नेपाल भ्रमण वर्ष २०२० : तयारी अभाव
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को घोषणा हुँदा पर्यटन व्यवसायीमा एउटा उत्साह थियो । त्यसले व्यवसायीमा ठूलो आशा पलाएको थियो । तर, त्यो आशा र उत्साह धेरै दिन टिकेन ।
२०२० मा २० लाख पर्यटक भित्र्याउने उद्घोष गरेका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटना परी निधन भएपछि भ्रमण वर्ष प्रभावित भएको थियो । यससँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत भ्रमण वर्षका लागि आवश्यक बजेट छुट्याएन । यसका कारण २० लाख पर्यटक भित्र्याउने योजना ओझेलमा परेको पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल बताउँछन् ।
‘यसो हुनुको पछाडि पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन नै मुख्य कारक बनेको छ । त्यसपछि यो अभियानको चर्चा सेलाउँदै गयो । भ्रमण वर्षले पनि अभिभावक गुमायो,’ उनले भने, ‘त्यसबेला मन्त्री अधिकारीले विज्ञ समूह गठन गरेर, कर्मचारीसँग काँधमा काँध राखेर कार्यक्रम सुरु गरेका थिए । यो अभियानलाई त्यही गतिमा लैजाने विभागीय नेतृत्वको अभाव खड्किएको छ ।’
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी भने छिमेकी देशका पर्यटकलाई नेपालमा भित्र्याउन प्राथमिकताका साथ काम भइरहेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय तहमा पनि प्रचारप्रसार भइरहेको छ । विदेशस्थित राजदूतहरुले भ्रमण वर्ष सफल बनाउनका लागि भूमिका निर्वाह गरिरहेका छन्,’ उनले भने, ‘सबैले साथ सहयोग गरे २० लाख पर्यटक भित्रिन सक्छ ।’
अन्योलमा संयोजक वैद्य
सरकारले व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्षको संयोजक तोकेको छ । संयोजक कार्यकारी जिम्मेवारी हो । यस जिम्मेवारीमा रहँदा अत्यन्तै धेरै समय दिनुपर्छ । तर, वैद्यले पर्याप्त समय दिन नसकेको व्यवसायीहरुको आरोप छ ।
यस अभियानको सफलता र असफलता संयोजकको भूमिकामा निर्भर हुने जानकारहरु बताउँछन् । यतिबेला भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भइसक्नु पर्ने थियो । तर, सचिवालयले प्रभावकारी रुपमा कम गर्न नसकेको नाम नखुलाउने सर्तमा एक सदस्य बताउँछन् ।
पछिल्लो समय संयोजक वैद्य एक्लै भइसकेको अवस्था छ । पर्यटन मन्त्री नभएका कारण पनि संयोजक एक्लो देखिएको पर्यटन व्यवसयाीहरुको भनाइ छ ।
तर, संयोजक वैद्यले उक्त तर्कमा सहमत छैनन् । ‘मैले सकेको काम संस्थागत रुपमा प्रयास गरिरहेको छु । केही दिनअघि मात्रै भ्रमण वर्षको ब्राण्डिङका लागि लोगो सार्वजनिक गरेको छु, ‘उनले भने, ‘सबैले प्रयास गर्ने हो । भौतिक पूर्वाधार बनाउने काम मेरो होइन । मैले समन्वय गर्ने मात्रै हो ।’
पर्यटन मन्त्रीको अभाव
२०७५ फागुन १५ गते तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा उनको निधन भएको थियो । दुर्घटनापछि नयाँ पर्यटनमन्त्रीको नियुक्त हुन सकेको ।
२०२० मा २० लाख पर्यटक भित्र्याउनेदेखि नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका पर्यटनमन्त्री अधिकारीको निधनसँगै सेलाएको छ । यो योजनालाई प्रभावकारी ढंगले उठाउन सक्ने अभिभावक नभएको पर्यटनविद् प्रा.डा. हरि शर्माको बुझाइ छ ।
‘यो योजनालाई प्राथमिकताको साथ काम गर्न सक्ने भिजनरी व्यक्तिको पुरिपुरक नभएसम्म भ्रमण वर्ष सफल हुने शंका देखिन्छ,’ उनले भने, ‘अहिले अधिकारीको सबैले चर्चा गर्न थालेका छन् । अधिकारी भइदिएको भए यस्तो हुन्थ्यो , यस्तो हुने थियो । अब यो जिम्मेवारी पर्यटन व्यवसायीहरुको हो ।’
भौतिक पूर्वाधार अभाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदेशी पर्यटकका लागि पहिलो पाइला हो । यसकारण भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन विमानस्थल २४ घण्टा नै सञ्चालनमा ल्याउन सक्ने वातावरण हुनुपर्छ ।
यस्तै, राजधानी रहेको काठमाडौं उपत्यका पर्यटन र वातावरणमैत्री हुन नसकेको पर्यटनविद बैकुण्ठनारायण प्रधान बताउँछन् । ‘पर्यटक नेपाल आउन चाहन्छन् । तर, नेपालमा पर्याप्त भौतिक पूर्वाधार छैन । अहिलेको पूर्वाधारले २० लाख पर्यटक थेग्न सक्दैन ।’
सर्वप्रथम त ठमेलसम्म पुग्ने सडकको अवस्थालाई सुधार गर्न सक्नुपर्छ । यहाँको ट्राफिक जाम पनि समस्या हो । यस्तो अवस्थामा साँच्चिकै २० लाख पर्यटक थेक्न नसक्ने प्रधानको भनाइ छ । यस्तै, पर्यटकका लागि पर्याप्त होटल व्यवसायी साङगे शेर्पा बताउँछन् ।
शेर्पाका अनुसार भ्रमण वर्षको तयारी स्वरूप काठमाडौंलाई बस्न योग्य शहरका रूपमा परिणत गर्न आवश्यक छ । यहाँको धुलो, धुवाँ र प्रदूषणलाई हटाउनुपर्ने उनको भनाइ छ ।
विमानस्थल, सडक सुरक्षा र यसको गुणस्तर वृद्धि पनि सँगसँगै लानुपर्ने व्यवसायीहरु बताउँछन् । किनकि, स–साना कारणले पनि पर्यटन क्षेत्रमा दीर्घकालीन असर पार्छ । यसबाहेक भ्रमण वर्ष घोषणा गर्नुपूर्व नेपालले आफ्नो पूर्वाधारलाई कति दुरुस्त राख्न सक्छ भन्नेबारे पनि विश्लेषण नभएको एक थरी व्यवसायीको आरोप छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले भने मन्त्रालयको तर्फबाट भ्रमण वर्ष सफल बनाउन निरन्तर लागिरहेको दाबी गरे । ‘निजी क्षेत्रसँगै समन्वय गरेर काम गरिरहेका छौं,’ उनले भने, ‘आशा छ, २० लाख पर्यटक नेपाल भित्रिनेछ ।’
होटलको अवस्था
होटल संघ नेपाल (हान)का अनुसार नेपालमा पाँचतारे होटल १४, चारतारे ८, तीनतारे ३७, दुईतारे ४३, एकतारे ३३, पर्यटकस्तर ५०९ र होमस्टे २५२ वटा रहेका छन् । थप पाँचतारे होटल पनि धमाधम बनिरहेका छन् । गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा कान्तीपथमा शेराटन होटल बनिरहेको छ ।
शंकर ग्रुप्ले नक्सालमा ‘डबल ट्री बाई हिल्टन’ होटल बनाइरहेको छ । चन्द्रागिरीमा चन्द्रागिरी हिल्स प्रालिले बनाइरहेको होटल सञ्चालनको तयारीमा छ । लुम्बिनीमा होटल पवन प्यालेससमेत पाँचतारेका रुपमा स्थापना हुँदैछ ।



















