0Shares

जापानमा रहेका नेपालीहरुको आधिकारिक तथ्याँक कतै नभेटिएपनि करिब एक लाख ४० हजारभन्दा बढि नेपालीहरु यहाँ बसोबास गर्छन् । तर सात हजार १६८ जना मात्रै एनआरएनए जापानमा सदस्य भएका छन् । यस हिसाबले आजका दिनमा जापानका रहेकामध्ये पाँच प्रतिशत नेपाली मात्रै यो संस्थामा आवद्ध भएको देखिन्छ । यद्दपि यहाँका नेपालीहरुले एनआरएनए जापानलाई ‘अभिभावक संस्था’ मान्दै आएका छन् ।
अभिभावक बन्न व्यक्रिगत रुपमा सन्तान हुनुप¥यो, संस्थागत रुपमा चाहिँ सदस्य हुनुप¥यो । सन्तान र सदस्य जन्माएर मात्रै भएन, उसको आश्रय, सुरक्षा र सहयोगमा पनि उत्तिकै ध्यान दिनुप¥यो । तर एकातिर एनआरएनए जापानमा सदस्य संख्या अत्यन्त न्यून भएको तथ्याँकले देखाइसक्यो । अर्कोतिर यीनै सदस्यको संरक्षण र सरोकारमा ध्यान नदिँदा यसले आफ्नो अभिभावकीय भूमिकासमेत बिसँदै गएको विगतका अनुभवले पनि देखाइसकेको छ । यसैले एनआरएनए जापानलाई सन्तान नै नभएको ‘अभिभावक’ भन्नेहरु पनि छन् ।
यही ‘अभिभावक संस्थाको अभिभावक’ बन्न आज जापानमा निर्वाचन हुँदैछ । अर्थात्, सन् २०२३–०२५ का लागि आजबाट यसले नयाँ नेतृत्व पाउँदैछ । आज ३० तारिख आईतबार यसका सदस्य बनेकाहरुले मतदान प्रक्रियामार्फत आफ्ना नेता चुन्दैछन् । पहिले ३१ पदका लागि ६२ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए । अन्तिम नामावली अनुसार भने २६ पदमा मात्रै निर्वाचन हुँदैछ । जसका लागि ४९ उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
यस्तो छ सदस्यता विवरण

जापानमा रहेका सात हजार १६८ जना सदस्यहरुमार्फत यहाँ नयाँ नेतृत्व चुनिन लागेको हो । त्यसमध्ये पनि मतदान प्रक्रियामा कति सहभागि हुन्छन् भन्ने लेखाजोखा छैन । मतदान प्रक्रियामा सबैजना सहभागि हुने सम्भावना पनि कम छ । किनभने अनलाइन भोटिङ सिष्टमबारे धेरै मतदाता जानकार नै छैनन् । अर्थात्, मतदाता शिक्षाबारे उम्मेदवार स्वयम्लाई चासो छैन ।
मतदाता नामावलीको सूची र मतदानको दिनसम्म आइपुग्दा स्वयम् मतदाता नै उत्सुक नहुँदाको कारणले व्यवहारिक रुपमा एनआरएनएप्रतिको जनविश्वास गुमेको देखाएको छ । यसैले एनआरएनए जापानको नयाँ नेतृत्व चुनिदै गर्दा जापानमा रहेका नेपालीका लागि यो अभिभावक संस्था हो कि होइन भन्ने विषयमा नै प्रश्न चिन्ह खडा भएको छ । मतदान प्रक्रियामा गइसकेपछि अवश्य पनि परिणाम आईहाल्छ । परिणामले नयाँ कार्यसमिति पनि तयार हुन्छ । तर विविध कारणले एनआरएनएको सदस्यताबाट वञ्चित भएका करिब ९५ प्रतिशतले नयाँ नेतृत्वलाई कसरी अभिभावक मान्ला र ?
एनआरएनए जापानले सार्वजनिक गरेको मतदाता विवरण अनुसार सबैभन्दा धेरै सदस्य कान्तो क्षेत्रमा २१०५ छन् । त्यसपछि क्युशुमा १२०३ छन् । सँगसँगै नागोयामा ९९० र कान्साइ क्षेत्रमा ८५८ मतदाता रहेको तथ्याँक छ । जापानकै नेतृत्वका लागि निर्वाचन हुँदैगर्दा पहिले क्षेत्रको सकिनुपर्ने हो । तर क्षेत्रीय विवादका कारण नागोया र कान्साइले अझै नयाँ नेतृत्व पाउन सकेको छैन । आज नै नागोया र कान्साई क्षेत्रमा पनि अध्यक्ष र सचिवको लागि निर्वाचन हुँदैछ । जसको प्रचारप्रसारपनि राम्रोसँग भएको छैन । यही अवस्थामा निर्वाचन हुँदैगर्दा एनआरएनएभित्रको विवाद जापानमा अझ बढ्न सक्ने देखिन्छ । सदस्यताको टुंगो नलगाउँदै निर्वाचन प्रक्रियामा जाँदा नागोया र कान्साइ क्षेत्रले पहिले नेतृत्व पाउन सकेको थिएन ।
एनआरएनएप्रतिको आकर्षण
विगतदेखि नै एनआरएनएप्रतिको आकर्षण जापानमा कमै देखिन्छ । अर्थात् सदस्य बन्न योग्यता भएका र चाहना हुनेहरु पनि यसमा अटाएका छैनन् । यस संस्थामा लागेकाहरुको भड्किलो जीवनशैली र खर्चिलो आचरणका कारण सामान्य अवस्थामा रहेका नेपालीहरु तर्सेर भागेजस्तो लाग्छ । सबैलाई समेट्न नसक्दा व्यवहारमा यसले सबैको अभिभावक बन्ने हैसियत चाहिँ गुमाएको पक्कै हो । एनआरएनएले गर्ने औपचारिक कार्यक्रम र लक्ष्यहरु पनि निम्न र मध्यम वर्गका नेपालीसँग सरोकार राख्ने खालका छैनन् ।
सार्क मुलुक बाहेकका देशमा १८२ दिनभन्दा बढि बसेका नेपालीले यसको सदस्य बन्न पाउनुपर्ने नियम छ । जसलाई एनआरएन अर्थात् गैर आवासीय नेपाली पनि भन्ने गरिन्छ । तर जापान बसाईको लामो अवधिसम्म धेरैले न एनआरएन जापानको सदस्य बन्न ईच्छा जाहेर गरे, न त सम्बन्धित संस्थाले उनीहरुलाई सदस्य बनाउन प्रेरित नै गरयो । यो बढेको दुरीसंगै गैर आवासीय नेपालीको संगठनको सदस्यका हैसियतमा नसमेटिएका कैयन नेपाली जापानमा प्रशस्तै भेटिन्छन् । यद्दपि उनीहरुको चिन्ता, चासो र भरोसा भने एनआरएनएप्रति बढिरहेको छ । यसैले जापानमा रहेका पुँजीपति, उद्योगी र बुद्धिजीवीहरुले एनआरएनएलाई साँच्चिकै अभिभावक संस्थामा रुपान्तरित गर्न जरुरी देखिन्छ ।
एनआरएनए भनेको धनी र हुनेखानेहरुको संस्था मात्रै हो भन्ने आवाज उठिरहेका बेलामा जापानमा रहेका सबै वर्ग र नेपालीहरुबाट पिल्सिएकाहरु नै यो संस्थामा अटाउँदा राम्रो पनि देखिन्छ ।
अहिलेसम्म जापानमा कति नेपाली के गरिरहेका छन् र कस्तो अवस्थामा बसिरहेका छन् भन्ने बारेमा एनआरएनएसँग गतिलो तथ्यांक छैन । यो अत्यन्तै लाजमर्दो कुरा हो । तर जापानमा रहेका नेपालीहरु तीन वर्गमा विभाजित भने पक्कै छन् । विद्यार्थी, व्यवसायी र कामदार । विद्यार्थीहरु पनि भाषा पढ्न आएका र विश्वविद्यालयमा अध्ययनरत गरी दुई थरी छन् । धेरै कमाउने र थोरै कमाउनेको नाममा व्यावसायी र कामदार वर्गिकृत छन् । यी सबैको व्याख्या आ–आफ्नो छ । एकले अर्कोको अस्तित्व स्वीकार्न सकेका छैनन् । कुक भीसामा आएकाको त कुरै छाडौं, उसलाई त कसैले गन्ने नै भएन । जापानमा भाषा पढ्न आउने सामान्य विद्यार्थीले तिरेको खर्चबाट कन्सल्टेन्सीको “मालिक” बन्नेहरुदेखि कुकले जापान आउँदा तिरेको पैसाबाट “रेष्टुरेण्ट व्यावसायी” बनेकाहरुसम्म अहिले एनआरएनएको चर्का नारा लगाउँदै हिड्दा सच्चा एनआरएनए अभियानकर्ता जापानमा खोज्नैपर्ने भईसकेको छ ।
जापानमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै कुक भिसामा आएकाहरु छन् । उनीहरुका परिवारहरु पनि भईहाले । तर यो वर्ग अझै एनआरएन जापानमा समेटिन सकेको छैन । समेटिएकामध्ये धेरैजना निर्वाचनमा भाग लिने सम्भावना कमै छ । किनभने एनआरएनले आयोजना गर्ने कार्यक्रममा उनीहरुको सहभागिता कमै देखिन्छ । यद्दपि यसलाई उदाहरणको रुपमा मात्र लिन सकिन्छ ।
समस्यासँगै समाधान
समस्या नभएको क्षेत्र त कतै छैन । संगसंगै समाधान पनि छ । जापानमा आएका नेपाली आफ्नो देशबाट पलायन भएका पक्कै होईनन् । लक्षित उद्देश्य प्राप्तिपछि अधिकांश नेपाल पनि फर्कन्छन् । जापान आउने बाटो पहिचानका सन्दर्भमा हरेकको बाटो अर्थात् “भीसा स्टाटस” फरक हुनसक्छ । तर यसैलाई आधार बनाएर जापानका नेपालीलाई वर्गीकरण गरिनुहुँदैन । सामान्य विद्यार्थीदेखि कुकसम्मको लुकेको प्रतिभा पहिचान गर्नका लागि जापानमा लामो समय व्यतित गरेका नेपालीले मद्दत गर्नुपर्ने भईसकेको छ । गतिलो काम नपाइने, पाएपनि श्रमको मूल्य नपाइने समस्या यहाँ झन् विकराल बन्दैछ । आफ्नो “भीसा स्टाटस” बचाउनका लागि रातदिन किचन कुनामा बसेका नेपालीको समस्या बुझ्ने बेला आइसक्यो ।
संस्था आफैमा नराम्रो होइन, यसलाई सञ्चालन गर्नेहरुको भरमा संस्थाले गति लिने हो । एनआरएनए स्थापना गर्दाको उद्देश्य पक्कै पनि विदेशमा रहेका नेपालीहरुको अभिभावक संस्था बनाउनकै लागि हो । आफ्नो अभिभावक संस्था पनि भइदियोस् भन्ने तर संस्थाको सदस्यबाट सधैँ वञ्चित भईराख्ने हो भने एनआरएनएलाई सधै अभिभावक संस्था बन्न प्राविधिक कठिनाई भईरहन्छ । यसतर्फ सचेत भई यस अभियानमा लागेर आफूलाई नेता भन्नेहरुले निर्वाचनका बेला मात्र होइन, अरु बेलामा पनि यसको महत्वबारे चर्चा चलाउनु जरुरी देखिन्छ ।
अब यसो गरौँ
आखिर माने पनि नमाने पनि जापानमा रहेका समग्र नेपालीको अभिभावक संस्थाको रुपमा एनआरएए जापान दर्ज भईसकेको छ । त्यसमाथि बग्रेल्ती खुलेका नेपालीका संस्थाहरु प्नि प्रशस्तै छन् । नेपाली भूगोल, अर्थ, राजनीति, समाज, जात, धर्मलाई आधार बनाएर जापानमा खुलेका नेपाली संस्थाहरुमा जापान आएका नेपालीहरु कुनै न कुनै रुपमा संगठित भएको देखिन्छ । तर यस्ता संस्थामा रहेका नेतृत्वकर्ताहरुले पनि यी नेपालीलाई एनआरएनएमा संगठित गर्न बल गरेको पाईदैन । न त उनीहरुको सुखदुःखमा मनैदेखि सरोकार राख्ने गर्छन् ।
यहाँ जापानीज भाषाको समस्या उस्तै छ, नेपालीबीच । विद्यार्थीहरुको संस्थाले अब भाषा नजानेका नवप्रवेशी नेपालीहरुलाई समेटेर हप्ताको एक पटक भएपनि भाषा प्रशिक्षण दिने व्यवस्था मिलाए कति राम्रो हुन्थ्यो । जापानी कानुनमा भुक्तभोगी नेपालीले जापानको रहनसहन र कानुनबारे सामान्य जानकारी दिएदेखि जापान आएका नयाँ नेपालीलाई प्रशासनिक कामकाजमा कति सजिलो हुन्थ्यो । समस्त नेपालीका नाममा गरिने अनौपचारिक भेला, रमाइलो र अन्य औपचारिक कार्यक्रमसंगै समस्यामा परेका नेपालीलाई सहयोग गर्ने वातावरण सम्बन्धित संस्थाले मिलाउनुपर्ने हो । यसको नेतृत्व एनआरएनएमा लागेकाहरुले लिनुपर्ने हो । तर यसो गरेको कतै भेटिएको छैन । विगतमा जे जस्तो भएपनि आगामी एनआरएनको नेतृत्वले सही कार्यदिसा अपनाएर उदाहरणीय काम भने देखाउनुपर्ने भईसकेको छ ।
एनआएनए जापानले सौहाद्रपूर्ण वातावरणका बीच आम सहमति र सहकार्यका माध्यमबाट नयाँ नेतृत्व चुन्न सकेन । तर अन्तिम अवस्थामा आएर लोकतान्त्रिक विधि अपनाउँदैछ । जे भयो भयो, आगामी दिनमा विविध कमजोरीहरुलाई सुधार्ने प्रण गर्दै निर्वाचनमा मतदानका माध्यमबाट असल नेतृत्व चुन्ने विकल्पलाई मतदाताले पालना गर्नैपर्छ । आज उम्मेदवार बनेकाहरुको संगत, उठबस र खानपान हिजो को–कोसँग कस्तो र कुन तरिकाको थियो भनेर मतदाताले छुट्याउनैपर्छ । अनि बल्ल एनआरएनए जापान सबैको अभिभावकसंस्था बन्नेछ । यो जापानमा रहेका आम नेपालीको मान्यता पनि हो । हामी नेपाली जहाँ भएपनि एउटै आकाशमुनि र यहि धर्तीमाथि अडिएका छौं । अन्त्यमा एनआरएन जापान धनी र हुनेखानेहरुको मात्रै संस्था नबनोस्, यसमा सबै नेपाली अटाउने वातावरण निर्माण होस् । साँच्चिकै अभिभावक संस्था बनाउने अभियानमा हिँडेका अभिभावकलाई मत दिनुहोस् । शुभकामना ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement