0Shares

ऊ लुगामा साबुन दल्दै थिई । उसका आँखा, श्रीमानलाई मनपर्ने कमिजमाथिको दागमा प¥यो । त्यहाँ, ओठको बान्की देखिने गरी रातो लिपस्टिकको दाग लागेको थियो । त्यसरी लिपस्टिकै लाग्ने गरी ऊ श्रीमानसँग कहिल्यै टाँसिएकी थिइन । उसलाई झनक्क रीस उठ्यो । पछिल्लो पटक उनले त्यो कमिज कहिले लगाएका थिए, उसले सम्झन खोजी तर सकिन । लुगा धुने उसको मूड राम्रैसँग बिग्रियो । मन नलाई नलाई लुगा धुन सिध्याई । दिमाग कमिजमाथिको लिपस्टिकको दागमा रूमल्लिरह्यो । उसको श्रीमान्को अर्की महिलासँग घनिष्ठता भएको उसलाई थाहा थिएन, न त कसैबाट त्यस्तो सुइँको नै पाएकी थिई ।

‘त्यस्ता कुरा के बताउँथे र ?’ ऊ साह्रै आहत भई । राती श्रीमान्सँग बोलिन पनि ।

‘हैन, के भो, किन नबोलेकी ? बिहानसम्म त ठीकै थियौ, कि सन्चो भएन ?’

‘लुगामा लिपस्टिक दल्नेलाई नै सोध्नुस् न ।’

‘कस्तो लिपस्टिक ? कोसँग सोध्ने ? के भन्छौ ?’ श्रीमान्ले कुरै बुझेनन् ।

‘नाटक पनि कस्तो ! आफ्नो कमिजमा लागेको दाग पनि थाहा छैन ? हैन, त्यसरी पछाडि लिपिक्कै टासिँदा पनि तपाईलाई पत्तो भएन ? कि आफै बन्यो लिपस्टिकको दाग ?’ ऊ कुरा सुन्ने मनस्थितिमै थिइन । श्रीमान्ले आफू अनभिज्ञ रहेको बताए । ऊ सन्तुष्ट भइन ।

‘लोग्ने मान्छेका के विश्वास ? घरमा एउटी, बाहिर दसौटी, तैपनि चोखै बन्न खोज्छन्’ ऊ भुत्भुताई । रीस तातै थियो, हत्पति के ओर्लिन्थ्यो ? उसको मौन ब्रत सुरू भइहाल्यो ।

भोलिपल्ट खानापछि रीसैरीसमा कालो रङको लिपस्टिक लाएर ऊ साथीको घर जान निस्की । माइक्रो बसमा ठेलमठेल भीड थियो । तै एउटा केटोले ठाउँ दियो, ‘दिदी यता बस्नुस्, म ओर्लँदैछु ।’

चेप्टिँदै बल्लबल्ल बस्न सकी ऊ । उसलाई ठाउँ दिने केटा माइक्रोबाट ओर्लेर सडकपेटीमा उभियो । उसले गाडीको झ्यालबाट हेरी । केटा घडी हेर्दै थियो । झट्ट उसका आँखा केटाको बाहुलामा लागेको कालो दागमा प¥यो । त्यो उसको आफ्नै गाढा लिपस्टिकको ओठे छाप थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement