0Shares

गए राति जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । शुक्रबार राति ११ बजेरमा ४७ मिनेटमा गएको सो भूकम्पपछि त्यसकै आसपासमा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडभन्दा ठूलो थप ४ वटा पराकम्प गएका छन् ।

काठमाडौैदेखि भारतको नयाँ दिल्लीसम्म धक्का महसुस गरिएको भूकम्पका कारण जाजरकोटमा ९८ र पश्चिम रुकुममा ३८ जनाको मृत्यु भएको नेपाल सरकारले जनाएको छ ।

जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रहरूको थप विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने देखिएको छ । ५ सय वर्षयता महाभूकम्प नगएको गोर्खा पश्चिमको त्यस क्षेत्रमा केही समयदेखि पश्चिम नेपालका विभिन्न जिल्लाहरूलाई केन्द्रविन्दु बनाएर भूकम्प गए पनि यति ठूलो जनधनको क्षति गरेको थिएन ।

‘मध्य रातमा मस्तसँग सुतेका मानिसले गुहार नै पाएनन् । घरहरू भत्किए मानिसको हताहती बढ्यो,’ भूगर्भ विभागका भूकम्पविद् मुकुन्द भट्टराईले भने ‘बाजुरा, बझाङ र डोटीको भूकम्प बराबर भए पनि यसमा बढी क्षति हुनुको कारण विभिन्न छन् ।’

भट्टराईका अनुसार केन्द्रविन्दुबाट ‘बस्ती कति टाढा छ, उद्गमविन्दु र केन्द्रविन्दुमा पर्छ ? भौगोलिक, भौगर्भिक अवस्था कस्तो छ ?, भौगर्भिक जटिलता कस्तो छ ? त्यस क्षेत्रमा यसभन्दा अघि गएका भूकम्पहरूले कतिको पराकम्प आइरहेका छन् ? पहिलेका भूकम्पहरूले घरहरूलाई कतिको क्षति पुर्‍याएका थिए वा थिएन ?’ लगायत विषयले भूकम्पमा हुने क्षति बढी र घटी हुने गरेका छन् ।

गत असोज १७ गते बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युड र गत वर्षको कात्तिक २२ गते डोटीमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपाल सरकारको विपद् जोखिम न्यूनीकरणको पोर्टलमा राखिएको जानकारीअनुसार डोटीमा ६ जना र बझाङ र बाजुरामा एक-एक जनाको मृत्यु भएको थियो ।

नेपाल भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्छ । तर गोर्खा पश्चिम र भारतको देहरादुन पूर्वतर्फ ५ सय वर्षदेखि महाभूकम्प गएको छैन । साना भूकम्पहरू भने पटक-पटक जाने गरेका छन् ।

‘भूकम्पको जोखिम क्षेत्रमा पर्ने भए पनि गोर्खाबाट पश्चिम र भारतको देहरादुनबाट पूर्व पछिल्लो ५ सय १८ वर्षदेखि ठूलो भूकम्प नगएको क्षेत्रमा पर्छ । सन् १५०५ पछि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन,’ भट्टराईले भने, ‘पछिल्लो समयमा कतिले बाजुरा वा बझाङ वा डोटी वा अन्यत्र केन्द्रविन्दु बनाएर भूकम्प जाने गरेका छन् । त्यस क्षेत्रमा कम्पन भई नै रहेको छ । त्यस क्षेत्रमा घरहरूको बनावट पनि कच्चा प्रकारका छन् ।’  उनले माटो ढुंगाले जोडेर बनेका र ढुंगाले नै छाएर बनाएका घरहरूमा बढी क्षति गर्छ र अर्कोतर्फ समथर भूभाग नभई भिरालो स्थल रहेको बताए ।

‘पराकम्पन थपिदै थपिदै जाँदा घरहरू धेरै भत्किएर क्षति धेरै भएको देखिन्छ,’ उनले भने, ‘भूकम्पको उद्गमस्थल यूएसजीएसले १९ किलोमिटर राखेको छ । त्यसका लागि केन्द्रविन्दु नजिकै रहेका ३ वटा मापन केन्द्रको रेकर्ड हेर्नुपर्छ । नेपालको जाने भूकम्पको उद्गमविन्दु  भौगोलिक अवस्थितिको कारण ३० किलोमिटरभन्दा कम गहिराइकै हुने गरेको छ । यति नै हो भन्ने निश्चित भइसकेको छैन ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement