ज्योतिनगर । भरतपुर महानगरपालिका वडा नम्बर २६, ज्योतिनगरमा रहेको युवा मावि ज्योति जूनेली धर्मचोकमा लगाउन लागिएको धनधान्याचल महायज्ञको प्रचारप्रसारका लागि शनिवार वृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षा सञ्चालनार्थ यही माघ ५ देखि १३ गतेसम्म श्रीमद्भागवत, माहापुराण धनधान्याचल ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव–२०७६ आयोजना गर्न लागिएको हो ।
महायज्ञमा पं श्री बालकृष्ण अर्यालले कथावाचन गर्नेछन् । महायज्ञ युवा माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ । महायज्ञमा १ हजार १ सय ११ ओटा शालिग्राम दर्शन गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा आयोजक मूल समितिका संयोजक नारायणप्रसाद ढकालले बताए ।
विद्यालयका प्रधानाध्यापक रामनाथ घिमिरेका अनुसार युवा माविमा कक्षा ११ र १२ का साथै कक्षा ९ देखि प्राविधिक शिक्षा सञ्चालन गर्न, विद्यालयको भौतिक पूर्वाधार विकासका निम्ति जग्गा खरिद र क्यान्टिन निर्माण, जीर्ण भवनको पुनर्निर्माणका निम्ति महायज्ञ लगाउन लागिएको हो ।
यसका साथै नगद दान, महादान, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलशयात्रा, तुलादान, ज्येष्ठ नागरिक सम्मान, कन्या पूजन, चौरासी पूजा, सामूहिक व्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती, योग शिविर तथा राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकीर्तनलगायतका कार्यक्रमहरु सञ्चालन गरिने आयोजक मूल समितिका संयोजकसमेत रहेका भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले बताए । धनधान्याचल महायज्ञमा ४ करोड उठाउने लक्ष्य लिइएको उनले बताए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















