2Shares

काठमाडौँ — भारतीय केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले निजी क्रिप्टोकरेन्सीका कारण आर्थिक मन्दी हुने भनाइ राखेपछि यसबारे बहस सुरु भएको छ । हालै आयोजित एक कार्यक्रममा उनले क्रिप्टोकरेन्सीजस्ता वैकल्पिक डिजिटल मुद्राहरूमा प्रतिबन्ध लगाइनुपर्ने बताएका थिए ।

‘विभिन्न देशले क्रिप्टोकरेन्सीबारे फरक दृष्टिकोण व्यक्त गर्ने गरेका छन् तर हाम्रो दृष्टिकोणमा यसलाई प्रतिबन्ध गर्नु ठीक हुन्छ,’ दासले भनेका छन्, ‘यसलाई नियमन गरेर सञ्चालन गर्न दिए आगामी आर्थिक मन्दी निम्त्याउने कारण बन्नेछ ।’ उनले भारतको समस्त आर्थिक र वित्तीय स्थिरताको लागि क्रिप्टोकरेन्सी जोखिमपूर्ण हुने बताएका थिए । क्रिप्टोकरेन्सीको क्षेत्रमा यसपटक झण्डै १.३ ट्रिलियन (१३ खर्ब) डलर बराबरको क्षति भएको र क्रिप्टो एक्सचेन्ज कम्पनी एफटीएक्स संकटमा परेको उदाहरण दिँदै उनले क्रिप्टोमा गरिने कारोबार सट्टेबाजीजस्तै भएको धारणा राखेका थिए ।

भारतको रिजर्भ बैंकले भारतीय रुपैयाँको डिजिटल भर्सन डिजिटल रुपी सार्वजनिक गर्न लागेको सन्दर्भमा दासको यस्तो भनाइ आएको हो । रिजर्भ बैंकले डिसेम्बर १ बाट केही शहरमा डिजिटल रुपीको खुद्रा प्रयोगबारे परीक्षण सुरु गरिसकेको छ । एप र मोबाइल वालेटबाट प्रयोगकर्ताले डिजिटल रुपीमार्फत कारोबार गर्न सक्ने सीएनबीसीको समाचारमा उल्लेख छ । भारत मात्रै नभएर विभिन्न देशका केन्द्रीय बैंकले आ–आफ्ना मुद्राको डिजिटल भर्सन प्रयोगमा ल्याउन अभ्यास गरिरहेका छन् । हामीकहाँ पनि चालु आर्थिक वर्षको बजेट भाषण र नीति तथा कार्यक्रममा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को व्यवस्था गरिने उल्लेख थियो । राष्ट्र बैंकले यसबारे गृहकार्य गरिरहेको जनाएको छ ।

क्रिप्टोकरेन्सीजस्ता निजी क्षेत्रले निर्माण गरेका डिजिटल मुद्रा कसैको अधिन र नियमनमा नहुने भएकाले केन्द्रीय बैंकहरूले यसको सट्टा सीबीडीसीलाई प्राथमिकता दिने गरेका छन् । क्रिप्टोकरेन्सी पूर्ण रूपमा प्रतिबन्ध रहेको चीन सीबीडीसीमा विश्वकै अग्रणी देश हो । सन् २०२० देखि बेइजिङले आफ्नो डिजिटल युआनको विकास गरी यसलाई निरन्तर प्रवर्द्धन गर्दै आइरहेको छ । भारतले पनि क्रिप्टोकरेन्सीसम्बन्धी कानुन बनाई यसलाई प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ ।

 

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement