0Shares

काठ्माडौं । निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा जुटेको प्रहरीले अत्यधिक खोजीका शङ्कितको डीएनए संकलन गर्न सफल भएको छ । प्रहरीको उच्च स्रोतका अनुसार लामो समयदेखि भारतमा रहेका ती शङ्कितको रगतको नमुना संकलन गरिएको हो ।

२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीको अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो ।
निर्मलाको बलात्कार र हत्यालगत्तै भारत पुगेका ती शङ्कितको डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको हो । दुई जनाको रगतको नमुना लिएको भए पनि एक जना मात्रै शङ्कित रहेको प्रहरीको भनाइ छ ।
घटनाका समयमा नेपालमै बसोबास गरिरहेका ती शङ्कित निर्मलाको बलात्कार र हत्यालगत्तै भारत पुगेका थिए । ४ वर्षभन्दा लामो समयसम्म पनि नेपाल नफर्किएका ती शङ्कितको डीएनए स्याम्पल लिन प्रहरीले धेरै ठूलो मिहेनत गरेको थियो । शङ्कितलाई नेपाल फर्काउन धेरै प्रयास गरिएको भए पनि ती शङ्कितलाई नेपाल ल्याउन नसकिएपछि उनको डीएनए संकलन हुन सकेको थिएन ।

प्रहरी स्रोतका अनुसार शङ्कितको परिवार नै त्यतिबेला कञ्चनपुरमा व्यापार व्यवसाय गरेर बसेको थियो । तर घटनालगत्तै ‘फरार’ रहेका ती शङ्कित त्यसपछि नेपाल फर्किएका थिएनन् । डीएनए टेष्टका लागि रगतको नमुना लिएसँगै प्रहरी उत्साहित बनेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

डीएनए संकलन गरिएका शङ्कित पक्राउ परेको हो कि होइन भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन । ती व्यक्तिको डीएनए प्रोफाइलिङका लागि भारतबाटै रगतको नमुना ल्याइएको हो कि नेपालमै पक्राउ गरी नमुना संकलन गरिएको हो, त्यो पनि खुलाइएको छैन । यद्यपि रगतको नमुना संकलन गरिएका व्यक्ति प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका व्यक्ति रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

प्रहरीले घटना भएको २५ दिनपछि स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । विष्टले मौकाको बयानमा अपराध कबुल गरेको भन्दै प्रहरीले सार्वजनिक समेत गरेको थियो । तर विष्ट मानसिक रोगी रहेको पाइएको र निर्मलाको भजाइनल स्वाबसँग विष्टको डीएनए म्याच नभएपछि उनलाई रिहाइ गरिएको थियो । व्यापक दबाव आएपछि उनलाई रिहाई गरिएपछि प्रहरीले अन्य व्यक्तिमाथि निरन्तर सोधपुछ गरिरहेको छ । यद्यपि प्रहरीलाई सफलता भने मिलेको छैन ।

प्रहरीले यसअघि पनि एकसय जनाभन्दा बढी व्यक्तिको डीएनएको नमुना लिएर अनुसन्धान गरिसकेको छ । तर भजाइनल स्वाबसँग कसैको पनि डीएनए नमिलेपछि प्रहरीले ती सबैलाई रिहा गरेको थियो । यसभन्दा अगाडि पनि प्रहरीले भारतबाटै एक व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएको थियो । घटनामा संलग्नता हुनसक्ने आशंका गरिएका ती भारतीय नागरिकलाई करिब २ साता प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । तर ती व्यक्तिको पनि डीएनए म्याच नभएपछि उनलाई रिहा गरिएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सिंह नेतृत्वको अनुसन्धान टोली अहिले पनि कञ्चनपुरमै रहेको छ । स्रोत: रातोपाटी

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement