कालिकाको पदमपुरमा बालमैत्री उद्यान र बहुउद्देश्यीय सिकाइ केन्द्र निर्माणहुने
–सन्तकुमार चौधरी ,कालिका, । चितवनको कालिका नगरपालिका वडा नं.२ स्थित पदमपुरमा बालमैत्री उद्यान र बहुउद्देश्यीय सिकाइ केन्द्र निर्माणहुने भएको छ ।
नगरपालिकाले यो परियोजनालाई आफ्नै गौरवको योजना मानेर अघि निर्माणको कार्यलाई अगाडी बढाएको हो। उक्त योजनाका लागि एक करोड एघार लाख सात हजार तीन सय पन्ध्र रुपैयाँ बयालिस पैसा बराबरको बजेट लाग्ने अनुमान गरिएको छ। हाल योजना कार्यान्वयनको पूर्वाधार तयार पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
पूर्वाधारको पुनः उपयोग र बालमैत्री संरचना विकास-
पूर्वतः विद्यालयको रूपमा रहेको कमलपुर विद्यालय अन्य सहपुर विद्यालयमा गाभिएपछि खाली भएको संरचनालाई नयाँ ढंगले प्रयोग गर्दै सिकाइ केन्द्रको रूपमा रूपान्तरण गरिने भएको छ।
प्रवेशद्वारको पूर्वपट्टि बाल उद्यान निर्माण गरिनेछ भने अहिले रहेको भवनलाई सिकाइ केन्द्र बनाइनेछ। बाल उद्यानमा चिप्लेटी, पिङ, ढकच्याक्ली, पर्खाल चढ्ने संरचना ,रोटेपिङ, मन्की बार, सुरुङ, फोटो बुथ, छहारी घर, चौतारी, डोरीमा हिँड्ने ट्र्याक, लुडो बोर्ड, शौचालय, इको वाक–वे, खुला आकाशे मञ्च, पाले घर, कंक्रिट बार लगायतका विविध संरचना समावेश गरिनेछ।
सिकाइ केन्द्रमार्फत सीपमूलक तालिम र रोजगारीको अवसर-
सिकाइ केन्द्रमा युवाहरुलाई सीपमूलक तथा जनचेतनामूलक तालिम प्रदान गरिने योजना छ। वडा नंं २ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मण पौडेलका अनुसार सिकाइ केन्द्रलाई यस्तो स्वरूपमा विकास गरिनेछ जसले सीप सिकाउँदै कमाउने अवसर समेत उपलब्ध गराउनेछ।
उनले विद्यालयअन्तर्गतको १ विघा क्षेत्रफलमा फैलिएको जमिनलाई पूर्णरूपमा सिकाइ केन्द्र तथा बालमैत्री पार्कको रूपमा रूपान्तरण गरिने योजना अघि बढिरहेको जानकारी दिए।
बालमैत्री शासन घोषणा तर्फको ठूलो पाइला-
कालिका नगरपालिका हाल बालमैत्री शासन घोषणा गर्न आवश्यक तयारीमा जुटेको छ। यस्तो घोषणा गर्न विभिन्न सूचकहरू पार गर्नु पर्ने हुन्छ, र तीमध्ये बाल उद्यान तथा सिकाइ केन्द्र निर्माण महत्वपूर्ण सूचकको रूपमा रहेको छ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार, “बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र सिर्जनात्मक विकासलाई केन्द्रमा राख्दै यो योजना ल्याइएको हो। योजनाले केवल पूर्वाधारको विकास मात्र होइन, स्थानीय स्तरमै युवाहरुलाई रोजगारी र सीप सिक्ने प्लेटफर्म पनि दिनेछ।”
यस परियोजना सम्पन्न भएसँगै कालिका नगरपालिकालाई बालमैत्री शासन घोषणा गर्ने बाटो खुल्ने नगरपालिकाको विश्वास छ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















