0Shares

मोरङ/ मोरङको लेटाङ–८, ज्यामिरेकी एक बालिकाको शव फेला परेसँगै स्थानीयवासीले हत्यामा संलग्नमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । फागुन ११ गते स्कुलबाट फर्कने क्रममा बेपत्ता भएकी बालिकाको शुक्रबार शव फेला परेको हो ।

घरबाट झण्डै साढे ६ किलोमिटर तल जाँते उच्च माविको कक्षा ६ मा अध्ययन गर्ने ११ वर्षीय करुणा राईलाई स्कुलबाट घर (लेटाङ–८ ज्यामिरे) फर्किन झण्डै डेढ घण्टा जङ्गलको उकालो बाटो चढ्नु पर्छ । ज्यामिरे मोरङको उत्तरी विकट पहाडी क्षेत्रमा पर्दछ । स्कुलबाट झण्डै डेढ किलोमिटर मास्तिर जंगलको छेउमा एउटा छाप्रो छ । त्यही छाप्रोदेखि अलिक तल उनले चाउमिन खाइन् । त्यही सानो छाप्रोको होटलबाट अलिक मास्तिर एउटा सानो फलैंचा छ । त्यहाँ पनि उनी एकछिन बसेको स्थानीयले बताएका छन् ।

फागुन ११ गते ४ बजे स्कुल सकेर उनी साथीहरुसँग घर फर्किदा  बीचैमा अल्मलिएकी थिइन् । साथीहरु कोही अगाडि गए कोही पछाडि । तर, फलैँचाबाट उकालो लागेको ५ मिनेटकै अन्तरमा उनी बेपत्ता भइन् ।

साँझ ५ देखि साढे ५ बजेको बीचमा घर आइपुग्ने छोरी घर नआउँदा बुबा आमाले खोजी गरे । लेटाङ प्रहरी चौकीलाई खबर पनि गरे । तर, उनको कतै पत्तो लागेन । ‘स्थानीयहरू राति ८÷९ बजेदेखि नै बालिकाको खोजीमा लागेका थिए,’ स्थानीय सञ्चारकर्मी डम्बर सेन्चुरीले भने, ‘त्यसको भोलिपल्ट दिउँसो पनि खोजी भयो तर भेटिएन ।’

त्यही बीचमा प्रहरीले स्कुलबाट उकालो चढ्ने बाटोमा रहेको अन्तिम छाप्रोमाथि शंका लाग्यो र त्यहाँ छापा हान्दा केही शंकास्पद प्रमाण भेटियो । ‘केही प्रमाणहरु नष्ट गरेको, केही भेटिएको र शंकास्पद गतिविधि भएको भनेर प्रहरीले त्यहाँ निगरानी गरेको थियो,’ सेन्चुरीले भने, ‘त्यही आधारमा छाप्रोमा बस्ने ६३ वर्षीय दीपक गिरीलाई पक्राउ ग¥यो, उनलाई पक्राउ गरेर सोधखोज गर्दा शवको विषयमा प्रहरीले इशारा पायो र आज बिहान लेटाङ ८ लालहिरा सामुदायिक वनभित्र शव बरामद गरेको हो ।’

गिरीकी श्रीमतीको एक महिना अगाडि मृत्यु भएको थियो । त्यसपछि उनी सो छाप्रोमा एक्लै बस्दै आएका थिए । सेन्चुरीका अनुसार शव खोल्सामा घोप्टो पारेर राखिएको र माथिबाट ढुंगाले छोपिएको थियो ।

यो घटनापछि विकट क्षेत्रका बालबालिकाका लागि विद्यालय र घरको बाटो असुरक्षित महसुस हुन थालेको स्थानीयवासी बताउँछन् । घटना भएको (बलात्कार पछि हत्या) भनिएको शंकास्पद स्थल विद्यालयदेखि डेढ किलोमिटर माथि छ । बालिकाको शव त्यहाँबाट अझै डेढघण्टा माथिको जङ्गलमा फालिएको छ ।

‘त्यहाँ कुनै गोरेटो वा चरामुसा धरी कराएको आवाज आउने खालको स्थान छैन,’ सेन्चुरीले भने, ‘त्यहाँ सुनसान र घना जङ्गल छ ।’ घटना भएको भनिएको शंकास्पद एउटा फुसको घर छ । लुगा पनि त्यहीँ डढाएको भेटिएको छ । घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

विद्यार्थी आक्रोशित

शव फेला परेको सूचनापछि मृतकका सहपाठीहरु त्रसित देखिएका छन् । विद्यालय र घरबीचको बाटोमै यस्तो घटना भएको भन्दै असुरक्षाका दृष्टिले उनीहरु त्रसित देखिएका हुन् । मृतक अध्ययनरत विद्यालयका विद्यार्थीले घटनामा संलग्नमाथि कडा कारवाहीको माग गर्दै आन्दोलन गरेका छन् । विद्यार्थीको आन्दोलनपछि प्रधानाध्यापक उत्तमराज खतिवडा र ८ नम्बर वडाध्यक्ष भीम पोखरेल लगायतले माग पूरा गराउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले घटनाको निन्दा गरेकी छन् । उनले महिलाहरु कहीँ पनि सुरक्षित हुने अवस्था नरहेको बताइन् । ‘घटना एकदमै निन्दनीय छ, छोरी मान्छे घरमा, बाटोमा, विद्यालयमा, घाँसदाउरा गर्ने ठाउँमा, कहीँ पनि सुरक्षित नहुने अवस्था भयो,’ उनले भनिन्, ‘निर्मला पन्तको जस्तो अवस्था नहोस्, घटनामा संलग्नलाई कडाभन्दा कडा सजाय हुनुपर्छ ।’

मृतकको मामा विजय राईले आफूहरुले न्याय पाउनुपर्ने बताए । पीडितको ठूलोबुबा वीर्ख राईले पनि निर्मला पन्तको जस्तो नहोस् भन्दै प्रशासनलाई सचेत गराएका छन् । ‘यो जिल्लामा गएपछि ढिसमिस नहोस्, अपराधीलाई हदैसम्मको कारबाही होस्,’ उनले भने ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘अहिले अनुसन्धान भइरहेको छ । हामीले घटनाको मिहिन ढंगले अनुसन्धान थालेका छौं,’ मोरङ प्रहरीका प्रवक्ता मञ्जिल मुकारुङले भने, ‘पोस्माटर्म रिपोर्टपछि थप विषय खुल्ने छ ।’ शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement