वैकुण्ठ ताल–धनलक्ष्मी झरना ः माडीको ओझेलमा परेको प्राकृतिक र धार्मिक सम्पदा
शान्ता अधिकारी, माडी — माडी नगरपालिका–८ को घना जंगलभित्र अवस्थित वैकुण्ठ ताल पछिल्ला वर्षहरूमा धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। हरियाली वन, स्वच्छ जलाशय, झरना, दोभान, प्राचीन शिला तथा धार्मिक स्थलहरूले समृद्ध यस क्षेत्रलाई स्थानीयले धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा लिने गरेका छन् ।

शान्त वातावरण र मनोरम दृश्यले भरिएको वैकुण्ठ ताल धार्मिक विश्वाससँग पनि जोडिएको छ। स्थानीय जनविश्वासअनुसार त्रेतायुगमा भगवान श्रीराम, माता सीता, लक्ष्मण र भरत वनवासका क्रममा यस क्षेत्रमा आएर स्नान, ध्यान तथा विश्राम गरेका थिए। यही विश्वासका कारण वैकुण्ठधामलाई पवित्र तीर्थस्थलका रूपमा हेरिन्छ। यहाँ स्नान तथा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने र रोगव्याधिबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ।
बैकुण्ठधाम क्षेत्र विकास समिति तथा माडी कला, साहित्य तथा सांस्कृतिक मञ्चले पछिल्ला वर्षहरूमा यस क्षेत्रको संरक्षण र प्रचारप्रसारमा सक्रियता देखाउँदै आएका छन् । हालै सम्पन्न अवलोकन यात्राका क्रममा सहभागीहरूले भजन–कीर्तन, पूजा–आराधना तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । धार्मिक आस्थासँगै प्रकृति संरक्षणको सन्देश फैलाउने उद्देश्यले विभिन्न स्थानमा भजन गाउँदै यात्रा सम्पन्न गरिएको थियो ।

बैकुण्ठधाम व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले धार्मिक तथा प्राकृतिक पर्यटनको विकासका लागि आधारभूत पूर्वाधार निर्माण अपरिहार्य रहेको बताउनु भयो। उहाँले भन्नुभयो, “केही स्थानमा सडक, गोरेटो बाटो, सिँढी र झोलु·े पुल निर्माण गर्न सके पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न सक्छ” ।
वैकुण्ठ तालबाट केही दूरीमा रहेको धनलक्ष्मी झरना पनि पर्यटकको आकर्षणको अर्काे केन्द्र बनेको छ। जंगलको रमणीय पदमार्ग हुँदै पुगिने झरनाको चिसो पानी, वरिपरिको हरियाली र प्राकृतिक वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ। पदयात्रा, प्रकृति अवलोकन तथा फोटोग्राफीका लागि यो क्षेत्र उपयुक्त मानिन्छ।
स्थानीयका अनुसार वैकुण्ठ तालदेखि धनलक्ष्मी झरनासम्मको मार्गलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके माडीको पर्यटन क्षेत्रमा नयाँ सम्भावना खुल्नेछ। यद्यपि पर्याप्त पूर्वाधार अभावले यसको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
माडी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रेम बिष्टले बैकुण्ठधामको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बताउनु भयो । “पर्यटन विकासले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा पनि टेवा पुर्याउँछ”।
धार्मिक महत्वसँगै यस क्षेत्र जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ विभिन्न प्रजातिका चराचुरु·ी तथा वनस्पति पाइने भएकाले प्रकृतिप्रेमीहरूको आकर्षण बढ्दो छ। साथै, यहाँ रहेका प्राचीन शिला, मूर्ति तथा अन्य पुरातात्विक अवशेषले अनुसन्धानकर्ताको ध्यानसमेत तान्न थालेका छन् ।

माडी कला, साहित्य तथा सांस्कृतिक मञ्चका सचिव कृष्ण ढुंगानाले पहिलो पटक धनलक्ष्मी झरनासम्म पुग्दा आफू अत्यन्त प्रभावित भएको बताउनु भयो। “प्रकृतिले दिएको अनुपम सम्पदाको संरक्षण गर्नु भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी हो” उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रचारप्रसारमा सबै पक्ष एकजुट हुन आवश्यक छ।”
स्थानीय सरकार तथा सरोकारवालाले वैकुण्ठ ताल र धनलक्ष्मी झरनालाई समेटेर पर्यटकीय पूर्वाधार विकासको योजना अघि सारेका छन् । सडक पहुँच, पदमार्ग, विश्रामस्थल निर्माण गर्न सके यस क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने विश्वास स्थानीयको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको सम्भावना बोकेको वैकुण्ठ ताल–धनलक्ष्मी झरना क्षेत्र माडीको अमूल्य सम्पदाका रूपमा रहेको छ। संरक्षण र विकासलाई सन्तुलित रूपमा अघि बढाउन सके यो क्षेत्र चितवनकै मात्र होइन, देशकै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने देखिन्छ।


















