33Shares

दुईजना स्कूले भुराहरू बसिरहेको छेउमा खाली ठाउँ देखेर गुडिरहेको भूमिगत रेल (सबवे मेट्रो)भित्रको सिटमा म थचक्क बसेँ । मेरो साथी मभन्दा केही परको सिटमा यसअघि नै बसिसकेको थियो । उसले आफू बस्नुभन्दा अगाडि मलाई बसाउन नबोलाएको पनि होइन तर मैले हातको इसाराले उसैलाई बस्नका लागि भनिसकेको थिएँ । टोक्यो महानगरीय भूमिगत रेलहरू सधैँ भीडभाडयुक्त नै हुन्छन् । भीड छिचोलेर सिटैका लागि मरिहत्ते गरेर उसको छेउ पुग्नुभन्दा आफू भएकै ठाउँमा उभिएर सिट पर्खिनु नै मलाई निको लागेको थियो र मैले त्यसै गरेको थिएँ ।
आठ–दस वर्षका झैँ लाग्ने ती जापानी पुलिङ्गी फुच्चेहरू एक–आपसमा गफिइरहेका थिए । हुन त सयांँैको सङ्ख्यामा यात्रु बोकेर कुदिरहने सहरिया रेलभित्रका कुनै पनि यात्रुलाई एक–अर्काको खासै मतलब हुँदैन जापानमा । तिनीहरू मूकप्रायः हुन्छन् । गफै गर्नुप¥यो भने मुस्किलले सानो स्वरमा एकदुई शब्दमात्र निकाल्छन् । यस्तो लाग्छ मानाँै, उनीहरू कानेखुसी गरिरहेछन् । मोबाइलका आवाजहरूलाई चल्ती रेलभित्र प्रायः सबैले मौन अवस्थामा राखेका हुन्छन् ताकि फोन आउँदा कसैलाई बाधा नपुगोस् ।
मानवीय मर्महरूको सम्मान र आस्था जति जापानमा छ त्यो बिरलै अरू मुलुकमा हुँदो हो । त्यसैले मानव–महासागर बोकेर उर्लेको भूमिगत रेलगाडीभित्र पनि आवाज र होहल्लाको रत्तिभर गन्ध भेटिँदैन । सियो खसेको आवाजसमेत थाहा पाइन्छ रेलगाडीभित्र । यस्तो लाग्छ मानौँ कसैलाई गफ गर्ने फुर्सद पनि छैन । त्यसैले सबका सब यात्रु कि त पुस्तक पढिरहेका भेटिन्छन् कि त उँघिरहेका हुन्छन् । अलिकति बचेका जेजति हुन्छन् तिनीहरू भने मोबाइलभित्रको खेल र एस.एम.एस.भित्रको कुखुरे बैँसमा चुर्लुम्म डुबेका हुन्छन् । चढ्दा र उत्रँदाको अनुशासन पनि साह«ै अनुकरणीय हुँदोरहेछ महानगरीय रेलहरूमा ।
जापानको महानगरीय रेलको सन्जाल बुझ्न बाहिरी देशबाट जाने जोकोहीलाई हम्मेहम्मे नै पर्छ । त्यसमा पनि भाषाको समस्या प्रशस्त खेप्नुपर्ने हुन्छ जापानमा । यस हिसाबले कोरियाको रेल–प्रणाली केही सजिलो नै छ । सियोल महानगरीय परिसर र त्यसको आसपासमा चल्ने जुनसुकै नम्बरधारी रेलबाट यात्रा गर्दा पनि भित्र–भित्रैबाट आफ्नो गन्तव्यमा पुग्न सकिन्छ तर टोकियोमा भने यस्तो सुविधा नभएको पाइयो ।
स्कूले नानीहरू भएछेउ– म के बसेको थिएँ, तिनीहरू त ज¥याकजुरुक्क उठेर पो हिँडे । मैले सम्झेँ, तिनीहरूको गन्तव्य आएकाले उठेका होलान् तर बुझ्दै जाँदा म गल्ती निस्केँछु । दुई–तीन बिसौनी रोकिएर पार हुँदासमेत तिनीहरू उत्रिएनन् । यो सबै दृश्य मेरो साथीले नियालिरहेको रहेछ । ओर्लिसकेपछि पो उसले कुरा खोल्यो । जुँगासहितको मेरो अनुहारको बनोट र विदेशी हो भन्ने थाहा पाएपछि उनीहरू हच्केर उठेका रहेछन् ।
नेपालमा भए नेपाली भुराहरूले आत्मीयताका साथ कुरा गर्नेथिए । कहाँ, कता, कुन, कहिलेसम्मका प्रश्नहरूबाट उत्तर खोजिन्थे । एककिसिमले सोध्नु र जिज्ञासा राख्नु नराम्रो कुरा हुँदैनथ्यो नेपालमा । तर फरक रहेछ जापान, फरक रहेछ जापानको बालमनोविज्ञान । उल्टो रहेछ यताको भन्दा त्यताको बालसंवेदना । विदेशीले केही कुनै प्रश्न गर्छ कि भनेर डराएका रहेछन् तिनीहरू । नचिनेका विदेशीहरूसँग बोल्नुहुन्न भनेर सिकाएको हुँदो रहेछ उनीहरूका शिक्षक र अभिभावकहरूबाट । साथीले पो सबै कुराको भेद खोल्यो मलाई । झन् दाह«ी–जुँगा भएको विदेशी मान्छेसँग त ठूल–ठूलै मान्छे पनि बोल्न सङ्कोच मान्दा रहेछन् । मुसलमानी आतङ्ककारी झैँ सम्झिँँदा रहेछन् मान्छेहरूले । बालबालिकासँग हाँस्ने, छुने, खेलाउने, जिस्क्याउने भन्ने कुरा टाढाको वस्तु हुँदोरहेछ जापानमा ।
रहदै बस्दै गर्दा मन मिलेपछि सबैको कुराको भेद जापानी साथीले मलाई यसरी खोलिसकेको थियो । ‘जापानीहरूले हत्तपत्त आफ्ना देशबाहेक अरू देशकालाई त्यति गन्दैनन् पनि । सेतो छालाका छन् भने मात्र गन्दछन् । दक्षिण एसियाली वा मध्यपूर्वकालाई बाहिरबाट त केही भन्दैनन् तर भित्रबाट भने त्यति विश्वासै गर्दैनन् । त्यसैले पनि जापानीहरूलाई गरिब देशका मानिसहरूले रिझाउन धेरै मुस्किल पर्छ । धेरै परख गरेर मात्र उनीहरू नजिकिन्छन् नत्र केवल औपचारिक सम्बन्धमै रहेर झारा टार्ने काम गर्छन् ।’
‘गफ गर्दा, हेर्दा र हिँडडुल गर्दा सामान्य लागे पनि प्रत्येक कुराको सूक्ष्म अध्ययन गरिरहेका हुन्छन् जापानीहरुले । यहाँसम्म कि कसरी खान्छ, कसरी हिँड्छ, कसरी हाँस्छ, काँटा–चम्चाको कति प्रयोग गर्छ, कत्तिको हिम्मतिलो छ, कति सहयोगी छ, आफ्नो काम आफैँ गर्छ कि गर्दैन, कुराभन्दा काम धेर गर्छ कि गर्दैन, कति दयालु छ, स्वाभाविक छ कि कृत्रिम छ जस्ता कुराको उच्च मापन र मूल्याङ्कन हुन्छ जापानमा ।’
एउटै भाषा र एउटै जात भएकाले छोइछिटो र जातीय भेदभावभन्दा माथि उठेको छ जापान । त्यसैले विकास गर्न पनि सजिलो भएको रहेछ जापानमा । कामको कुनै वर्गीकरण हँुदैन । सोझो र मेहनती मान्छेलाई असाध्य मन पराइन्छ र कामको पूजा हुन्छ त्यहाँ । यो गर्न हुने र त्यो नहुने भन्ने प्रश्न नै उठ्दैन जापानमा । एउटा मान्छे जीवनभर एउटै पेसामा लागेर पोख्त हुन्छ । एउटै विषयमा एकोहोरो लागिपरेर ज्ञाता हुन्छ । लगनशील भएर सधैँ एउटै कममा लागिरहनु जापानीहरूको विशेषता हो । इमान्दारी, सत्यवादिता र साझोपन जापानीहरूको गहना हो । लगनशील र इमान्दार भएर नै जापान त्यति माथि उठेको हो । नियमकानुनको पूर्ण पालना र जोसुकैलाई पनि नियम–कानुनले नछोड्ने हुँदा कानुनी राज्यको पूर्ण अनुभूत गर्न सकिँदो रहेछ जापानमा ।
दक्षिण एसियाली मुलुकमा जस्तो चोरीचकारी, लुटपाट, धोकाधडी छँदैछैन भने पनि हुन्छ जापानमा । बाल्यावस्थादेखि नै यस्ता कुराहरूबाट टाढा हुन्छन् जापानी बालवालिकाहरू । सानैदेखि राम्रा कुराहरू सिकाइएका हुन्छन् केटाकेटीलाई । त्यसैले उनीहरूको मस्तिष्कमा नराम्रा कुराहरू वास बस्नै आएका हुँदैनन् । भएभरका उत्पादनहरूमा पारदर्शी, परिष्कृतता र गुणस्तर निर्धारण गरिएको हुन्छ । त्यसैले जापानी सामानहरू स्तरीयताका हिसाबले संसारभरि नै प्रसिद्ध रहेका छन् । आन्तरिक राजनीति, विश्वराजनीति र सामान्य ज्ञानतिर भने जापानीहरूको खासै चाख रहेको देखिँदैन । कतिलाई त आफ्नो देशको प्रधानमन्त्रीको नामसमेत थाहा नहुनसक्छ जापानमा । कामबाहेक अरू कुराको ज्यादा वास्ता नभएर पनि यसो भएको हुनुपर्छ ।
तर नेपालको रहनसहन र परिवेश अलि भिन्न छ जापानको भन्दा । अधिकांश अर्धबेरोजगार र बेरोजगार मान्छेहरूको जनसङ्ख्या ज्यादा भएकाले कामभन्दा कुराको खेती प्रशस्त हुन्छ नेपालमा । एउटा चियापसल थापेर बस्ने मान्छे यति चेतन र संवेदनशील हुन्छ कि उसलाई आफ्नो मात्र नभएर विदेशका समेत प्रायः धेरै नेता र राजनीतिक दलको नाम थाहा हुन्छ र ऊ ठूलै नेताले जस्तो भाषण पनि गर्नसक्छ । अर्काको चियोचर्चो गर्ने कुरामा पनि नेपालीहरू अगाडि नै रहेकाहरु छन् । सायद यी सबै बढी फुर्सद हुँदाका नतिजा हुन् । कामको बोझले दायाँबायाँ सोच्न फुर्सदसमेत नहुने जापानीहरू र काम नभएर ‘खाली मन सैतानको घर’ हुने नेपालीहरूको धेरै कुरामा भिन्नता छ ।
नातागोता र संयुक्त परिवारको सन्जाल नेपालको पारिवारिक संरचनाभित्रको विशेषता हो । नेपालका सहरी इलाकामा समेत संयुक्त परिवारको अवधारणा अझैसम्म विद्यमान छ तर जापानमा भने ठ्याक्कै उल्टो छ । गुँडको बच्चा हुर्केर पखेटा आएपछि भुर्रर उडेर अन्तै कतै दूर प्रदेशमा गएझैँ जापानमा पनि साबालक भएपछि आमाबुबाको पुख्र्यौली घर रुँघिरहने चलन छैन । प्रत्येक जापानी वयस्कहरू आफ्नै खुट्टामा उभिएर आफ्नो संसार आफैंँ बनाउने ध्याउन्नमा लागेका हुन्छन् । नेपालमा जस्तो अंश खोजेर बुबाआमालाई रडाको मच्चाउने र मुद्दा–आतङ्कमा उत्रने चलन पनि जापानमा रहेनछ ।
यति हँुदाहुदै पनि माया र प्रेमको आन्तरिक दाम्पत्य सन्जालमा नेपाल जापानभन्दा धेरै धनी छ । सानोतिनो ठाकठुक पर्दैमा, झिनामसिना असमझदारी हुँदैमा पारपाचुकेको कठोर निर्णय हुने गरेका एकाध घटनाबाहेक नेपाल सधैँ यस मामलामा अछुतो नै छ । पूर्वीय दर्शनले साँधेका जीवनका अमूल्य पारलौकिक मान्यता र आत्माचेतको दर्शनले ओतप्रोत छ नेपाली समाज । योग, आत्मज्ञान र ईश्वरीय सत्ताको नैतिक निष्कर्षले उज्यालिएको छ नेपाली संस्कार । आजभोलि जापानीहरू पनि अहिले आएर पूर्वीय चिन्तनप्रति लोभिएका छन् । एकाध अपवाद छाडेर आमाबाबुलाई गरिने सम्मान र पितृभक्तिको अतुलनीय हिन्दू परम्परालाई धेरै पूर्वीय र पाश्चात्य देशहरूले समेत सम्मान गरेका छन् । पतिपत्नी, छोराछोरी र इष्टमित्रमा हुने गरेको मायाको आत्मिक उत्कर्षले हामी धनीमात्र छैनौँ सुखी पनि छौँ । यो सुख अन्य सातसमुद्रपारिका देशमा पाइँदैन । सानोतिनो बनीबुतो र कम आम्दानीमै पनि गुजारा गर्न सकिने नेपालको जीवनशैली र कम मेहनतमै सहज बाँच्न सकिने जीवनपद्धति संसारभरमै उदाहरणीय र अनुकरणीय छ । यस्तो कुरा बाह्य मुलुकमा कल्पनासमेत गर्न सकिँदैन । मृत्युदर कम हुनु र जन्मदरको सङ्ख्या घट्दै जानु जापानको वर्तमान यथार्थ रहेछ । उमेर छिप्पिन्जेलसम्म अविवाहित नै बस्न र बेफुर्सदीका कारण बच्चबच्ची जन्माउन नचाहनु एकप्रकारले समस्याजस्तै भएको रहेछ जापानमा । त्यही समस्या हङकङ र कोरियामा पनि छ । प्रायः उस्तैउस्तै जीवनशैली र पारिवारिक बनोट भएका यी देशहरूमा मानव–संसाधनको संरचना पनि धेरै हदसम्म मिल्दो छ ।
एसियाका अन्य मुलुक हेरेर यी देशहरूमा विकाससँगसगै पश्चिमा संस्कृतिको विकृत छाप पनि प्रशस्त देख्न पाइन्छ । रातभरि संचालित डिस्को, रात्रिक्लब, खुला यौनव्यापार र सार्वजनिक ठाउँमा भेट्न सकिने यौनसाहित्य र यौनसँग सम्बन्धित सामग्रीहरूको बेचबिखनले बालमष्तिस्कमा पक्कै पनि राम्रो प्रभाव पारेको भन्न मिल्दैन । यद्यपि यी सामग्रीहरू किन्न र हेर्नका लागि उमेर हदबन्दी भए पनि पूर्णरूपमा पालना गरिएको भने पाइँदैन । यसको परिणाम स्कुले जीवनबाटै खुल्ला यौनव्यापार र संसर्गले युवा जमातलाई तानेको भेटिन्छ ।
त्यसो त जापानी यौनबजारमा जापानीहरूको मात्र संलग्नता छैन । सन् २००४ को डिसेम्बर महिनाको कुनै दिन मानाबुसान र म टोकियोका केही ठाउँहरूको यात्रामा निस्कँदै गर्दा एकदुई अफ्रिकी पुरुषहरूले जापानी महिला फकाउँदै गरेको दृश्य देखेको थिएँ । मैले प्रश्न गर्नै नपाई मानबुसानले आफैँ वास्तविकता बताउँदै भने ‘प्रसाईसान, तपाईँले हेर्दै गर्नुभएको दृश्य मलाई पनि मन परेको छैन । म चाहन्न कि कुनै विदेशी आएर हाम्रै आँखाअगाडि हाम्रा चेलीहरूसँग यौनको सौदा गरुन् । कति लाजमर्दो कुरा छ यो । संसारकै दोस्रो धनी राष्ट्रकी चेलीलाई पैसाको नाममा हामीले बेच्नुपरेको, तर के गर्ने ? यस कुरामा हाम्रो कानुन साह«ै फितलो छ । हामीले चाहँदैमा केही हुनसक्दैन ।’
मलाई लाग्यो मानबुसानको कविहृदय बोलिरहेको थियो । कति कुरा देशलाई दुःख्दैन तर कविलाई दुःख्छ । देशले सहज खोज्दछ तर त्यही कुरालाई लेखकहरूले असहज मानिदिन्छन् ।
मानबुसानको चित्त अझै बुझेनछ । हेर्दै वक्रासुरजस्तो देखिने नजिकैको कृष्णवर्णे अफ्रिकी मूलको मान्छेसँग उनलाई चित्त नबुझेको हुनुपर्छ । त्यसैले उनी भन्दै गए ‘हुन त जापान यौनव्यवसाय गर्नेहरूका लागि गन्तव्य र प्राप्ति दुवै हो । सोभियत गणराज्यको साइबेरियालगायत थुप्रै विघटित गणराज्यहरू र ब्राजिलबाट समेत हजारौको सङ्ख्यामा यौनकर्मीहरू जापान आउँछन् । यसरी आउनेमा विश्वविद्यालय पढ्दैगरेका युवतीहरू पनि हुन्छन् । तीन महिनाको भ्रमण भिसामा कलेजको छुट्टी समय पारेर आउनेहरूले एक वर्षसम्म पुग्ने पढाइखर्चको जोहो यहीँबाट मिलाएर जान्छन् ।’ ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ यसरी आउनेहरूमा समलिङ्गी यौनकर्मीहरू पनि हुँदारहेछन् ।
त्यसो त जापान समलिङ्गीहरूले पनि अरूझैँ समान अधिकार पाएको मुलुक हो । सार्वजनिक ठाउँ रेलहरूमा पनि खुला रूपमा समलिङ्गीहरूलाई जोडी भएर हिँडेको देख्न सकिन्छ । यतिमात्र होइन जापानमा नाम चलेका गायक र अभिनेताहरू पनि आफू समलिङ्गी भएको घोषणा आफैँ गरेर खुलारूपमा आएका हुन्छन् । अरू सामान्य लिङ्गीझैँ उनीहरूले उत्तिकै सम्मान र मानमानितोसमेत पाएका छन् । मानवअधिकारको उच्च सम्मान गरिने मुलुक भएकाले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको मानवअधिकार हनन हुने गरी कुनै पनि काम हुँदा रहेनछन् जापानमा ।
ááá
रहँदैबस्दै गर्दा धेरै कुरो सिक्न सकिँदो रहेछ विदेशमा । हामीले धेरै कुरा सिक्न बाँकी रहेछ जस्तो लागिरहन्छ सधैँभरि । छाड्नुपर्ने कुरा धेरै रहेछन् हामीले । लिनुपर्ने कुरा धेरै रहेछन् हामीले । लिने भन्दैमा भएभरका सबै लिन पनि नसकिँदो रहेछ विदेशबाट । तर जति लिइन्छन् काम लाग्ने कुरा मात्र लिनुपर्ने रहेछ । त्यहाँको अनुभव र अनुभूतिले मलाई यही भनिरहेको थियो ।
जनैमा साँचो झुन्ड्याउने मुलुकबाट भरसक ढोकै नलगाउने मुलुकमा थिएँ म । मेरो देशमा भाले बास्नै लागेको बेलामा कम्मरभन्दा मुनिसम्मको पराई हिउँमा खेलेर शरीरलाई दिनसम्म सास्ती दिइरहेको थिएँ म । त्यति धेरै हिउँ परेको यथार्थ आफ्नै अगाडि छामेर, सुम्सुम्याएर र देखेर अनुभव गरिरहेको थिएँ म ।
यद्यपि मलाई नेपालकै हिउँ मन परेको थियो । नेपालकै हिउँदे डाँडामा कठ्याङ्ग्रिँदै आगो ताप्ने रहर थियो । नेपालकै कलिला भुराहरूलाई पेन्सिल समाएर कखरा रटाउने रहर थियो तर कस्तो निम्ठिएको नियति रहेछ । नेपालमा नटेकेको र नदेखेको हिउँको साम्राज्यको स्वाद जापानी भूमिले चखाइरहेको थियो । मैले नेपालमै लिन खोजेको फुसफसे हिउँ र जाडोको अनुभव जापानले गराइरहेको थियो । म आफ्नै नियतिसँग प्रश्नैप्रश्नहरूको सामना गरिरहेको थिएँ । आखिर नियति नियति नै थियो । नियतिलाई म जान्न पनि सक्तिनथेँ ।
á

33Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement