0Shares

शेलेस स्याम्पाका पुर्खा भारतीय थिए। उनका हजुरबुबा भारत छाडेर अफ्रिकाको युगाण्डा पुगे, उनी त्यहीँ जन्मिए। सानै उमेरमा उनको परिवार बेलायत पुग्यो। अहिले उनी बेलायती नागरिक हुन्। श्रीमती र साथीहरुसँग नेपाल आइपुगेका उनले यसपाली चितवनको पटिहानीस्थित सोल्टी वेस्टएण्ड रिसोर्टमा रंग दलेर होली खेले।

‘मेरा पुर्खाहरु भारतबाट बसाइसरेर युगाण्डा हुँदै बेलायत पुगेका हुन्। होली मेरो पुर्खाको पर्व पनि हो। यसपाली चितवनमा होली खेल्न पाउँदा मैले मेरा पुर्खालाई स्मरण गरें,’ स्याम्पाले भने।

बाल्यकालमा अफ्रिकाका जंगल उनी निकै घुमेका थिए। त्यहाँ दुई सिंगे गैंडा देखेका उनले यसपाली चितवन राष्ट्रिय निकुञ्जको एक सिंगे गैंडा पनि देखे।

‘जंगल सफारीमा जाँदा भर्खरै जन्मिएको बच्चासहितको एक सिंगे गैंडा नजिकैबाट देख्न पाउँदा मलाई असाध्यै रमाइलो लाग्यो,’ उनले भने, ‘चित्रमा, चिडियाखानामा देखेको कुरा आफ्नै आँखाले देख्न पाउँदा खुसीको सीमा छैन।’

चितवन निकुञ्जको जंगलमा जीवनमै पहिलो पटक देखेका एक सिंगे गैंडा र राप्ती नदीको किनारमा देखेका घडियाल गोही श्रीमती बेलिण्डाको मनमा टाँसिएर बसेका छन्।

‘थोरै समय घुमेर पुग्ने रहेनछ, फेरिपनि आउन मन लागेको छ,’ उनले भनिन्, ‘हामीले अहिले देखेका कुराहरु पछि सम्म, नयाँ पुस्ताहरुले पनि देख्न पाए हुन्थ्यो।’

६४ वर्षीय शेलेस ईङल्याण्डको एउटा भेटेरान क्रिकेट क्लबका खेलाडी हुन्। काठमाडौं र पोखरामा स्थानीय टिमसँग क्रिकेट खेल्ने, क्रिकेटको विकासका लागि सहयोग गर्ने, नेपाल घुम्ने, संस्कृति बुझ्ने उद्देश्यले शेलेससहित २६ जनाको समूह मार्च १ तारिखमा काठमाडौं आइपुगेको थियो।

ईङल्याण्डबाट आएको हर्टफोर्डसायर सिनियर क्रिकेट टिमका उपकप्तान हुन् उनी। उनीहरुले ३ र ४ तारिखमा टियु क्रिकेट मैदानमा नेपालका खेलाडीहरुसँग क्रिकेटर खेले।

‘बिहीबार र शनिबार पोखरामा क्रिकेट खेल्छौं। नेपालका हिमाल अवलोकन गर्छौं,’ क्रिकेट टिमका क्याप्टेन डङ्कन एल्डर भने।

उनले चितवन सोचेभन्दा राम्रो लागेको सुनाए।

‘हात्ती चढेर एक सिंगे गैंडा, गोही, सुन्दर चरा देख्ने अवसर मिल्यो,’ उनले भने, ‘रंग दलेर होली खेल्न पाइयो, स्थानीय बासिन्दाको संस्कृति हेर्न पाइयो। हामीले सोच्दै नसोचेको रमाइलो अनुभव लिन पायौं।’

१३ वर्षअघि शिक्षक पेशाबाट निवृत्ति भएर उनी क्रिकेटमा सकृय हुन थालेका थिए। उनले अष्ट्रेलियामा ६० वर्ष भन्दा माथिको वर्ल्ड कप क्रिकेट पनि खेले।

‘अहिले हामी विभिन्न देशहरुमा पुगेर त्यहाँका मान्छेसँग क्रिकेट खेल्ने, क्रिकेटको विकासका लागि सहयोग गर्ने, घुम्ने, संस्कृतिको अवलोकन गर्ने काम गरिरहेका छौं,’ उनले भने।

उनकी श्रीमती जेनी एल्डरले नेपालका सुन्दर ठाउँको विषयमा अन्यलाई जानकारी गराउने बताइन्।

अभिवादन एक्सपिडिसनले ६० देखि ७६ वर्षसम्मका १४ जना क्रिकेट खेलाडी, एक एम्पायर र एक स्कोररसहितको समूहलाई नेपाल ल्याएको हो। उनीहरुलाई नेपालमा क्रिकेट खेल्न   ग्रेट हिमालयन क्रिकेट एकेडेमीले व्यवस्थापन मिलाएको थियो।

‘चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदैगर्दा हामीले उनीहरुलाई यहाँ पनि खेलाउन चाहेका थियौं तर रंगशाला नबनेकाले खेलाउन सकिएन,’ अभिवादन एक्सपिडिसनका सिइओ उमेश गुप्ताले भने, ‘खेलाउन नपाएपनि चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु देखाउन पायौं।’

कोभिड १९ का कारण सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै जुर्मुराउँदै छ। राप्ती नदीको किनारमा रहेका पटिहानीका होटलहरुमा विदेशी पर्यटक बढ्न थालेका छन्। कतिपय होटल त विदेशी पर्यटकले भरिएका छन्।

सोल्टी वेस्टइण्ड रिसोर्ट पटिहानीका म्यानेजर केशव ढकालले केही महिनायता विदेशी पर्यटक आउनेक्रम बढेर गएको बताए।

‘कोरोना महामारीले पर्यटन व्यवसाय ध्वस्तै बनाएको थियो। केही महिनायता व्यवसाय फेरि सम्हालिन थालेको छ,’ ढकालले भने, ‘वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकहरु पटिहानीमा धेरै आइरहेका छन्।’

उनले पछिल्लो चार महिनामा करिब एक हजार जना विदेशी पर्यटकहरु सोल्टी वेस्टइण्ड रिसोर्टमा बसेको बताए। बुधबार रातिमात्रै यहाँ ७० जना विदेशीसहित ८० जना बसेका थिए।

‘राष्ट्रिय निकुञ्जमा डुँगा, हात्ती, जीप सफारी, जंगल वाक, थारु भिलेज टुर, कल्चर डान्सलगायतका लागि विदेशी पर्यटकको रोजाई पटिहानी बन्दै छ,’ उनले भने, ‘चितवन निकुञ्जको हेडक्वाटर कसराबाट नजिकै र शान्त वातावरण रहेकाले रोजाई परेको छ।’

यहाँ दुई रात तीन दिनका लागि आउने पर्यटकले करिब ३०० डलर खर्च गर्ने गरेको उनले बताए।

यहाँ अंग्रेजी नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रले श्रीमती कोमलसहित एक हप्ताभन्दा बढी समय बिताएका थिए।

पाँच बिगाह क्षेत्रफलमा बनेको यो रिसार्ट सञ्चालनमा आएको चार महिनामात्रै भयो। यहाँ ४० वटा कोठा, १२ वटा भिल्ला र दुईवटा स्विमिङ पुलसहितका प्रसिडेन्ट स्विट छन्। ५०० जना क्षमताको एउटा १५० जना क्षमता भएको दुईवटा बेङक्वेटहरु छन्। यी बेङ्क्वेटहरु ठूला पार्टीहरुका लागि सञ्चालनमा ल्याइने उनले बताए। यहाँ भारतीयलेसमेत विवाह पार्टी गर्दै आएका छन्।

पटिहानी क्षेत्रमा आधा दर्जन ठूला होटलहरु छन्। सोल्टी, कसरा रिसार्ट, जंगल भिल्ला, रिभर बैंक, नारायणी सफारी, इनटु द वाइल्ड इको रिसोर्ट यहाँ रहेका ठूला होटलहरु हुन्। साना दुई दर्जन जति होटल यहाँ छन्। नजिकै रहेको जगतपुरमा जगतपुर लज, टाइगर ल्याण्ड जस्ता ठूला होटल छन्। यी सबै होटलहरुमा गरेर ५०० जना पाहुना राख्ने क्षमता छ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ वडाध्यक्ष विष्णुराज महतोले जैविक विविधताको अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गरेर पटिहानी क्षेत्रमा लगानी बढिरहेको बताए।

यहाँ रहेको अम्रेला स्ट्रिटले आन्तरिक पर्यटक र निकुञ्ज, सामुदायिक वनहरुले बाह्य पर्यटकलाई लोभ्याएको उनले बताए। वडाले पर्यटनलाई खेलसँग पनि जोड्न प्रयास गरिरहेको उनले बताए। पटिहानीमा प्रदेश सरकारको लगानीमा देशकै ठूलो कवर्ड हल निर्माण भएको छ। महतोले यो सञ्चालनमा आएसँगै पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। यहाँ अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता पनि गर्ने गरिरहेको छ।

‘क्रिकेट रंगशाला पनि निर्माण गर्न सकियो भने पश्चिम चितवनको पर्यटनले थप गति लिनेछ,’ उनले भने, ‘पर्यापर्यटन र खेल पर्यटनको माध्यमबाट समग्र चितवनले फाइदा लिनसक्छ।’

बिगतमा सौराहामामात्रै पर्यटकको चाप हुने गरेकामा अचेल पश्चिम चितवनमा पर्ने पटिहानी, मेघौलीमा पनि पर्यटकको उल्लेख्य उपस्थिति देखिन्छ। मेघौलीमा मेघौली सेराई, बाराही जंगल लज, साराङ वाइल्डलाइफ स्याङच्युरीलगायतका ठूला होटल छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement