2Shares

काठमाडौँ — सशस्त्र विद्रोहका क्रममा मारिएका १७ हजारको जिम्मा आफूले नलिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राज्य पक्षबाट १२ हजार र तत्कालीन माओवादीबाट ५ हजारको ज्यान गएको दाबी गर्दै दाहालले भने, ‘म ती ५ हजारको मात्र जिम्मा लिन्छु ।’

काठमाडौंमा बुधबार आयोजित थारू राष्ट्रिय माघी महोत्सवमा दाहालले विद्रोही पक्षबाट मारिएकाको जिम्मा लिने तर राज्यपक्षबाट मारिएकाको जिम्मा कसले लिने हो भनेर प्रश्न गरेका थिए। ‘लाई बाहिर पनि भन्ने गरिन्छ कि मैले १७ हजार मान्छेलाई मारेर आएको हो । यो तथ्यांक सत्य होइन,’ उनले भने, ‘हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन।

विद्रोही माओवादीका अध्यक्षसमेत रहेका दाहालले थपे, ‘युद्धको म जिम्मा लिन्छु। राम्रा र नराम्रा कामको म जिम्मा लिन्छु। म भाग्नेवाला छैन। तर, मैलाई सबै भारी बोकाउनु हुँदैन।

त्यतिबेलाको उत्पीडित जाति, क्षेत्र र पहिचानको नेतृत्व आफूले गरेकाले प्रश्न उठ्नुलाई स्वाभाविक रूपमा लिएको दाहालको भनाइ थियो। पछिल्लोपटक प्रदेश ३ को नाम बागमती राखिएकोमा केही जातिय संघ संस्थाले उनीमाथि विगतका एजेन्डा त्यागेको भनेर प्रश्न उठाएका थिए। जुन कुरा आजको कार्यक्रममा पनि उठेका थिए।

रेशमलाई छुटाइन्छ

दाहालले राजपाका सांसद रेशम चौधरीलाई जेलमुक्त गरिने पनि सम्बोधनको क्रममा बताए। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसामा प्रहरी अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो। जसमा चौधरीको संलग्नता रहेको भन्दै उनलाई अदालतले जेल पठाएको छ। उनको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन छ।

दाहालले भने चौधरीलाई झुटो मुद्दा लगाइएको बताए। उनले भने, ‘रेशमलाई प्रधानमन्त्रीको हैसियतले दिल्लीमा भेटेर तपाईंको कुरा के-के थियो भन्ने म थिएँ। डिल्लीबजारको खोरमा गएर भेट्ने पनि मै हो 

कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीलाई शपथ गराउन आफूले भूमिका खेलेको दाहालको भनाइ थियो। ‘सभामुख र सरकारलाई भनेर शपथ ग्रहण गराउनुपर्छ भन्ने तथा पार्टीलाई भनेर माननीयको हैसियत दिनुपर्छ भन्ने मै हो,’ दाहालले थपे, ‘झुटा मुद्दा फिर्ता गर्नुपर्छ भनेर मैले भनेको छु । टीकापुरका केहीलाई छुटाएको छ। रेशमलगायत बाँकीलाई पनि छुटाइन्छ हेर्नुहोला 

माओवादीमा मिसिएका सेनालाई जेल हालेकोमा आपत्ति

दाहालले द्वन्द्वको क्रममा तत्कालीन शाही नेपाली सेना त्यागेर विद्रोही माओवादीको जनमुक्ति सेनामा प्रवेश गर्नेहरूलाई हालै आएर कोर्ट मार्सल गरी जेल चलान गरेकोमा आपत्ति जनाए।

सेना परित्याग गरेर माओवादी सेनामा सहभागी भएका गोरखाका विक्रम गुरुङलाई साउन महिनामा जेल चलान गरिएको थियो भने मोरङका सुनिलकुमार भगतलाई पनि भगौडा सेनाका रूपमा जेल चलान गरिएको थियो। दाहालले आफूसँग लागेका उनीहरूको पक्राउ ठीक नभएको बताए।

सेनाबाट जनमुक्ति सेनामा आएका मान्छेलाई केही पहिलेमात्रै पक्राउ गरेर जेल हालिएको छ। उनीहरूलाई छुटाउन मेरो आन्दोलन जारी छ,’ दाहालले भने। समस्या समाधान गर्नका लागि सधै संवाद र आन्दोलनको बाटो अपनाउनुपर्ने उनको भनाइ थियो।

Source: Kantipur

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement