0Shares

नेपाली लेखक–कविहरूले सामाजिक सञ्जालमा एकै खाले स्टाटस राखेर भारतका एक कविलाई भारइल बनाइरहेका छन् । भारतीय जनता पार्टीका कार्यकर्ताहरूले गएकाे ४ तारिखदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेकाे कामलाई प्रचार गर्ने क्रममा सुरू गरेकाे एउटा झुटाे समाचार भाइरल भएपछि नेपालमा पनि त्यसकाे नेपाली अनुवाद भाइरल भएकाे थियाे ।

हिजाे  दिउँसाे २ बजे नै उडिसाका स्थानीय लाेकप्रिय कवि डा. हलधर नागले आफ्ना बारेमा भाइरल भएकाे समाचार खण्डन गरिसकेका छन् । नेपालमा भने कविले खण्डन गरेकाे २० घन्टा बितिसक्दा पनि भारतीय जनता पार्टीका कार्यकर्ताले भाइरल बनाएकाे समाचारकाे नेपाली अनुवाद नै भाइरल भइरहेकाे छ । याे समाचार सेयर गर्नेमा सामान्य साहित्यप्रेमी मात्र हाेइन, नेपालमा लाेकप्रिय, अध्ययनशील र प्रतिष्ठित कवि लेखकहरू पनि संलग्न भएका छन् ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार आफ्नो अवस्थाबारे भाइरल बनाइएको पोस्टप्रति नागले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘सो पोस्ट झूटो र मनगढन्त मात्र होइन, अपमानजनक पनि छ ।’

नेपालमा समेत भाइरल भएको भारतका प्रान्तहरूमध्ये उडिसाको सम्बलपुरी वा कोसली भाषाका प्रख्यात कवि डा. हलधर नागले हालै पद्मश्री पुरस्कार लिनका लागि राजधानी नयाँ दिल्ली जाने पैसा नभएको र यसबारे भारत सरकारलाई पत्र लेखी उनको पुरस्कार हुलाकबाट पठाइदिन आग्रह गरेको खबर भाइरल भएको थियो ।

डा. नागले यो झूटो खबर भाइरल बनाइएको बताएका छन् ।

उनले आफूले २०१६ मा नै पद्मश्री पुरस्कार प्राप्त गरिसकेको बताएका छन् । त्यो बेला पुरस्कार प्राप्त गर्दा पनि आफ्नो गरिबीको कारण देखाउँदै कुनै पत्र नलेखेको न त हुलाकबाट पुरस्कार पठाउन आग्रह गरेको उनले बताएका छन् ।

लोककवि डा. हलधर नागले पद्मश्री पुरस्कार उडिसाका मुख्यमन्त्री नवीन पटनायकले हस्तान्तरण गरेको पनि बताएका छन् । सोही अवधियता उनले मासिक १८ हजार भारू मासिक भत्तासमेत प्राप्त गरिरहेका छन् ।

उडिसा सरकारले उनका लागि घर निर्माणका लागि जमिन उपलब्ध गराएको र लोककवि नागका प्रशंसकमध्ये एक चिकित्सकले सो जमिनमा निजी खर्चबाट घरसमेत बनाइदिएको उनले प्रस्ट्याएका छन् ।

सन् २०१६ ताका पद्मश्री पुरस्कार लिँदा पनि केन्द्र सरकारले कारमार्फत रायपुर पुर्याएको र त्यहाँबाट उनलाई विमानमार्फत दिल्ली पुर्याइएको थियो । त्यो बेला सुविधासम्पन्न होटलमा राखिएको थियो । सो अवधिमा दिल्लीमा रहँदाको अवधिभरि उडिसाका वरिष्ठ आइएएस अधिकारी उषा पाढी र अरविन्द पाढीले पनि सहयोग गरेको स्मरण गरेका छन् ।

बेलाबेलामा आफूलाई भाइरल बनाइने गरेको, कहिले पानीसँग भात खाएको त कहिले चना बेचिरहेको तस्बिर हालेर बदनाम गर्ने गरेको उनले दुखेसो पोखे । यस्ता बदनाम गर्ने पोस्ट हाल्नेहरूप्रति कारबाही गर्न उनले माग पनि गरे । कहिलेकाहीँ त उनको बोली नक्कल गरेर अडियोसमेत राखेर भाइरल बनाउने प्रयास गरिने गरेको गुनासो गरे ।

सन् १९५० मार्च ३१ मा उडिसाको बरगढ जिल्लास्थित घेंस गाउँको एउटा गरिब परिवारमा जन्मिएका नाग बालक छँदा नै उनका पिताको निधन भएको थियो । परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनले विद्यालय शिक्षा लिन पाएनन् र तीन कक्षामै उनको शिक्षा सीमित हुन पुग्यो । तर कवितामोह यस्तो कडा थियो कि उनलाई तिनै कविताले चर्चित बनायो । उनका कवितामाथि पिएचडी गर्नेहरू पनि निकै छन् । उनका कयौँ रचनाहरू छरपष्ट भएपछि ग्रन्थावली प्रकाशित गरिएका छन् । जसमध्ये हलधर ग्रन्थावली २ विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएको छ ।

उनलाई सम्बलपुर विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट सम्मानित गरिएको हुनाले उनलाई डा. नाग पनि भन्ने गरिन्छ । हालसम्म उनका १३ वटा कृति प्रकाशित छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement