४ मन्त्री, २ प्रदेश प्रमुख र कम्तीमा १ मुख्यमन्त्रीमा माधव नेपालको दाबी
काठमाडौं, चैत १४
नेकपा एकीकृत समाजवादीले ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताहरूका बैठकमा एकीकृत समाजवादीले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राख्ने गरेको छ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका एकीकृत समाजवादीका भन्दा धेरै सांसद छन्। तैपनि एकीकृत समाजवादीले तुलनात्मक रूपमा धेरै मन्त्रालय दाबी गरिरहेको छ।
कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, जसपाले उपराष्ट्रपति पाइसकेको भन्दै एकीकृत समाजवादीका नेताहरू आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने अडानमा छन्। प्रधानमन्त्री दाहालसँग भएका पछिल्ला भेटवार्तामा अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरूले कम्तीमा ४ मन्त्रालयको दाबी गरेको स्रोत बताउँछ।
‘एकीकृत समाजवादीले ४ मन्त्रालय मागेको छ। उहाँहरूलाई ४ मन्त्रालय दिनेबित्तिकै अरू ठूला दलले कति मन्त्रालय लिने भन्ने प्रश्न उठ्छ, सांसद कम भएका दलले पनि धेरै मन्त्रालय दाबी गर्दा मन्त्रालय भागबन्डा मिलाउनै सकस पर्छ,’ स्रोतले भन्यो, ‘एकीकृत समाजवादीलाई बढीमा ३ मन्त्रालयसम्म दिनु उपयुक्त हुन्छ।’ अध्यक्ष नेपालले संघ सरकारसहित प्रदेशमा पनि प्याकेजमै भागबन्डाको सहमति गर्नुपर्ने अडान लिँदै आएको स्रोत बताउँछ।
‘उहाँले केन्द्रमा ४ मन्त्रालय, प्रदेशमा कम्तीमा एक मुख्यमन्त्री र कम्तीमा २ प्रदेश प्रमुख पाउनुपर्छ भन्ने अडान राख्नुभएको छ,’ स्रोतले भन्यो, ‘भागबन्डा नै मिल्न नसकेका कारण मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको हो।’
तर अध्यक्ष नेपालले सार्वजनिक रूपमा आफूहरूले कति मन्त्रालय र कुन(कुन मन्त्रालयमा दाबी गरेको अहिलेसम्म खुलाएका छैनन्।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















