0Shares

भरतपुर, माघ १७ गते । चितवन राष्ट्रिय निकुञ्जभित्रको गैँडाको मुख्य बासस्थान मानिएको अमलटारी र यसको आसपासका क्षेत्र गैँडाका लागि प्राकृतिक र मानवीय रूपमै असुरक्षित देखिएको छ।

पछिल्लो समय यस क्षेत्रमा धमाधम गैँडा मर्ने र मारिने क्रम बढेसँगै यो क्षेत्र गैँडाका लागि असुरक्षित देखिएको विज्ञहरूले औँल्याएका छन्। गैँडामा विद्यावारिधि गर्नुभएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले यो क्षेत्रमा गैँडा धेरै मरेकाले यसको यकिन पहिचानका लागि अध्ययन हुनुपर्ने बताउनुभयो।

“प्राकृतिक कारणले मर्ने मात्रै हैन, अमलटारी क्षेत्रमा अहिले चोरी सिकारीले पनि गैँडा मार्न थाले,” प्रमुख डा. लामिछानेले भन्नुभयो, “यो क्षेत्रमा प्राकृतिक र मानवीय रूपमै किन गैँडा मरिरहेका छन् भनेर हामीले पनि अध्ययन गर्नुपर्ने अवस्था आयो।”

निकुञ्जमा चालू आर्थिक वर्षको छ महिनामै ११ वटा गैँडा मरेका छन्। यसरी मरेकामध्ये चोरी सिकारीले विद्युतीय धरापमा पारेर मारेका दुईसहित आठवटा गैँडा अमलटारी र यसवरपरका क्षेत्रका भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। पछिल्लो पटक गत शुक्रबार पूर्वी नवलपरासी जिल्लामा पर्ने अमलटारी क्षेत्रमा चोरी सिकारीले विद्युतीय धरापमा पारी मारेका माउ र बच्चा गैँडाको शव फेला परेको थियो।

अमलटारी क्षेत्रमा चोरी सिकारीले गैँडा मार्नुमा सुरक्षा कमजोरीलाई प्रमुख कारण औँल्याइएको छ। निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव गैँडा मर्नु र मारिनुमा सुरक्षा कमजोरी नै प्रमुख कारण ठान्नुहुन्छ।

“गैँडा मर्ने क्रम बढेकै बेला चोरी सिकारीले पनि निशाना यही क्षेत्रमा बनाएका पाइन्छ। यसले सुरक्षा चुनौती थपियो,” निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहनुभएका यादवले भन्नुभयो। गैँडा मारिनुमा उहाँको थप भनाइ थियो, “गैँडाकै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीको सक्रियता पनि अहिले कम भयो।”

नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म पनि गैँडा देख्न सकिने भएकाले चोरहरूलाई पनि सहज भएको बताइन्छ। अमलटारी क्षेत्रमै पर्ने लामीचौर सामुदायिक मध्यवर्ती वन उपभोक्ता समितिका सचिव लेखनाथ दवाडी त निकुञ्ज प्रशासन र सुरक्षामा खटिएका सेनाको हेलचेक्य्राइँले सिकारी गैँडा मार्न सफल भएको बताउनुहुन्छ।

“गैँडाका लागि नियमित निगरानी र गस्ती पुगेन,” उहाँले भन्नुभयो, “सिकारीले यति लामो बिजुलीको तार तानेर धराप थाप्दा पनि निकुञ्ज प्रशासनको ध्यान नपुग्नु हेलचेक्य्राइँ हो,” उहाँले भन्नुभयो।

कोषका प्रमुख डा. लामिछाने पनि गैँडा मारिनुमा कमजोर सुरक्षा नै प्रमुख कारण ठान्नुहुन्छ। “जहाँ सुरक्षाको ल्याकअप (अभाव) देखे सिकारीले त्यहीँ गैँडा मार्ने हो,” उहाँले भन्नुभयो।

पछिल्लो समय चोरी सिकार भएका गैँडा अमलटारी र यस आसपासका क्षेत्रमा भएका कारण पनि यो क्षेत्रमा सुरक्षा गतिविधि बढाउन जरुरी छ। निकुञ्जमा अहिले निकुञ्ज र सेनाका ५७ वटा पोस्ट छन्। एउटा पोस्टले १० किलोमिटरको औसत हेर्ने गरी स्थापना गरिए पनि ६० प्रतिशत गैँडा विचरण गर्ने अमलटारीसमेत पर्ने पश्चिमी क्षेत्रमा जम्मा १२ वटा मात्रै पोस्ट छन्।

सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गैँडाको सुरक्षार्थ सेना र निकुञ्ज प्रशासनले कुनै कमजोरी नगर्ने बताउनुभयो। “गैँडाको सुरक्षाका लागि हामी रणनीतिक रूपमा लागेका छौँ तर पनि गैँडा मारिनु दुःखद हो,” उहाँले भन्नुभयो। स्थानीय जनसहभागिता र जनचेतनाबिना गैँडाको चोरी सिकार नियन्त्रण गर्न नसक्ने उहाँले जनाउनुभयो।

२०७३ चैत यता २०७७ सम्म निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन्। यो बेला निकुञ्जले चोरी सिकार शून्य वर्ष पनि मनाएको थियो। निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन्। यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारले मारेका निकुञ्जसँग तथ्याङ्क छ। पछिल्लो समयमा अमलटारी क्षेत्रमा चोरी सिकारीले मारेको गैँडा भेटिएसँगै निकुञ्जमा चोरी सिकारी सलबलाउन थालेका देखिन्छन्।

प्राकृतिक कारण

चोरी सिकारसँगै अमलटारी क्षेत्रमा पछिल्लो समय प्राकृतिक रूपमा पनि गैँडा मर्ने क्रम धेरै नै देखिएको छ।

निकुञ्जको मुख्यालय कसराभन्दा पश्चिम क्षेत्रमा पर्ने अमलटारी क्षेत्र निकुञ्जभित्रको पनि गैँडाको प्रमुख बासस्थान हो। सन् २०२१ को गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेका छन्। यसमध्ये गैँडाको मुख्य बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका थिए। निकुञ्जमा भएका गैँडामध्ये यसको पश्चिमी क्षेत्रमा मात्रै ६० प्रतिशतभन्दा बढी गैँडा छन्।

कोषका प्रमुख डा. लामिछाने गैँडा मर्नुमा नारायणी तटीय क्षेत्रमा बढ्दो नदी प्रदूषण, पोषणयुक्त खानाको अभाव, एकआपसमा जुधाइ, बच्चालाई बाघले खानु, आमाबाट छुट्टिएर एक्लिनुजस्ता मुख्य प्राकृतिक कारण हुनसक्ने आशङ्का व्यक्त गर्नुहुन्छ।

“मारेका त तस्करले मारे, त्यसमा सुरक्षा कमजोरी झल्कियो नै; धमाधम गैँडा मर्नु पनि थप चुनौती हो,” उहाँले भन्नुभयो, “अहिले नारायणी नदी प्रदूषित छ। त्यही पानी खाएका गैँडा धमाधम मरिरहेका छन्।”

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement