0Shares

जापानमा रहेका नेपालीहरुको अभिभावक संस्थाको रुपमा एनआरएनए जापानलाई लिईन्छ । यही जुलाई महिनाको अन्तिममा एनआरएनए जापानले नयाँ नेतृत्व चुन्दैछ । जापानमा रहेका नेपालीको अभिभावक संस्थालाई अभिभावकत्व प्रदान गर्न अर्थात् यसको अध्यक्षको प्रत्याशीको रुपमा आफूलाई अगाडि सारेका व्यक्तित्वको नाम हो, राजकुमार अधिकारी ।
बुवा चन्द्रबहादुर र आमा खिकुमारीबाट ३८ वर्षअघि धादिङको फूलखर्कमा जन्मिएका अधिकारी जापानमा समाजसेवी र व्यवसायीका रुपमा चिनिन्छन् । नेपालमा उनको हालको बसोबास भने बालाजु, काठमाडौँमा रहेको छ । सानैमा आमाको निधन भएपछि उनले आमाको माया पाएनन् । चार दाजुभाई र एकजना दिदीको साथमा बुवाले गरिबी र पीडाका बीच आफूलाई हुर्काएको स्मरण उनीसँग ताजै छ ।
पछि उनले काठमाडौँको ग्रामिण आदर्श कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि विदेश यात्राको ढोका खोल्ने तयारी गरेका हुन् । अमेरिका जाने सपना तुहिएपछि जापानको बाटो तय गरे ।
नेपालको पर्यटन क्षेत्रमा काम गदौगर्दै १५ वर्षअघि अधिकारी जापान आएका हुन् । जापान आएपछि उनी पनि अरुजस्तै गैरआवासीय नेपाली भए । यसैले सन् २०११ मा उनले एनआएरएनए जापानको सदस्यता लिए ।
अधिकारी सामान्य आर्थिक हैसियत भएका परिवारका व्यक्ति हुन् । जन्मघर धादिङमा निकै दुःखकष्टका साथ आफ्नो दैनिक जीवनयापन पार गरेको अनुभव उनीसँग छ । जसरी परिवारको आम्दानी हुन्थ्यो, उसैगरी आफ्नो जीवनयापान अगाडि बढाउनुपर्ने बाध्यता उनीमा थियो ।
आफू हुर्केबढेको फुलखर्क पनि सम्पन्न गाउँ थिएन । तैपनि गाउँका ठूलाठालूले कम आम्दानी भएका विपन्न नागरिकलाई थिचोमिचो नै गर्थे । दलितहरुलाई हेप्ने परिपाटी कायमै थियो । गाउँमा भईरहेको यस्तो विभेद आफ्नै आँखाले हेरिरहनुपर्दा उनलाई नमिठो लाग्थ्यो । वास्तववमा यी र यस्तै परिवेशले आफूलाई समाजसेवामा तानेको उनी बताउँछन् । उनी भन्छन्–‘गाउँमा दलितहरुलाई हेपेजस्तो लाग्थ्यो । धनीले गरिवलाई पेलेजस्तो लाग्थ्यो । यस्तै परिवेशले यस्ता सामाजिक विभेदविरुद्ध उत्रने क्रममा मलाई समाजसेवामा प्रवेश गराएको हो ।’
वास्तवमा भन्ने हो भने धादिङको यो परिवेशपछि जापान आउँदासम्म अधिकारीको धेरै समय फेरियो । उनका जीवनका पनि कैयन् उतारचढाव आए । समय फेरिएसँगै समाजसेवाको परिभाषा पनि फेरिएका छन् । पात्र र स्थान फरक होलान्, तर परिवेश र प्रवृत्ति भने उस्तै छ ।
‘नेपालबाट जापान आउँदा पनि परिवेश उस्तै पाएँ । नेपालीहरुका समस्या झनै रैछन् । सबैका सबै समस्या समाधान गर्न त सकिँदैन । तैपनि जति सकिन्छ, समाधान गर्दै जाउँ भनेर नै म एनआरएनए मा लागेको हो ।’– राजकुमारले एनआएनएको अभियानमा आफू लाग्नुको कारण खोतल्दै भने ।
जापानको व्यस्त दैनिकी, कठोर काम र समयको व्यवस्थापन गर्नैपर्ने बाध्यताले अधिकारीका जापान आउँदाका शुरुवाती दिनहरु कम्ती पीडादायी छैनन् । तर त्यही संघर्षले उनलाई जापानमा जीवन जिउने कला सिकायो ।
‘जापानमा कति रात त एकी (रेलको स्टेशन) मै सुतेर बिताइयो । त्यस्तो बेलामा कोहि नेपाली आएर सोधिखोजि गरिदिँदा पनि आफ्नै परिवार भेटेझैँ लाग्थ्यो ।’– उनले आफ्नो वितलाई यसरी सम्झने प्रयास गरे । उनी थप्छन्–‘यस्ता दुःख त कति भोगियो कति ।’
अहिले आएर भने त्यही दुःखले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव सँगाल्दै जापानको नागोयामा आफ्नै रेष्टुरेण्ट चलाएर बसेका छन् । जापान आएर मेहनत गरिसकेपछिको सफलताले जीवनमा ठिकै गरिएछ भन्ने पनि लागेको छ उनलाई ।

अग्रजहरुले दिएको सल्लाह अनुसार नै आफ्नो व्यवसाय र समाजसेवालाई साथ लिएर जाने योजनामा छन् उनी । ‘समाजसेवा र आफ्नो व्यवसायलाई सँगै लैजान नसक्दा धेरैको जीवन डामाडोल भएका उदाहरण छन् । यसैले यसप्रति म निकै सचेत छु ।’–उनले भने ।
बाल्यकालदेखि नै सामाजिक सेवामा सक्रिय हुनुपर्छ भन्ने हुटहुटीले अधिकारीलाई एनआएएनए जापानको नेतृत्व लिएर अध्यक्षको आकांक्षी बनाएको हो । त्यसो त, अध्यक्षको उम्मेदवार हुन पनि उनले धेरै मेहनत गरे । जापानमा रहेका करिब डेढ लाख नेपालीको अभिभावक हुन त्यति सजिलो पनि छैन । एनआरएनएको विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरेपछि त्यसैको अनुभव र योग्यताका आधारमा आफू अध्यक्षको प्रत्याशी बनेको उनले बताए ।
उनी भन्छन्– ‘एनआरएनएमा लागेकै आठ भर्ष भएछ । यसैले जापानमा रहेका सबै नेपालीको सुःखदुःखको अभिभावक बन्नका लागि पनि अध्यक्ष बन्ने चाहना राखेको छु ।’
‘गैरआवसीय नेपाली संघ जापान लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । विभिन्न स्वार्थमा विभाजित भएको छ । त्यसैले जुटे–फुटेको एनआरएनएलाई अघि बढाउन पनि मेरो अभिभावकत्व आवश्यक छ’ अधिकारी थप्छन् ।
अधिकारीले भनेकै कुरालाई आधार मान्ने हो भने उनी सन् २०११ मा एनआरएनएको सदस्य भए । त्यसपश्चात यस अभियानमा उनी कार्यकारी भूमिकामा रहेरै काम गरेको इतिहास छ । सन् २०१५–०१७ मा नागोयाको सदस्य भएपछि अर्को कार्यकालमै उनले नागोयामा अध्यक्षको दावी गरे । अर्थात्, सन् २०१७–०१९मा नागोयाको संयोजकमा प्रत्याशी थिए । उनीसँगै दिपक कार्कीले पनि संयोजक बन्ने चाहना राखे । पछि गोलाप्रथाबाट संयोजक चुन्न सबै राजी भएपछि कार्की संयोजक बने भने अधिकारी केन्द्रीय सदस्य बने ।
संयोग ने मान्नुपर्छ, यसपटक पनि एनआरएनए जापानको अध्यक्ष बन्ने चाहना कार्कीले पनि राखेका थिए । पछि भने कार्कीले नै अधिकारीलाई नै समर्थन गरेर हिँडिरहेका छन् ।
यसैगरी सन् २०१९–०२१ को कार्यकालमा एनआरएनए जापानको युवा संयोजक बन्न खोज्दा तत्कालीन समयमा अनिल थापासँग चुनाव हार्नुप¥यो ।
यसपछि अधिकारी सन् २०२१–०२३ को कार्यकालमा केन्द्रीय उपाध्यक्ष भएर काम गरिरहेका छन् ।
नेपालमा पनि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर उनले आफ्ना सामाजिक गतिविधिहरु बढाईरहेका छन् । जापानमा पनि दुःखमा परेका नेपालीलाई सहयोग गर्ने र एनआरएनएको अभियानमा सक्रियताका साथ उनको प्रस्तुती कायमै छ । जापानमा एनआएएनए बाहेक उनको आवद्धता यतिबेला धादिङ समाज, आइची भोलिण्टियर, जाइका, हेल्पिङ ह्याण्ड अर्गनाइजेशन, मितेरी नेपाललगायतकोमा छ । यसैले अब २०२३–०२५ कार्यकालको लागि उनी एनआएनए जापानको अध्यक्षको भूमिकामा देखिन चाहेका हुन् ।
निर्वाचन भईसकेपछि प्रतिष्पर्धा अवश्य हुन्छ । यो प्रतिष्पर्धाबाट उत्रेर अध्यक्ष हुन जो कोहिलाई गाह्रो् नै हुन्छ । निर्वाचनमार्फत लक्ष्यमा पुग्न उम्मेदवारको विगतको क्रियाशिलता, भावी योजना र चुनावी ऐजेण्डाले पक्कै काम गर्छ । अधिकारीले पनि आफ्ना प्रतिवद्धतालाई जापानमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।
‘सन् २०१० देखि एनआरएनए जापानका सक्रिय छु । सदस्य हुँदै एनआरएनए जापानको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकाले अध्यक्ष पदमा आफ्नो दाबेदारी स्वभाविक नै भएको ठानेको छु ।–उनी भन्छन् ।
आफू अध्यक्ष भइसकेपछि नेपालीहरुले जापानको अध्यागमन विभागमा नेपाली दोभासे सहयोगी राख्न र नेपाली भाषाबाट नै भिसा आवेदन दिन मिल्ने व्यवस्थाका लागि आफू लागिपर्ने अधिकारीको प्रतिबद्धता रहेको छ ।
उनले जापानको जुनसुकै ठाउँमा नेपाली भाषामा नै सवारी चालक अनुमति परीक्षा दिन पाउने व्यवस्थाका लागि जापान सरकारसँग समन्वय गर्ने, जापानीज नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, जापानमा रहेर पार्ट टाइम (आरुबाइतो) काम गर्दा कर तिर्न नपर्ने व्यवस्था लागू गर्न नेपाल सरकार र जापान सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, नेपाली कामदारको समस्या हल गर्ने लगायतका मुद्दा प्राथमिकताका साथ अघि सारेका छन् ।
‘सबैभन्दा ठूलो कुरा एनआरएनएलाई सबै नेपालीको आफ्नै संस्था हो भन्ने महशुश हुने गरि काम गर्ने नै हो । जापानका हरेक नेपालीलाई समस्या पर्दा अभिभावकको भूमिका निर्वाह गर्न सकियो भने नै ठूलै काम गरेजस्तो हुनेछ ।’– आफ्नो एजेण्डालाई उनले यसरी सुनाए ।
जापान बसाइ त्यागेर नेपाल फर्केकाहरुलाई नेपालबाटै पेन्सन लिने व्यवस्था गर्न र जापान–नेपाल बिचमा दोहोरो कर सम्भौताका लागि पनि आफूले पहल गर्ने पनि उनले बताए ।
जापानको विभिन्न उद्योग, विज्ञान–प्रविधि र अनुसन्धान क्षेत्रमा नेपाली युवा वैज्ञानिकहरुलाई प्रशिक्षण तथा अनुसन्धानको लागि जापान सरकारसंग पहलकदमी गरिदिनको लागि नेपाली दुतावास मार्फत आवश्यक अग्रसरता लिने पनि उनको योजना छ ।
जापानको यातायात, पर्यटन र भूकम्पका सुरक्षा क्षेत्रमा नेपालीहरुलाई आवश्यक रहेको तालिम र प्रशिक्षणको लागि व्यवस्था मिलाउने लगायत नेपाली विद्यार्थीहरूलाई जापानमा छात्रवृत्ति, पढाईका लागि अवसर, अनुसन्धान तथा सोधकार्य, अनुभव र रोजगारको लागि आवश्यक सेमिनारहरु क्षेत्रगत रुपमा गर्ने कुरालाई पनि उनले आफ्नो चुनावी एजेण्डामा राखेका छन् ।
एनआरएनएको संस्थागत विकासका लागि जुनसुकै समयमा पनि सदस्यता आव्हान गर्ने र संस्थाको आफ्नै भवन बनाउन आफू लागिपर्ने पनि उनले बताए ।
‘आफ्नै भवन बनाउन शुरुमै दश लाख यन व्यक्तिगत रुपमा सहयोग गर्छु । कार्यालयमै डेस्कको स्थापना गरेर सबै नेपालीको गुनासा र सुझाव लिने काम गर्नेछु ।’– आफनो योजना उनले यसरी सुनाए ।
क्षेत्रीय समितिहरुलाई शशक्त बनाई क्षेत्रगतरुपमा रहेका नेपालीका समस्यालाइ तुरुन्त सम्बोधन हुने गरी “जहाँ समस्या त्यहाँ एनआरएन, जहाँ एनआरएन त्यहा समाधानका उपाय” भन्ने नारा पनि उनले अघि सारेका छन् । यसबाहेक नेपाली कला–संस्कृतिलाई जापानमा चिनाउने र यसको प्रवद्र्धन गर्ने कुरालाई पनि उनले आफ्नो योजनामा सारेका छन् ।
खेलकुद क्षेत्रको प्रोत्साहन, व्यवसायिक क्षमता र दक्षताहरुको अभिवृद्धि गर्न जापानस्थित निकायसंग पहल गर्ने योजानालाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
जापानमा सबैभन्दा धेरै समस्यामा पर्ने नेपालीहरु विद्यार्थी र कुक नै हुन् । हरेक पटक उनीहरुको समस्या जोडतोडले उठ्ने गरेको छ । समाधानका उपायबारे जापानमा धेरै बहस पनि चल्ने गरेका छन् ।
विद्यार्थी भिसामा आएकाहरु एनआएनको सदस्य हुन पाउँदैनन् । तर कुक भिसामा आएकाहरु सदस्य बन्न पाउँछन् । तर अधिकांश कुकहरुलाई एनआएनएले आफ्नो अभियानमा सक्रियतापूर्वक समेट्न सकेको छैन । अधिकारीले भने यी मुद्दालाई आफ्नो कार्यकालमा जोडतोडका साथ उठाउने भएका छन् । कुक भिसामा आएका नेपाली कामदारहरु नेपाली दाजुभाईबाटै पीडित बनेको कुरासँग उनी स्वयम् जानकार छन् ।
‘म यो विषयसँग जानकार छु । एग्रिमेण्ट अनुसार विदा दिने, समयमा काममा लगाउने र तलब दिने कुरामा पूर्ण प्रतिवद्ध भएर लाग्न सबैलाई म आव्हान पनि गर्छु । यसबारेमा छलफल भईसकेको छ’ –उनले भनेका छन् ।
राजकुमार अधिकारीको बसोबास जापानको नागोया हो । राजधानी टोकियोमा आवश्यक परेमात्रै आउजाउ गर्छन् उनी । राजधानीमा रहेकाहरुले क्षेत्रीय मुद्धालाई कमजोर बनाएको अनुभव उनीसँग धेरै छ । यसैले टोकियोबाहिरबाट उम्मेदवारी दिएर अध्यक्ष बन्ने अभियानमा छन् उनी । आफू अध्यक्ष भईसकेपछि क्षेत्रीय मुद्दालाई बलियो बनाउने पनि उनले बताए ।
सन् २०१३–०१५ मा यस क्षेत्रबाट पारसमणि पोखरेल अध्यक्ष भएपछि अन्य कोहि भएका छैनन् । यसैले यसपटक पुनः नागोयाका नेपालीहरुलाई इतिहास रच्ने अवसर पनि छ । यद्दपि एनआरएनएको अध्यक्ष हुन राजधानीमै भएकालाई सजिलो हुन्छ भन्ने आवाज उठाउनेहरु पनि छन् ।
टोकियोमा रहेका नेपालीहरुको ठूलो उपस्थिति, दूतावाससँगको सहकार्य, नेपालबाट आउने अतिथिहरुको आगमन र टोकियोकेन्दीत हुने कार्यक्रम र अवसरले एनआएनए जापानको अध्यक्ष टोकियोमै बसोबास भएको भइदिएदेखि धेरैलाई सजिलो हुनेथियो भन्ने धारणा गलत पनि होइन । तर अधिकारी यसलाई सजिलै मान्न तयार छैनन् । उनी भन्छन्–‘इच्छा र आकांक्षा भएपछि भूगोलले कसैलाई छेक्दैन । जो जहाँ भएपनि असल अभिभावकले संस्था सजिलै हाँक्न सक्छ । यसका लागि सबैलाई सुखदुःखमा साथ दिने चौडा छाती र मन हुनुप¥यो ।’
कम बोल्ने र धेरै काम गर्ने अधिकारीका विशेषता हुन् । उनी सकेसम्म आफूले गरेका कामलाई प्रचार गर्न पनि रुचाउँदैनन् । जापानका नेपालीमाझ उनी नम्र स्वभावका व्यक्तित्वका रुपमा चिनिन्छन् ।
एनआरएनए जापानको नेतृत्वमा पुग्ने चाहनालाई मात्रै उनले ठूलो कुरा मानेका छैनन् । ‘क्षेत्रीय, भेगीय तथा अन्य आस्थाहरुमा विभक्त नेपाली समुदायलाई एनआरएनएको छाताभित्र यकत्रित गर्नका लागि ईमानदारी, सत्यनिष्ठा, र प्रतिबद्धताका साथ काम गर्ने नै मेरो चाहना हो ।’–उनी भन्छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement