विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। बिहीबार विहान प्रधानमन्त्री ओलीले काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदुतहरुलाई सचेत गराउनु भयो । त्यसैगरी उनले नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदुतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री ओलीले अवैतनिक महावाणिज्यदुतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंशा गरेका थिए।
नेपालले हाल १ सय ६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ। त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदुतावासको व्यवस्था गरेको छ भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदुतहरुको व्यवस्था गरेको छ। ती महावाणिज्य दुतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयाजना गरिएको हो। सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्रयाउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















