0Shares
एक दशक अगाडिसम्म नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य बनाएका अभिनेता राजेश हमाल गएको तीन वर्षदेखि फिल्मबाट निस्क्रिय जस्तै छन् । उनले निकै आशा गरेका पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ ले व्यापारिक सफलता हात पार्न असफल भएपछि उनी अभिनयमा फर्किएका छैनन् । न त उनी तत्काल फिल्म गर्ने मनस्थितिमा नै छन् । अफर आएका सबै फिल्म रिजेक्ट गरिरहेका छन् ।
हालै टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति ?’ सकाएका उनी फेरि देश तथा विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त हुन थालेका छन् । केही वर्षयता उनी आफैंले फिल्म निर्माण र निर्देशन गर्ने चर्चा पनि चलिरहेको छ । उनले पटक-पटक आफू स्क्रिप्टमा बसिरहेको बताउँदै आएका छन् । तर, अहिलेसम्म फिल्मको काम स्क्रिप्ट लेखनभन्दा अगाडि बढ्न सकेको छैन ।
हालसालै उनलाई चर्चित सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टमा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाका लागि अफर गरिएको थियो । निर्माता सन्तोष सेन र अभिनेता खड्कासँग हमालले तीन चरणमा वार्ता पनि गरे । तर, फिल्मको स्क्रिप्ट राम्रो लाग्दालाग्दै पनि उनले गरेनन् । समय व्यस्तताका कारण हमालले फिल्म गर्न नसकेको निर्माता सेनले बताएका थिए । तर, यस विषयमा हमाल मौन थिए ।
अन्ततः अभिनेता राजेश हमालले ‘प्रेमगीत ३’ गर्न नसक्नुको कारण खुलाएका छन् । एक अन्तर्वार्तामा उनले आफ्नो समय व्यस्तता नै फिल्म गर्न नसक्नुको कारण बताए । हमाल भन्छन्, ‘हाम्रो तीन पटकसम्म भेट भएको थियो । मलाई फिल्मको स्क्रिप्ट राम्रो लाग्यो । तर, मैले उहाँहरुलाई फिल्मको छायांकन सुरु हुने बेला मेरो समय नमिल्ला कि भनेको थिएँ । किनकि, आजभोली मैले फिल्म नगरे पनि व्यस्तता झनै बढेको छ ।’
आफ्नो कारणले फिल्मलाई असर नगरोस् भन्ने लागेर ‘प्रेमगीत ३’ छाडेको उनले बताए । उनले आफूले पिताको रोल भएका कारण फिल्म छाडेको चर्चाको पनि खण्डन गरे । ‘एउटा कलाकारका लागि भूमिकाले अर्थ राख्दैन । हो, आफ्नो भूमिका कति शक्तिशाली छ भन्ने चाहिँ हुन्छ तर यो गर्ने त्यो नगर्ने भन्ने चाहिँ हुँदैन । मैले पिताको भूमिका भएकै कारण ‘प्रेमगीत ३’ छाडेको चाहिँ होइन’, उनले प्रस्ट्याए ।
अभिनेता हमालले अभिनेता प्रदीप खड्काको पनि प्रशंसा गरे । आफूजस्तै गफ गर्न रुचाउने प्रदीपलाई फिल्ममा ‘नाताले म तेरो बाऊ हुँ’ भन्न नपाएकोमा हमाल दुःखी छन् । प्रदीपसँगको भेट सम्झिँदै उनले भने- ‘जुन प्रोजेक्टमा उहाँ आबद्ध हुनुहुन्छ त्यसका लागि दिलोज्यान दिनुहुन्छ । म उहाँको लगनशिलता र उर्जा देखेर एकदमै खुसी भएँ । प्रदीप जीसँगको भेटघाट एकदमै रमाइलो भयो । तर, मैले उहाँलाई ‘म तेरो बाऊ हुँ’ भन्न चाहिँ पाइनँ ।’
बिहीबार (आज) हमाल दृष्टिविहीन बालबालिकाहरुलाई सिपमुलक तालिम उपलब्ध गराउने बासस्थान निर्माणका लागि सहयोग जुटाउन आयोजना हुन लागेको ‘सपोर्ट फर सेल्टर च्यारिटी’ मा सहभागी हुन अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाको तासमनियामा रहेको तास इभेन्ट इन कर्पोरेशनले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । यसको परिकल्पनाकार हमाल आफैं हुन् ।
तासमनियामा जुन ३० बाट सुरु हुने यो कार्यक्रम अष्ट्रेलियाका विभिन्न शहरमा हुनेछ । हमालसहित हास्यकवि शैलेन्द्र सिम्खडा, गायिका मेनुका प्रधान र गायिका एन्जिला रेग्मीले पनि कार्यक्रममा प्रस्तुती दिनेछन् । सिन्धुपाल्चोकको नेत्रहिन संघको सहयोगार्थ यो कार्यक्रम हुन लागेको हो । बुधबार राजधानीमा अष्ट्रेलियामा हुन लागेको यस च्यारिटी इभेन्टको बारेमा जानकारी गराइएको थियो ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement