0Shares

नारायणगढ (चितवन), फागुन १० — भरतपुर महानगरपालिका अन्तर्गत पर्ने नारायणगढको मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमन टोलीले नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मको क्षेत्र निरीक्षण गर्दै सर्वसाधारण, सवारी चालक तथा व्यवसायीलाई ट्राफिक नियम पालना गर्न सचेत गराएको थियो।

प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीसाधन जथाभावी रोक्दा दुर्घटनाको जोखिम बढ्ने, यात्रुलाई असहजता हुने तथा व्यवसायीलाई समेत असर पर्ने भएकाले यातायात व्यवस्थापन सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले चालक, व्यवसायी र यात्रुसँग प्रत्यक्ष संवाद गर्दै समस्या बुझ्नुका साथै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।

सवारीसाधन अव्यवस्थित रूपमा रोकिँदा देखिएका समस्यालाई औँल्याउँदै उहाँले महानगरपालिका र डिभिजन सडक कार्यालयलाई बिग्रिएका सडक खण्डको मर्मत तथा सुधार कार्य तीव्र बनाउन निर्देशन दिनुभयो।

त्यसैगरी, व्यवसायीलाई पसल बाहिर राखिएका सामग्री हटाउन, तोकिएको स्थानमा मात्र पार्किङ गर्न, चालकलाई नियमअनुसार सवारी चलाउन तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै बाटो काट्न आग्रह गरिएको छ। सुरक्षाकर्मीलाई नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गरी सचेत गराउनसमेत निर्देशन दिइएको छ।
“यातायात व्यवस्थापनका लागि सर्वपक्षीय निर्णय भइसकेको छ। सबै सरोकारवालाले उक्त निर्णयको पालना गर्नुपर्छ, अन्यथा कानुनअनुसार कारबाही हुन्छ,” प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो।

अनुगमनका क्रममा डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बजार क्षेत्रमा बिग्रिएका सडक तत्काल मर्मत गरिने जानकारी दिनुभयो। उक्त क्षेत्र एसियाली मापदण्डअनुसारको राजमार्गअन्तर्गत पर्ने भएकाले सोहीअनुसार व्यवस्थित हुनुपर्ने उहाँको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापाले यातायात व्यवस्थापन समितिको बैठकबाट भएका निर्णय कार्यान्वयनमा आफूहरू सक्रिय रहेको बताउनुभयो। उहाँका अनुसार आजको अनुगमनका क्रममा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र यसलाई दैनिक रूपमा निरन्तरता दिइनेछ।
यातायात व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायहरू समन्वयात्मक रूपमा अघि बढ्ने जनाइएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement