0Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) १५ सय संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।

मंसिर १६ र १७ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रीत विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सवै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो परिपत्र जारी गर्दै कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

परिपत्रमा २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाउँन उल्लेख गरिएको छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन भएको छ । त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरूमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले बिभिन्न समितिहरु गठन गरेर तयारी तिब्र बनाएको छ ।

विधान परिमार्जन हुने

माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

व्यवस्थापनको जिम्मा हितमानलाई

माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसमा डिलाराम आचार्य, नारायण दाहाल, सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन् ।

त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ ।

महाधिवेशनमा एकजना घाइते अपाङ्ग अनिवार्य

प्रदेशले कम्तिमा १ जना घाइते÷अपाङ्गहरुलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । प्रत्येक प्रदेशले २०७८ मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने माओवादीको सर्कुलरमा उल्लेख छ ।

सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा हरिबोल गजुरेल सचिव रहने गरी देव गुरुङ, लीलामणि पोख्रेल र ५ जना मन्त्रीज्यू सम्मिलित एक समिति गठन गरेको पनि सर्कुलरमा उल्लेख छ ।

लेवी र नवीकरण शुल्क अनिवार्य दाखिला गर्न निर्देशन

माओवादीले केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाई सक्न पनि निर्देशन दिएको छ ।

पार्टीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवं प्रतिनिधिहरुलाई प्रतिनिधि शुल्क दुई हजार रुपैयाँ प्रतिव्यक्ति तोकेको छ । साथै सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्ने अग्रिम जानकारी पनि गराएको छ ।

आ–आफ्ना प्रतिनिधिहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशले गर्नुपर्ने प्रचण्डले जारी गरेको सर्कुलरमा भनिएको छ । नयाँ जोश, जाँगर र दृढताका साथ पार्टी पुनर्निर्माणको महान् अभियानमा जुटिरहेको दावी गरेको सो पार्टीले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्दै नयाँ विचार र राजनीतिक कार्यदिशासहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने अठोट लिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement