0Shares

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई त्यहाँको विशेष अदालतले देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। उच्च अदालतका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासले मंगलबार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।

पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वका अहमल सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिमको बेन्चले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

मुशर्रफले सन् २००७ नोभेम्बर ३ तारिखमा संविधानलाई लत्याउँदै पाकिस्तानमा संकटकाल घोषणा गरेका थिए । यही मुद्दा सन् २०१३ को डिसेम्बरदेखि विचाराधीन अवस्थामा रहेको थियो ।

के थियो घटना ?

इस्लामावादमा रहेको विशेष अदालतले सन् २०१४, ३१ मार्चमा देशद्रोहको मामिलामा पूर्वराष्ट्रपति मुशर्रफलाई अभियुक्त बनाएको थियो ।पाकिस्तानी राजनीतिक इतिहासमा मुशर्रफ पहिलो व्यक्ति हुन्, जोविरुद्ध संविधानको अवहेलनाको मुद्दा चल्यो ।

सन् २०१३ को चुनावमा जितपछि पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन) पाकिस्तानको सरकारमा आयो । पीएमएलएन सरकारमा आएसँगै पूर्वसैनिक प्रमुख तथा पूर्वराष्ट्रपति मुशर्रफमाथि संविधानको अवहेलनाको मुद्दा दायर गरिएको थियो ।

मुशर्रफमाथि गम्भीर देशद्रोहको मामिला सुनुवाइ गर्ने अदालतका चार प्रमुख पनि परिवर्तन भएका थिए ।

मुशर्रफ एकपटक मात्र अदालतमा उपस्थित भएका थिए । त्यसपछि उनी कहिल्यै अदालतमा उपस्थित भएनन् ।

पाकिस्तानमा उनीविरुद्ध मुद्दा चलिरहादा स्वास्थ्यमा समस्या भएको भन्दै मुशर्रफ विदेश गएका थिए । तत्कालीन सत्तारुढ दल मुस्लिम लिग (नून) ले एक्जिट कन्ट्र्ला लिस्टबाट उनको नाम हटाएको थियो । त्यसपछि उनलाई पाकिस्तान छाड्ने अनुमति दिइएको थियो ।

मुशर्रफको राजनीतिक यात्रा

जनरल परवेज मुशर्रफले सन् १९९९ को अक्टोबरमा सैन्य विद्रोह गर्दै पाकिस्तानको सत्ता हातमा लिएको थियो ।

सन् २००१ को जुनमा सैन्य प्रमुख रहँदै मुशर्रफले आफूलाई पाकिस्तानको राष्ट्रपति घोषणा गरेका थिए ।

सन् २००२ को अप्रिलमा एउटा विवादास्पद जनमत संग्रह गर्दै मुशर्रफ पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए ।

सन् २००७ को अक्टोबर–नोभेम्बरमा मुशर्रफले पुनः चुनाव जिते । तर उनले गराएको चुनाव असंवैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि उनले पाकिस्तानमा संकटकाल लागू गरे । मुख्य न्यायाधीश इफ्तिखार चौधरीलाई हटाउँदै उनले नयाँ न्यायाधीश नियुक्त गरे । नयाँ न्यायाधीशले मुशर्रफले गराएको चुनावलाई संवैधानिक करार दिए ।

सन् २००८ को अगस्टमा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए । दुई सत्तारुढ पार्टीले उनीमाथि महाअभियोग लगाउने सहमति गरेपछि उनले राष्ट्रपतिबाट राजीनामा दिएका थिए ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement