0Shares

भरतपुर ०५ असोज। फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको वर्तमान अवस्था, सहकारी क्षेत्रमा देखिएका चुनौती, सदस्यको आर्थिक हित तथा सामाजिक उत्तरदायित्वका विषयमा वक्ताहरूले धारणा राखेका छन् ।
साधारणसभामा शेयर सदस्य यमप्रसाद घिमिरेले साना व्यवसायीको हित र आर्थिक उन्नतिका लागि सहकारी स्थापना भएको बताउँदै संस्था आर्थिकसँगै सामाजिक रूपमा पनि अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले व्यवसायीहरूको सानो–सानो पुँजी संकलन गरी स्थापना भएको संस्था सदस्य र समुदायको साझा संस्थाका रूपमा स्थापित हुनुपर्ने धारणा राखेका थिए ।

 

फेन्सी व्यवसायीको हितलाई केन्द्रमा राखेर स्थापना भएको संस्थामा हालसंस्था २०६८ साल फागुन ११ गते स्थापना हुदाँ ५१ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल १ हजार ६ सय ३८ जना शेयर सदस्य रहेको जानकारी सो अवसरमा दिईएको थियो ।

संस्थाका पूर्वअध्यक्ष मेघराज कडेलले फेन्सी व्यवसायीलाई आर्थिक रूपमा मजबुत बनाउने उद्देश्यले संस्था स्थापना गरिएको स्मरण गर्दै पछिल्लो समय सहकारी क्षेत्रमा विभिन्न समस्या देखिएको बताए। सहकारी संस्थामाथि नियामक निकायको निगरानी तथा सरकारी कडाइ बढ्दै गएको अवस्थामा संस्थाले आफ्नो वित्तीय अनुशासन र तरलतालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

साधारणसभाका विशिष्ट अतिथि फेन्सी संघका अध्यक्ष रामप्रसाद पौडेलले सहकारी स्थापना गर्नुको मूल उद्देश्य व्यवसायीलाई आत्मनिर्भर बनाउनु रहेको बताए। उनले व्यवसायीको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले स्थापना भएको सहकारी पछिल्लो समय विभिन्न सरकारी नीति तथा सहकारी क्षेत्रका चुनौतीका कारण कठिन अवस्थामा रहेको उल्लेख गरे।

 

पौडेलले सदस्यहरूलाई सहकारीसँग नियमित कारोबार गर्न र ऋण लिँदा असल ऋणीको भूमिका निर्वाह गर्न आग्रह गरे। व्यवसायीको सफलताका लागि सहकारी र सदस्यबीचको सम्बन्ध थप मजबुत हुनुपर्नेमा उनले जोड दिए। उनले सहकारीका परिकल्पनाकार स्वर्गीय विजयप्रकाश तण्डुकारलाई पनि स्मरण गरे।
कार्यक्रममा सहकारी प्रशिक्षक तथा प्रदेश सहकारी संस्थाका सल्लाहकार तेजेन्द्रबहादुर खड्काले फेन्सी बचत तथा ऋण सहकारीले सहकारी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। करिब ६८ करोड रुपैयाँ पुँजी भएको सहकारीका रूपमा संस्थाले हासिल गरेको प्रगति महत्वपूर्ण रहेको उनको भनाइ थियो।
खड्काले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे चर्चा गर्दै सहकारी ऐन, नियामकीय व्यवस्था र वित्तीय अनुशासनलाई गम्भीर रूपमा पालना गर्नुपर्ने बताए। उनका अनुसार प्राकृतिक विपत्तिका कारण समेत केही सहकारी प्रभावित भएको उल्लेख गर्दै सदस्यको रकम हिनामिना भएका घटनाले समग्र सहकारी क्षेत्रप्रति चुनौती थपिएको बताए ।


उनले बचत तथा ऋण कारोबारमा नियामक निकायले तोकेका मापदण्ड पालना गर्न, प्राथमिक पुँजी कोषलाई मजबुत बनाउन तथा जोखिमरहित ढंगले ऋण लगानी गर्न सहकारीलाई सुझाव दिए। सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, सदस्यको कारोबारको निगरानी तथा दोहोरो सदस्यतासम्बन्धी कानुनी व्यवस्थाबारे पनि उनले जानकारी गराएका थिए ।

खड्काले अहिले सहकारी क्षेत्रको प्रमुख चुनौती ऋण लगानी र सुरक्षित लगानीको वातावरण निर्माण गर्नु रहेको बताउदै नियामकीय व्यवस्थाअनुसार ब्याजदर तथा बचत–ऋण कारोबारका सीमा पालना गर्दै सहकारीले लगानी आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहकारीले नियमित बचत, वित्तीय अनुशासन र प्रावधानअनुसारको व्यवस्था गरेको उल्लेख गर्दै आगामी दिनमा सुरक्षित तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने सुझावसमेत दिइएको थियो।


साधारणसभाका वक्ताहरूले सहकारीलाई केवल आर्थिक कारोबार गर्ने संस्थाका रूपमा नभई सदस्य र समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने साझा संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। साधारण सभामा सहकारी अध्यक्ष पदम बहादुर केसीको अध्यक्षता रहेको थियो भने लेखा सुपरीवेक्षण समितिका अध्यक्ष भोजेन्द्र पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement