0Shares

सिन्धुली – हरिहरपुरगढी गाउँपालिका–३ घन्टेकी फूलमाया राईको विवाह १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग भएको थियो। विवाहको करिब तीन वर्षपछि उनले पहिलो सन्तानका रूपमा छोरी जन्माइन्। छोरी जन्मले परिवारमा खासै उत्साह जगाएन। चन्द्रबहादुर परिवारका एक्ला छोरा थिए। उनलाई लाग्थ्यो, वंश कायम राख्न छोरै चाहिन्छ। पहिलो सन्तान भएको डेढ वर्ष पूरा नहँुदै दोस्रो सन्तानका रूपमा फेरि छोरी नै जन्मिएपछि परिवारमा निराशा बढ्यो। एकातिर सासू, ससुरा र पति छोराको अभावमा वंश सकिने भन्दै चिन्तित हुन थाले, अर्कातिर फूलमाया स्वयले पनि छोरा नजन्मँदा अभागी महसुस गर्न थालिन्। दुई वर्ष नपुग्दै अर्को बच्चा जन्माउने क्रम निरन्तर चलिरह्यो। कारण थियो, छोराको जन्म नहुनु। छोराकै आसमा फूलमायाले आठ छोरी जन्माइन्।

चारजना ससाना छोरी वरिपरि राखेर फुसको छानो भएको सानो घरको आँगनमा भेटिएकी फूलमायाले हास्दै छोराकै आसमा आठ छोरी जन्माएको बताइन्। ‘हाम्रो त भाग्यमै खोट रहेछ, एउटा छोरा पनि भएन,’ उनले भनिन्, ‘भगवान्ले पनि हामी गरिबमाथि दया गरेनन्।’ दैनिक गुजारा चलाउनसमेत हम्मेहम्मे पर्ने परिवारमा अशिक्षाका कारण धेरै सन्तान जन्मिएपछि ठूलै आर्थिक बोझ थपिएको छ। ‘तीन छोरीको बिहे भइसक्योे,’ उनले भनिन्, ‘१५ देखि १८ वर्षको उमेरमै तीन छोरीले आफंैले मन पराएर बिहे गरेका हुन्।’ २०३४ सालमा जन्मिएकी फूलमाया हजुरआमासमेत भइसकेकी छन्। ‘हाम्रो पो छोरा भएन त, छोरीपट्टि त छोरै जन्मिएका छन्,’ उनले हँसिलो हँुदै भनिन्।

फूलमाया र चन्द्रबहादुरले छोरा नभएसम्म सन्तान जन्माउन नछाड्ने निधो गरेका थिए। तर कान्छी छोरीको जन्म सहजै भएन। निरन्तर पाँच दिनसम्म प्रसव वेदना खेप्दा पनि बच्चाको जन्म नभएपछि २०७४ साउन १ गते फूलमायाको शल्यक्रिया गरियो। सोही समयमा चिकित्सकले उनको स्थायी बन्ध्याकरण गरिदिए। त्यसपछि भने थप बच्चा जन्मिन बन्द भयो। जायजेथा केही नभएका उनीहरू सुकुम्बासी जीवन बिताइरहेका छन्। ‘दैनिक श्रम गर्छौं, कहिलेकाहीं केही रकम बच्छ, कहिलेकाहीं छाक टार्नै धौधौ पर्छ,’ फूलमाया र चन्द्रबहादुरले एकै स्वरमा भने।

ग्रामीण बस्तीमा शिक्षा र चेतनाको अभाव मात्रै छैन, उचित सल्लाह दिने स्वास्थ्यकर्मीसमेत नहुँदा छोराकै आसमा सन्तान जन्माउने फूलमायाजस्तै धेरै महिला भएको स्थानीय बताउँछन्। ‘हामीलाई परिवार नियोजन भन्ने नै थाहा छैन,’ फूलमायाले भनिन्। ‘छोरा जन्मिएदेखि समाजको नजरमा नराम्रो हुन्छ भन्ने लाग्थ्यो।’ चन्द्रबहादुर साथिसँगीले समेत छोरा नभएको भनेर हेपेर बोल्ने गरेकाले छोरा आशा राखेको बताउँछन्। ‘बुबाआमाले पनि छोरा चाहिन्छ भन्दै जोड दिनुभयो,’ उनले भने, ‘जसले गर्दा आठ छोरी जन्मिए।’ उनले सन्तानको पालनपोषण गर्न स्थानीय सरकारले केही सीपयुक्त तालिम दिए काम गरेर खान सकिने बताए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement