0Shares

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश-१ को नाम ‘कोसी’ नै उपयुक्त भएको बताएका छन्।

झापाको विर्तामोडमा एमालेनिकट प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश अधिवेशनको उद्घाटन गर्दै शनिबार ओलीले यो प्रदेशको नाम कोसी नराखे आफूलाई आश्चर्य हुने बताए।

कुनै नाम, थर, जात विशेष भन्दा पनि साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ।

‘एक नम्बर प्रदेश सरकारले प्रदेशको नाम सही ढंगले राख्नुपर्छ,’ उनले भने। जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास कुनै हालतमा नसमेटिने उनको तर्क छ।

ओलीले कोसी नाम उपयुक्त हुनुको कारण पनि बताए। ‘कोसी सभ्यताबाट तराईको पूर्व-पश्चिम ढाकेको, हाम्रा रगतमा सगरमाथा, कञ्चनजंघा, मकालु लगायतका हिमालको पानी मिसिएको छ, ’ ओलीले भने, ‘त्यहाँबाट रसाएको, सिञ्चित भएको पानी हाम्रो शरीरमा भएको रगत हो। त्यसैले यो प्रदेशको नाम कोसी उपयुक्त नाम हो।’

ओलीले ‘सर्वोच्च शिखरहरूको पानी खाने मान्छेहरूले यो प्रदेशको नाम कोसी राख्न नसके अरू कुनै थरबाट राखे भइगो नि। यसले कुनै सभ्यता दिन्छ?’ भनी प्रश्न गरे।

उनले नामथरका पछाडि इतिहास भए पनि प्रदेश १ का लागि कोसी सभ्यताभन्दा अर्को कुनै विकल्प हुन नसक्ने दाबी गरे।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement