद्घोषण’ गर्ने निहुँमा चन्दले नै बढी भाषण दिएका थिए।

‘प्रचण्ड–प्रतिशोध’को त्यो भाषणबाट प्रचण्ड–बाबुरामलाई जनयुद्धका ‘गद्दार’ ठान्ने नेता कार्यकर्ता चन्दको पक्षमा हुरुक्कै भए।
साथमा, बैद्य, बादल पनि थिए। त्यही बैठकबाटै प्रचण्डले चन्दलाई कारबाही गर्ने प्रस्ताव गरेका थिए। तर, चन्दका ‘सारथी’ बादलले त्यो कारबाहीलाई अघि बढ्न दिएनन् र, विप्लवलाई बचाए।

चन्दकै नेतृत्वमा माओवादीभित्र प्रचण्डविरोधी मोर्चा विस्तारै बलियो हुँदै थियो।

संविधानसभाको पहिलो निर्वाचन घोषणा भयो। तर, यो मोर्चाले विरोध गर्‍यो। चन्दकै भाषामा ‘आत्मसमर्पण’वादी प्रचण्ड कित्ताले जनयुद्धमाथि ‘घात’ गरेका थिए।

प्रचण्डले उनलाई धेरै फकाए। तर, उनीहरू मानेनन्। समानुपतिकमा सांसद बनाउने बाचा गरे प्रचण्डले तर, चन्द, शक्ति बस्नेतलगायत ११ नेताहरूले कुनै हालतमा मानेनन्।

तै पनि संविधानसभा चुनाव भयो। चुनावमा माओवादीको बहुमत आयो।

लगत्तै प्रचण्डले शक्ति बस्नेतलाई आफ्नो स्वकीय सचिब बनाए। चन्द ‘ग्याङ’को एउटा हाँगो चुँडियो। प्रचण्ड कदम चन्दका लागि ठूलै ‘झड्का’ थियो।

तथपि चन्द डगमगाएनन्। किनकि बैद्य उनको साथमा थिए। यद्यपि प्रचण्ड अझै पनि बैद्यलाई आफ्नो राजनीतिक गुरु मान्छन्। सत्य यही हो कि, बैद्यकै काँधमा टेकेर पुष्पकमल दाहाल प्रचण्ड भएका हुन।

बाबुराम भट्टराई प्रधानमन्त्री भए। नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भए र ‘बादल’ जनसेना प्रमुख भए।

चन्दका लागि यो अर्काे एउटा ‘प्रचण्ड–दनक’ थियो।

त्यसपछि माओवादीले राष्ट्रिय भेला आह्वान गर्‍यो। माओवादीको त्यो बेला ३५ सदस्यीय केन्द्रीय कमिटी थियो। त्यसबेला ‘बादल’ मौन बसे। ३५मध्ये आधाआधा केन्द्रीय सदस्य विभाजित भए।

त्यो बेला प्रचण्ड आफैले भनेका थिए ‘अबको बैचारिक लडाईँ चन्दसँगै हुन्छ।’ युद्धका क्रममा प्रचण्ड आफैले चन्दलाई ‘अबको उत्ताराधिकारी’ भनेर ठट्ठा पनि गर्थे।

कालान्तरमा त्यो ‘प्रचण्ड ठट्टा’ विप्लवको महत्वाकांक्षा बनिसकेको थियो।

त्यहीबेलै चन्दले प्रचण्डलाई भनेका थिए ‘प्रचण्डजी तपाइले हामीलाई काठमाडौ लिएर त, आउनुभयो तर, मलाई त नुवाकोटकी एउटी भर्खरकी युवतिलाई काठमाडौँ ल्याएर बिहे गर्छु भनेर बम्बई पुर्‍याएको जस्तै फिल भयो।’

यसको जवाफ केही दिनअघि मात्रै प्रचण्डले चितवनको एउटा कार्यक्रममा फर्काउँदै भने ‘मैले बम्बै होइन, काठमाडौँमै ल्याएको हुँ भनेर अहिले विप्लवजीलाई फिल भएको छ। त्यो कुरा बुझ्नको लागि उहाँलाई केही न केही गर्नुथियो। गरिसक्नुभयो। अब धेरै नगर्नुस्।’

त्यहीबीचमा प्रचण्डले बाबुरामलाई प्रधानमन्त्रीबाट अपदस्थ गरे। सर्वाेच्चका न्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाए।

त्यसपछि संविधानसभाको दोस्रो चुनाव घोषणा भयो। त्योभन्दा अघि २०६९ सालमा बौद्धमा एउटा भेला गरेर बैद्यले नयाँ पार्टी घोषणा गरिसकेका थिए। बैद्यका महासचिब बादल थिए।

प्रचण्डको प्रतिशोध साँध्नका लागि वैद्यको विखण्डिकरण ‘विप्लव–अभीष्ट’को एउटा जित थियो।

बैद्य नेतृत्वले चुनाव बहिष्कार गर्‍यो। यद्यपि बैद्यले ‘शान्तिपूर्ण बहिष्कार’ भनेका थिए। तर, ‘युद्धको ह्याङओभर’ बोकेका विप्लव समर्थक कार्यकर्ताले चुनावका बेला ‘बम आतंक’ खुब मच्चाए। तथापि संविधानसभाको निर्वाचन ‘उत्साहजनक’ भयो।

२०७१ सालसम्म आइपुग्दा ‘बैद्य–विप्लव’को अन्तद्र्वन्द्वले सीमा नाघिसकेको थियो। त्यही बीचमा भएको बैद्य नेतृत्वको नेकपा माओवादीको केन्द्रीय बैठकमा तनावको स्थिति सिर्जना भयो।

विप्लवका प्रतिनिधि बनेर खड्गबहादुर विश्वकर्माले बैठकमा भिन्न मत प्रस्तुत गरे।

बैद्यले विप्लवलाई ‘गुटबन्दी’को आरोपमा कारबाही गर्न खोजे। लिखित स्पष्टीकरण मागियो।

विप्लवले बैद्य र बादलले आत्मालोचना गर्नुपर्ने अडान राखे। फेरि पार्टीको विस्तारित बैठक बस्यो।

र, त्यसको सातादिन भित्रै विप्लव नेतृत्वको एउटा भेला चितवनको एउटा गाउँमा भयो। तीन दिनसम्म चलेको त्यो भेलाले ‘एकीकृत जनक्रान्ति’को घोषणा गर्‍यो।

अनि भेलाका निर्णयहरू सार्वजनिक गर्न र, नयाँ पार्टीको घोषणा लिएर त्यसको केही दिनपछि विप्लव राष्ट्रिय नाचघरमा सार्वजनिक भए।

त्यहाँ उनको प्रवेश ‘जनयुद्ध’को झल्कोभन्दा कम्ती थिएन। कम्ब्याट लगाएका ‘जनसेना’ले उनलाई तीन घेरामा सुरक्षा दिएर मञ्चमा पुर्‍याएका थिए।

त्यहीँबाट विप्लवको ‘भूमिगत’ जीवनको दोस्रो इनिङ सुरु भएको थियो। यद्यपि उनले आफू र आफ्नो पार्टीलाई अर्धभूमिगत भन्थे।
त्यो भेलामा असन्तुष्ट जनसेना, घाइते र अपाङ्ग जनसेना, कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।

‘हतियारको लडाईँ सकिएको छैन’ भन्ने लडाकुहरूको दस्ता थियो। एउटा तीतो वास्तविकता के थियो भने विप्लवको समूहमा ‘युद्धका बेला चन्दा उठाएर धनी भएका’ माओवादी कार्यकर्ताको व्यापकता थियो। त्यो अहिले पनि छ।

सहर पसेर नेताहरूले क्रान्ति बिर्सिएको, कार्यकर्तालाई यता न उता पारिएको अनुभव गर्दै धेरै माओवादी कार्यकर्तामा असन्तुष्टि थियो।

अनि सहरिया जीवनशैलीमा नेताहरूको मोजमस्ती र आफूहरूको उही ‘पुरातन’ जिन्दगीको पुनरागमनले पार्टीको तल्लो स्तरमा व्यापक नैराश्यता थियो।

यिनै ‘असन्तुष्टि’, ‘नैराश्यता’ अनि प्रचण्डप्रतिको ‘झोंक’ नै विप्लवका बलिया हतियार बने।

यो राजनीतिक अन्योलकै बीचमा बादलले पनि बैद्यलाई छोडे। अनि एक हुल मान्छे लिएर उनी फेरि ‘प्रचण्ड’ क्याम्पमै फर्किए। ‘विप्लव–धोका’को यो एउटा चोटिलो तोड थियो, बादललाई।

विप्लवलाई ‘जिस्क्याउँदै’ सरकार

गत फागुन २४ गते ‘उग्र मधेशवादी’ सिके राउतसँग सरकारले ११ बुँदे सम्झौता गर्‍यो। यो सम्झौता र सिके राउतलाई सार्वजनिक गर्नका लागि सरकारले नै एउटा विशेष सभा गर्‍यो।

त्यही सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई ‘प्रचण्ड जत्तिकै नेता’ भनेर फुरुङ्ग पारे। र, सँग विप्लवको चर्को आलोचना गरे।

फागुन २८ गते सरकारले विप्लवमाथि ‘राजनीतिक प्रतिवन्ध’ घोषणा गर्‍यो। सुरक्षा निकायले विप्लवका मान्छेलाई ‘जहाँ भेट्यो त्यहीँ समाउन’ निर्देशन जारी गर्‍यो।

त्यसअघि फागुन १० गते विप्लव माओवादीले नख्खुस्थित एनसेल कार्यालयमा विष्फोट गराएको थियो। त्यो घटनामा एकजना आम नागरिकको मृत्यु भयो।

त्यसपछि प्रचण्डले विप्लवले ‘आफूलाई मार्ने’ योजना बनाएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

यद्यपि विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्न भनेर सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा एउटा ‘राजनीतिक वार्ता टोली’ पनि बनायो।

तर, सिके राउतलाई सम्झौता गराउनुबाहेक यसले अरु कुनै पनि देखिने काम गरेन।

विप्लवलाई त झन् औपचारिक पत्राचार नै गरिएको छैन। ‘हामीलाई थाहा भएसम्म सरकारका तर्फबाट औचारिकरुपमा वार्ताको प्रस्ताव आएकै छैन’ नेकपा ‘विप्लव’का एकजना पोलिटब्यूरो सदस्यले नेपालन्युजसँग भने ‘वार्तामा त हामी जहिले पनि छौँ नि।’

सरकार एकातिर वार्तामा आऊ भनिरहेको छ तर, सँगै उसका गतिविधिलाई राजनीतिक प्रतिबन्ध पनि लगाइरहेको छ। वार्तामा बोलाएर सरकारले विप्लवलाई राजनीतिक ‘स्पेस’ त दिन खोजिरहेको छ नै तर, सँगै ‘अपराधी’लाई जस्तै ‘वारेन्ट’ पनि जारी गर्दैछ।
विप्लवका विषयमा टिप्पणी गर्दा प्रधानमन्त्री ओली निकै तिखा शब्द प्रयोग गर्छन्। बिहीबारमात्रै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि विप्लवलाई ‘फाँसीवादी र अपराधिक संगठन’ भने।

‘विप्लव समूह क्रान्तिकारी होइन प्रतिकान्तिकारी हो, समाजवादी होइन फासीवादी हो,’ बाँस्कोटाले भने, ‘राजनीतिक होइन आपराधिक हो।’

फागुन २८पछिमात्रै प्रहरीसँगको ‘मूठभेड’का नाममा दुई विप्लव नेतृत्वका दुई नेता मारिइसकेका छन्। एक साताअघि मात्रै सर्लाहीमा ‘मूठभेड’भन्दै विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिए। र, यो बीचमा ५ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेका छन्।

तर, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार सञ्चारकर्मीसँग भने ‘प्रहरीबाट आफ्ना काम भइरहँदा, एक–दुईजना मर्नु सामान्य हो।’

यो हत्याको अहिले देशभर विरोध भइरहेको छ भने विप्लवलाई लगाईको प्रतिबन्ध उचित छैन भन्ने आवाज पनि तीब्र भइरहेका छन्। सांसद जनार्दन शर्मालगायत कैयौ नेकपाकै नेताहरूले सरकारको आलोचना गरिरहेका छन्।

के फेरि विप्लवले शसस्त्र युद्ध गर्लान्?

विप्लव अब फेरि त्यस्तै ‘दस वर्षे’ युद्ध गर्ने मनसायमा छैनन्।

यद्यपि ‘एकीकृत क्रान्ति’ र ‘वैज्ञानिक समाजवाद’लाई मुख्य लक्ष्य बनाएको यो समूह ‘हिंसाबिना क्रान्ति हुँदैन’ भन्ने राजनीतिक दर्शनले ओतप्रोत भएको ‘ग्याङ’ हो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यसअघि संसदमै भनेका थिए ‘विप्लवसँग चार कम्पनी सेना र अत्याधुनिक हतियार छन्।’
‘फेरि त्यो दस वर्षको जस्तो युद्ध त हुँदैन, कोही पनि डराउनुपर्दैन’ नेपालन्युजको सम्पर्कमा आएका विप्लव समूहका एकजना पोलिटब्यूरो सदस्यले भने ‘तर, यो फासीवादी सरकारले निहत्था मान्छे मारेर जबर्जस्ती देशलाई युद्धतिर धकेल्दैछ। सारा जनतालाई थाहा छ, युद्ध हामीले होइन, प्रचण्ड, केपी र बादलहरूले चाहिरहेका छन्।’

उनका अनुसार व्यक्तिहत्या सरकार आफैँले सुरु गरेर दोष भने विप्लवलाई दिँदैछ।

तर, विष्फोटका शृङ्खलालाई तीव्रता दिएर निर्दाेष मानिस मार्ने र घाइते बनाउने काम विप्लव पनि गरिरहेका छन्। र, कतिपय विष्फोटको जिम्मेवारी पनि उनले लिइसकेका छन्।

‘मान्छे त, उनीहरूले पनि मारिरहेका छन् नि, देशमा यस्तो अवस्था आएपछि राज्यले पनि एक्सन त लिनैपर्छ’ सत्ताधारी नेकपाका नेता तथा सांसद हरिबोल गजुरेलले नेपालन्युजसँग भने ‘देशमा हिंसा बढ्न थालेपछि टुलुटुलु हेरेर बस्ने कुरा भएन, कि भने कुर्सी छोड्नुपर्‍यो।’

विप्लव मिलाउने प्रेस्क्रीप्सन

गजुरेलकै भनाईमा वार्ताबाहेक अर्काे उपाय त केही पनि छैन। उनीहरू(विप्लव)लाई सम्झाउनुपर्छ र, संवादबाटै शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ।

‘परिस्थिति उहाँहरू(विप्लव)कै पनि पक्षमा छैन’ गजुरेल भन्छन् ‘वार्तामा नआई त कसरी हुन्छ र?’

उनका अनुसार सरकार पनि संयमित हुनैपर्छ र विप्लव पनि। तर, सरकारले पार्टीसँग छलफल नै नगरेर आफूखुसी निर्णय गर्दै जानुलाई बिडम्बना मान्छन् उनी।

‘विप्लवलाई प्रतिवन्ध लगाउँदा पनि पार्टीमा छलफल भएन, प्रधानमन्त्री, गृहमन्त्रीहरूले आफैँ निर्णय गर्नुभयो। यस्तो कुरामा त छलफल हुनुपर्ने थियो’ गजुरेलको गुनासो छ ‘सिके रावतलाई सम्झौतामा ल्याउँदा प्रधानमन्त्री नरम हुनुपर्ने थिया,े उल्टै विप्लवलाई तथानाम गालीगलौज गर्नुभयो। यस्तो गर्नुहुन्न।’


‘सत्तापक्षले हामीलाई औपचारिक रुपमा वार्तामा बोलाएको थाहा छैन’ नेपालन्युजको सम्पर्कमा आएका विप्लवका ती पोलिटब्यूरो सदस्यले भने ‘फेरि हामी त सधै वार्तामै छौँ, वार्ताहरूबाट धोका खाएरै हामीले यो बाटो समाएको हो।

संसदमा गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेल प्रहरी मूठभेडमै मारिएको भनेर जवाफ दिए। तर, यो त बादलको ‘सत्तात्मक बाध्यता’ थियो। गजुरेल पनि मान्दैनन् ‘त्यो मुठभेड थिएन, राज्यले त्यस्तो गर्नुहुन्न, राज्य पनि विधिविधानमा त बस्नुपर्छ।’

विप्लवको एउटै राजनीतिक अभीष्ट छ ‘संसदीय व्यवस्थाको अन्त्य।’ अनि उद्देश्य छ ‘वैज्ञानिक समाजवादी व्यवस्था।’ त्यसका लागि ‘एकीकृत जनक्रान्ति’को लक्ष्य छ।

सारमा ‘विप्लव’का राजनीतिक एजेन्डा यिनै हुन्। राजनीतिको एउटा ‘दर्शन’मा यी ‘सारगर्वित’ र ‘गहकिला’ ‘वाद’ हुन्। तर, आम बुझाइमा यी अमूर्त लाग्छन्।

‘यो क्रान्ति त उहाँहरूसँगै हामीले गरिसक्यौ नि। अब न जनता फेरि अर्काे युद्ध स्वीकार्न सक्छ न त राज्य नै थेग्नसक्छ, विप्लवजीहरू त यो भएको उपलब्धी पनि मास्न खोज्दै हुनुहुन्छ’ गजुरेल भन्छन् ‘समाजवादको अभ्यास त हामीले थालिसकेका छौँ, आउनुस् सँगै मिलेर यसलाई अघि बढाऔँ नत्र, तपाईँहरूको गतिविधिले त प्रतिक्रियावादीलाई नै फाइदा हुने हो।’

गजुरेल सिधै भन्छन् ‘क्रान्ति त भइसक्यो नि, एउटै क्रान्ति नि कतिपटक गर्ने?’

तर, विप्लवको तर्क छ ‘हैन, समाजवादको नाममा दलाल पूँजीवादीहरूले शासन गरिरहेका छन्।’

अब के गर्ने त?

प्रचण्ड समूहबाट विप्लवसँगै छुट्टिएका उनीहरूका ‘राजनीतिक गुरु’ मोहन बैद्य किरणले नेपालन्युजसँग भने ‘सबैभन्दा पहिले सरकारले विप्लवमाथिको प्रतिवन्ध हटाउनुपर्छ, अनि विप्लवजीहरू पनि वार्तामा आउनुपर्छ।’

बैद्य पनि फेरि उस्तै हिंसा र हतियार उठाएर क्रान्ति गर्ने सपना देख्दैनन्। ‘सरकार फासीवादतिर जाँदैछ, व्यक्तिहत्याको काम बन्द हुनुपर्छ’ वैद्य भन्छन् ‘विप्लवजीहरू पनि गलत बाटोमा जाँदै हुनुहुन्छ। युद्धको भ्रम मात्रै हो, यो फेरि अब हुनसक्ने स्थिति छैन।’
बैद्य त विप्लवलाई राजनीतिक शक्तिकै मान्यता दिएर सरकारले तत्काल वार्तामा बोलाउनुपर्ने बताउँछन्।

वार्तामा आउलान् त विप्लव?

अहिलेकै अवस्थामा त यो सम्भव छैन। किनकि सरकारले औपचारिक रुपमा वार्ताको आह्वान गरेकै छैन।

‘सत्तापक्षले हामीलाई औपचारिक रुपमा वार्तामा बोलाएको थाहा छैन’ नेपालन्युजको सम्पर्कमा आएका विप्लवका ती पोलिटब्यूरो सदस्यले भने ‘फेरि हामी त सधै वार्तामै छौँ, वार्ताहरूबाट धोका खाएरै हामीले यो बाटो समाएको हो।

‘विश्वव्यापी रुपमा र नेपालमा पनि, यो वार्ता भन्ने कुरा शासकहरूको रणनीतिक चालबाजी मात्रै हो’ ती केन्द्रीय सदस्य भन्छन् ‘हामी सधै वार्ताकै पक्षमा छौँ, हामीले सधै भन्दै आएका छौँ कि वार्ता र संवादका लागि हामी सधैँ तयार छौँ, वार्ताहीन क्रान्ति त हुँदै हुन्न।’

गजुरेलका अनुसार सरकारले वार्ताको तयारी गरिरहेको छ। बिहीबार मात्रै गजुरेलले सरकारी वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेलाई पनि भेटेका थिए। ‘भेटमा उहाँले पनि तयारी भइरहेको बताउनुभएको थियो। वार्ता नै हो, यो बाहेक अरु के नै हुन्छ र?’

Source: Nepalnews

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement