0Shares

साताको पहिलो दिन शेयर बजार फराकिलो अंकले फड्किएको छ। गत सातादेखि ओरालो यात्रा शुरु गरेको बजारले साताको पहिलो दिनबाटै एकाएक आफ्नो चाल परिवर्तन गर्‍यो। निर्वाचनरुपी कोर्रा लागेपछि बजारले एकाएक यु टर्न मार्‍यो।

आइतबार शेयर बजार मापक सूचक १०५.५५ अंकले बढ्यो। मिनी सरकार भनिने गठबन्धनका दलहरूले स्थानीय निर्वाचन आउने जेठमा गर्नुपर्छ भन्ने प्रारम्भिक सहमति गरेको खबर सार्वजनिक भएसँगै शेयर बजारले यु टर्न मारेको हो।  निर्वाचनको खवरले  जबरजस्त तरिकाले माथिल्लो बिन्दुमा बजार पुगेकाे भएपनि उक्त वृद्धि कायमै रहनेमा भने लगानीकर्ताहरू पूर्ण आश्वस्त छैनन्। किनकि बजारमा अन्य आधार बलिया नभएकाले टिकाउ हुनेमा शङ्का गरेका हुन्। “आइतबार बजार बढ्ने आधार भनेको निर्वाचन मात्रै हो। निर्वाचनको कोर्रा लागेर उफ्रिएको बजारको टिकाउ हुनेमा शङ्का छ। किनकि अन्य आधार बलिया छैनन्” लगानीकर्ता सन्तोष भट्टराईले मेरो लगानीसँग भने।

भट्टराईका अनुसार आइतबार नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सिडी रेसियो ९०.४८ छ। यता अन्तरबैंक ब्याजदर सबैभन्दा माथिल्लो बिन्दु पाँच प्रतिशतमा उक्लिएको छ। प्रणालीमा अधिक तरलता १७ अर्ब रुपैयाँ मात्रै छ। ९० माथि सिडी हुनु भनेको अझै पनि बैंक वित्तीय संस्था मन खोलेर ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन्। लगानी गर्ने पैसा नभएको कारणले बैंक वित्तीय संस्थाले एक आपसमा सापटी लिने अन्तर बैंक व्याजको दर पाँच प्रतिशतमा उक्लिएको छ। उक्त बिन्दुमाथि उक्लिने ठाउँ छैन त्यो भन्दा पनि माथि उक्लिन पाउने भए त्यो भन्दा पनि बढीमा जाने सम्भावना छ। किनकि लगानी गर्ने पैसा नभएर बैंक वित्तीय संस्था संकटमा छन्।

एकातर्फ बैंक वित्तीय संस्था लगानी गर्ने पैसा नभएर समस्यामा परेका छन् अर्कोतर्फ यही बेलामा भएको अलि अलि पैसा पनि सरकारले आन्तरिक ऋण मार्फत उठाउँदै छ। हुनत बैंक वित्तीय संस्था उक्त ऋण लिनै पर्ने बाध्यतामा छैनन्। तर उनीहरूको प्रकृति हेर्दा नलिने अवस्था पनि देखिँदैन। किनकि पछिल्लो समय सरकारले बिक्री लागि राखेको विकास ऋणपत्र २०८०’ङ मा माग भन्दा बढी आवेदन पर्‍यो। १० अर्ब रुपैयाँ माग रहेको ऋणपत्रमा ५२ अर्बको माग भयो। त्यो पनि औसत ५.७४ प्रतिशत ब्याजदरमा बोलकबोल मार्फत बिक्री भएको हो। यसले गर्दा पनि आन्तरिक ऋणले प्रभाव पार्दैन भन्ने आधार रहेन।

अर्कोतर्फ सरकारले आउने दिनमा पूँजीगत खर्च बढाउने आधार देखिँदैन। पछिल्लो विवरण अनुसार करिब १५ प्रतिशत मात्रै खर्च भएको अवस्था छ। आयात रोकिएको स्थिति छैन। अझै ऋणको माग उच्च छ। जसले गर्दा पनि आइतबारको वृद्धि टिकाउ हुनेमा आशङ्का छ।

भट्टराईले बजार बढ्नेमा शंका गरिरहँदा अर्का लगानीकर्ता नयन बाँस्तोला भने बजार टिकाउ नै हुनेमा विश्वस्त देखिन्छन्। निर्वाचनले बिस्तारै लगानीकर्ताको मनोविज्ञानलाई सकारात्मक बनाएको उनको विश्लेषण छ। बजार बढ्न अन्य आधार नभए पनि लगानीकर्ताको मनोविज्ञानले सबैभन्दा बढी काम गर्छ। सबैजसो लगानीकर्ता निर्वाचनको कारण बजार बढ्नेमा आशावादी देखिएका छन्। आइतबारकै कारोबारमा पनि बजार निक्कै पटक ओर्लने प्रयास गरे पनि बजार झर्न मानेन। सुरु देखिनै बढेको बजारले अन्तिमसम्म नै बृद्धिलाइ कायम गर्न सक्यो। यसले पनि लगानीकर्ताको कन्फिडेन्स धेरै मजबुत रहेको जनाउ दिन्छ। बजार बाउन्स ब्याकको रुपमा लिनु पर्ने बाँस्तोलाको जिकिर छ।

बजारमा अफ सिजन सकिएको र शेयर किन्ने सिजन सुरु भएकोले पनि बजार बढ्न टेवा पुर्‍याएको हो। दोस्रो त्रैमासको वित्तीय विवरणहरूले पनि लगानीकर्तालाई हौसाएको छ। जसमा निर्वाचनको कुराले थप बल पुर्याउदा बजार बाउन्स व्याक भएको बाँस्तोलाको भनाई छ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement