0Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि अर्थमन्त्री को बन्ने भनेर निश्चित भइसकेको छैन । तर, एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने सम्भावनाको चर्चासँग सबैभन्दा बढी खुसी लगानीकर्तामा देखिएको छ ।

पौडेल अर्थमन्त्री बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन र त्यसमा पनि विशेषगरी कसले अर्थमन्त्रालय सम्हाल्छ भन्ने विषयको सीधा असर सेयर बजारमा देख्न सकिन्छ ।

२०७२ सालमा पनि सेयर बजारले उच्च विन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सरकारको नेतृत्व केपी ओलीले गरेका थिए । सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले पनि नयाँ रेकर्ड बनाइरह्यो । त्यतिबेलै बजारले १८८१ को उच्च विन्दु चुम्न सकेको हो ।

२०७४ को निर्वाचनपछि वाम गठबन्धनको तर्फबाट केपी ओलीको नै सरकार बन्यो । अर्थमन्त्रीमा डा. युवराज खतिवडा आइपुगे । अर्थतन्त्रको विज्ञ मानिएका खतिवडालाई पनि बजार पत्याएन । उनलाई निजी क्षेत्रमैत्री नभएको आरोप पनि लाग्ने गरेको छ ।

अर्थतन्त्र सुधार्ने आशा खतिवडामा थियो । तर, उनी एकतर्फी ढंगले अघि बढेर टेक्नोक्रयाटको पारा देखाएको भन्दै उनकै पार्टीभित्र व्यापक आलोचना भयो । अन्तत: उनलाई अर्थमन्त्रीबाट हटाएर पुन: विष्णु पौडेललाई ल्याइयो । यद्यपि खतिवडाले आलोचना खेपेर भने पनि अर्थतन्त्र जोगाएको बताइन्छ ।

हुन त पौडेल अर्थतन्त्रका विषय विज्ञ होइनन तर पनि उनले दिने अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ता रमेश कुँवर बताउँछन् । विष्णु पौडेल अर्थमन्त्रीका रूपमा पुनः आएपछि सेयर बजार पुन: लयमा जान थालेका थियो । विष्णु पौडेलकै पालामा सेयर बजार सर्वाधिक उच्च विन्दुमा पुगेको थियो ।

३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको छ । यद्यपि आजै अर्थमन्त्रीमा विष्णु पौडेलले सपथ लिने चर्चापछि बजारमा चमक सुरू भएको छ । बजारले सर्वाधिक नरुचाएका अर्थमन्त्री जनार्दन शर्माको बहिर्गमन भइसकेको छ ।

एमालेको तर्फबाट नेतृत्व गर्दै पौडेल तेस्रो पटक अर्थमन्त्री बन्ने निश्चित भइसकेको छैन । यद्यपि सरकारको नेतृत्वका सन्दर्भमा सुवास नेम्वाङ मन्त्री नहुने भएकाले पौडेलले नै नेतृत्व गर्ने देखिन्छ ।

यसअघि अर्थमन्त्री हुँदा पौडेलले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने प्रयास गरेका थिए । उनको दुई पटकको अर्थमन्त्रीको कार्यकालको नजिरले नै उनी लगानीकर्ताका लागि भाग्यशाली बनेको देखाउँछ । अहिले ५८ लाखभन्दा बढी लगानीकर्ता बजारमा छन् । उनी आफू अर्थतन्त्रका विज्ञ नभएपनि सबैको कुरा सुनेर निर्णय गर्ने गरेको उनका विगतको कार्यशैलीले देखाउँछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement