0Shares

कैलाली – कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका हुन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् ।

 

सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन् ।

“ तीस लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल  उत्पादन हुने गरेको छ । सबै खर्च कटाएर मासिक रु एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ”, किसान जोशीले भने । उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ । जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको बताए ।

 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छिन् । “खेती गर्दा माटोको संरक्षणबाटै सुरु गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ”, उनको भनाइ छ, “किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ । यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ ।”

सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन् ।

आयोजनाको कमाण्ड क्षेत्रका किसानहरु व्यावसायिक बन्न किसानको आवश्यकताका आधारमा आयोजनाले बीउबिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गर्नुभएका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए ।राष्ट्रपतिले नगद रु दुई लाखसहित उनलाई कृषिका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान दिएको भन्दै पुरस्कृत गरेका हुन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement