16Shares

गएको दुई दिनमै शेयर बजारले सेन्चुरी मार्‍यो। सूचकले ११६.७३ अंकको वृद्धि कायम गरेसँगै बढेर सेन्चुरी मारेको हो।

दुई दिनमा सूचक मात्रै बढेन लगानीकर्ताको सम्पत्तिको मूल्य समेत एक खर्ब ६८ अर्ब रुपैयाँले बढ्यो। किनकि गत बिहीबार २७ खर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण मंगलबार बढेर एकाएक २८ खर्ब ६८ अर्ब रुपैयाँमा उक्लियो।

यसरी नै कुनै दिन लगानीकर्ताको सम्पत्तिको मूल्य बढेर ४४ खर्व ६८ अर्ब रुपैयाँ पुगेको थियो। २०७८ भदौ दुई गते कुल बजार पूँजीकरण बढेर ४४ खर्व ६८ अर्ब रुपैयाँ पुगेको हो। तर जसरी लगानीकर्ताको सम्पत्ति कागजमै बढ्यो, त्यसैगरी लगानीकर्ताको सम्पत्ति क्षयीकरण पनि भयो। गएको एक वर्षमै लगानीकर्ताको सम्पत्तिको मूल्य १८ खर्ब ५९ अर्बले घटेर २६ खर्ब आठ अर्बमा खुम्चिन पुग्यो। गएको असोज ९ गते कुल बजार पूँजीकरण २६ खर्ब आठ अर्बमा झरेको हो।

त्यस यता पुन: लगानीकर्ताको सम्मतिको मूल्य बढ्न थालेको छ। असोज यता मात्रै लगानीकर्ताको सम्पत्तिको मूल्य दुई खर्ब ५९ अर्बले बढी सकेको छ। शेयर बजार घट्दो क्रममा या बढ्दो क्रममा यसैगरी सम्पत्तिको मूल्य बढ्ने र घट्ने क्रम चल्छ।

मंगलबार कारोबार रकम पनि उल्लेख्य बढेको कारण लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो। मंगलबार पाँच महिना यताकै उच्च कारोबार भयो। जुन गत साउन १८ यताकै उच्च हो। उक्त दिन ४ अर्बभन्दा बढीको शेयर किन/बेच भएका थिए।

मंगलबार बढेको कारोबार रकम र सूचक दुवैले शेयर बजारलाई अझै माथि लैजाने विश्लेषण हुन थालेका छन्। तर बढेको सूचक र कारोबार रकमले एक पटक मात्रै ब्रेक गर्दैमा बजारले माथिल्लो यात्रा तय गर्छ नै भन्ने निश्चित गर्न सक्दैन। नेप्सेले वृद्धि कायम राख्ननको लागि मंगलबार भएको कारोबार रकम र सूचक दुबैलाई पुन: ब्रेक गर्नु पर्ने हुन्छ। किनकि बजार बढ्नलाई मंगलबार किनेका मानिसहरूले नफा कमाउनै पर्छ। अनि मात्रै बजारमा पैसा घुम्न सुरु गर्छ। बजारमा पैसा घुम्न सुरु गरेपछि मात्रै बजारले निश्चित रुपमा माथिल्लो यात्रा तय गर्न सुरु गरेकोको रुपमा बुझ्नु पर्ने हुन्छ।

मंगलबार भएको कारोबारलाई तुरुन्तै ब्रेक गर्नु पर्छ भन्ने छैन। तर कम्तीमा पनि १५ कारोबार दिनमा बजारले उक्त कारोबार रकमको रेकर्डलाई ब्रेक गर्न सकेन भने सूचकलाई माथिल्लो यात्रा तय गर्न मुस्किल हुने छ। किनकि बजारमा भएको लगानीकर्ताको पैसा पुन: माथिल्लो मूल्यमा गएर अड्किन्छ। माथिल्लो मूल्यमा गएर पैसा अड्किन थालेपछि कारोबार रकम सेलाउँदै जाने गर्छ। जसले शेयर बजारलाई पनि तल झर्न टेवा दिन्छ।

तर बजारले मंगलबारको भएको कारोबार रेकर्ड ब्रेक गर्न सक्ने थुप्रै आधारहरू टेक्न खोजिरहेको छ। सूचक निक्कै तल आउनु, मुलुकमा नयाँ सरकार गठन हुनु, प्रधानमन्त्री नियुक्त हुने बित्तिकै खस्किँदो अर्थतन्त्रबारे सम्बोधन हुनु, शेयर बजारले रुचाएका अर्थमन्त्री आउनु, अर्थमन्त्री भए लगत्तै लामो समयदेखि असन्तुष्ट रहेको निजी क्षेत्रलाई वार्तामा बोलाउनु अहिलेका शेयर बजार बढ्ने आधारहरू हुन्। त्यही आधारलाई टेकेर बजारले दुई दिनको फड्को मार्‍यो। तर ती आधारहरू वास्तविकतामा परिणत हुन्छन् कि हुँदैनन् ? भन्ने मूल प्रश्न हो। सोही प्रश्नको उत्तरले नै बजारले बढ्दो यात्रा कायम गर्ने वा नगर्ने तय गर्ने छ।

बजारले क्रमिक रुपमा सकारात्मक उत्तर पाउँदै गए मंगलबारको कारोबार रेकर्डलाई ब्रेक गर्ने छ। अन्यथा बजारले बियरमा पनि बेला बेलामा सिजनल बुल आउँछ भन्ने पुन एक पटक प्रमाणित गर्ने छ।

16Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement