0Shares

काठमाडौं । भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आएका छन् । २५ जनाको दलबलसहित आएका बाबालाई सरकारले उच्चस्तरको सुरक्षा र सम्मान दिएको छ । शास्त्रीको दलबलमा रहेकामध्ये १२ जना हवाइमार्गबाट र १३ जना स्थलमार्गबाट नेपाल आएका हुन् । एयरपोर्टको भीभीआइपी कक्ष प्रयोग गरेका शास्त्रीलाई एक मोटरसाइकल र एउटा गाडीको स्कर्टिङसहित होटल भिभान्ता पुर्याइएको थियो । त्यहाँ केहीबेर बिताएर उनी पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथ मन्दिरमा बागेश्वरलाई हेर्न थाम्नै नसक्ने भीड लागेको थियो ।

तीज र शिवरात्रीमा जस्तै हजारौं मानिसहरु भेला भएका थिए । शास्त्री पशुपति मन्दिरभित्रको आरतीमा सहभागी भए । पशुपति विकास कोषले उनको स्वागतमा सवा करोड बत्ति बालेको थियो । त्यहाँबाट फर्केर होटल आएका शास्त्रीले आजको डिनर भने विनोद चौधरीको निजी निवासमा गर्दैछन् । शास्त्रीसहित सीमित व्यक्तिहरुलाई चौधरी निवासमा डाकिएको छ ।

शास्त्रीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ । बिहान ९ बजे प्रधानमन्त्रीलाई भेटेपश्चात उनी शास्वतधामतिर लाग्नेछन् । शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो ।

‘अलिअलि ज्वरो आएको भनेर भेट्न नसक्ने सन्देश पठाउनुभएको छ’, स्रोतले भन्यो । यद्यपी, मिडियामा धेरै विवाद भएकाले राष्ट्रपतिले भेट्न नचाहेको हुन सक्ने स्रोतको अनुमान छ ।

सरकारले शास्त्रीलाई भारतको ‘वाइ सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयले नै सुरक्षा समन्वय गरिरहेको स्रोतले बतायो ।

‘एक जना हतियारधारी पीएसओ, स्कर्टिङमा एक मोटरसाइकल र सातजना प्रहरी उहाँको व्यक्तिगत सुरक्षामा खटाइएको छ’, स्रोतले भन्यो ।

शास्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ । त्यहाँ दैनिक १५ हजारको उपस्थिति रहने अनुमान गरिएको इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएका दिनेश डीसीले बनाए । डीसीका अनुसार आठ हजारवटा टिकट अनलाइनबाट बुक भइसकेको छ । बाँकी टिकट ‘अफलाइन’ बाट बाँडिने छ । टिकटका लागि शुल्क भने लाग्दैन ।

शास्वत धाममा तीन दिन प्रवचनपश्चात शास्त्री मेघौली जाने कार्यक्रम पनि तय भएको छ । आफ्नो टोलीका सबैलाई भारत फर्काएर उनी मेघौली जानेछन् । मेघौलीमा पीएसओ, बरुण चौधरी र दिनेश डिसीसँग उनले २४ घन्टा बिताउने बताइएको छ । शास्त्री ६ गते भारत फर्किने कार्यक्रम छ ।

शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ । स्रोतका अनुसार शास्त्रीले पारिश्रमिक भने लिएका छैनन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement