0Shares

भरतपुर । राष्ट्रिय बहिरा महासंघले बहिरा विद्यार्थीहरुका लागि शिक्षामा समावेशीकरण गरिनुपर्ने माग गरेको छ । चितवन जिल्लामा हालसम्म बहिरा विद्यार्थीका लागि अध्ययन गर्ने माध्यमिक तहसम्मको समेत पढाइ नहुँदा तिनका अभिभावक समस्यामा परेका महासंघले जनाएको छ ।

२०५३ सालमा चितवनमा बहिरा विद्यार्थीलाई पढाउने कार्यक्रमको थालनी भए पनि हालसम्म कक्षा आठसम्मको मात्रै पढाइ हुने गरेको बहिरा महासंघकी अध्यक्ष विष्णुकुमारी पौडेलले बताइन् । उनका अनुसार चितवनमा हालसम्म बहिरा विद्यार्थीलाई पढाउन दुईवटा विद्यालयले मात्रै अनुमति पाएको छ ।

२०५३ सालमा चितवन मावि भरतपुर र २०५४ सालमा राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगरले अनुमति पाएको थियो । त्यसयता पठनपाठन हुँदै आए पनि माथिल्लो तहको कक्षा अध्ययन गर्नका लागि गोरखा, बागलुङ, काठमाडौँलगायतका जिल्लामा लैजानुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताइन् । ‘चितवनजस्तो शैक्षिक क्षेत्रमा अगाडि रहेको जिल्लामा समेत बहिरा विद्यार्थीका लागि पठनपाठनको व्यवस्थापन हुन नसक्नु दुःखद विषय हो’, अध्यक्ष पौडेलको भनाइ उद्धृत गर्दै दोभाषे सीता पौडेलले भनिन्, ‘चितवनमै शिक्षा आर्जन गर्न पाउने भए विद्यार्थी र अभिभावक दुवैलाई सहज हुनेथियो ।’

विद्यार्थी मात्र नभई शिक्षकको समेत अभाव हुँदा सीमित शिक्षकबाट पढ्न बाध्य रहेको उनले बताइन् । उनका अनुसार हाल भरतपुरमा दुई जना र वीरेन्द्रनगरमा तीन जना शिक्षकले बहिरा विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । चितवन माविले कक्षा सातसम्म अध्यापन गराइरहेको छ भने राष्ट्रिय आधारभूत विद्यालयले कक्षा आठसम्म अध्यापन गराउँदै आएको छ । तर, दोभाषे शिक्षकको आवश्यकता पूर्ति नहुँदा शिक्षकको समेत अभाव भएको उनले बताइन् ।

‘लेखेको अक्षर देखाएर साङ्केतिक भाषामा पढाउनुपर्ने बाध्यता रहेको हुँदा त्यस्तो क्षेत्रमा दक्षता हासिल गरेका शिक्षक पाउनै मुस्किल छ’, उनले भनिन्, ‘यसतर्फ सरकारी क्षेत्रबाटै ध्यान पु¥याउन जरूरी छ ।’ बहिरा शिक्षक नै नपाए पनि साङ्केतिक भाषा सिकेर पढाउन सकिने व्यवस्था मिलाउन सके विद्यार्थी र अभिभावक दुवैलाई सहज हुने उनको विश्वास छ । यो वर्ष चितवन माविमा २९ जना र राष्ट्रिय आधारभूत विद्यालयमा ४३ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताइन् ।

बहिरा विद्यार्थीहरुको शैक्षिक पहुँच सहज नभएपछि बिहीबार राष्ट्रिय बहिरा संघले चितवनका सञ्चारकर्मीहरुसँग शिक्षामा समावेशीकरण विषयमा अभिमुखीकरण कार्यक्रम नै आयोजना गरेर यस विषयमा कलम चलाइदिन आग्रह गरेको छ ।
अझै पनि बहिरा विद्यार्थी विद्यालयभन्दा बाहिर रहेको भन्दै उनीहरुलाई विद्यालयसम्म पु¥याउनका लागि पत्रकार, शिक्षाप्रेमी व्यक्ति तथा संघ/संगठनले भूमिका खेल्न आवश्यक रहेको समावेशी शिक्षा परियोजना कार्यक्रमका पैरवी अधिकृत नीरज गिरीले बताए ।

‘पहिलो कुरो चितवनमा बहिरा विद्यार्थीका लागि पठनपाठनको व्यवस्था सहज छैन, त्यसमाथि पनि कति विद्यार्थी विद्यालयबाहिर छन्’, उनले भने, ‘त्यसैले अन्य विद्यार्थीले जस्तै अपाङ्गता भएका विद्यार्थीले पनि सहज तरिकाले विद्यालयसम्म पुग्न पाउनुपर्छ ।’

चितवनमा बहिरा विद्यार्थीको संख्या यति नै छ भनेर यकिन गर्न सकिँदैन । ‘यस विषयमा अभिभावकहरु नै सचेत नबनिदिँदा वास्तविक तथ्याङ्क छैन’, परियोजनाकी तालिम प्रशिक्षक अस्मिता शाक्यले भनिन्, ‘किनकि झट्ट हेर्दा सामान्य देखिने व्यक्तिको बोली नआउनु र श्रवणशक्ति नहुनुलाई अपाङ्गता भएका व्यक्ति नमान्ने प्रचलनले गर्दा बहिरा विद्यार्थीको संख्या यकिन नभएको हो ।’ त्यसैले, विद्यालयबाहिर रहेका बहिरा बालबालिकाको तथ्याङ्कसमेत नभएको उनले बताइन् । अब भने अभिभावक सचेत हुन आवश्यक रहेको उनले बताइन् ।

अहिले यो परियोजनाले चितवनमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा मात्रै कार्यक्रम गर्दै आएको छ । यी दुईवटा पालिकामध्ये भरतपुरमा कार्यक्रमतर्फ ८२ लाख ५५ हजार २५० र प्रशासनतर्फ १६ लाख ५५ हजार गरी कुल ९९ लाख १० हजार २५० रूपैयाँ र कालिका नगरपालिकामा कार्यक्रमतर्फ ७४ लाख २० हजार २५० र प्रशासनतर्फ ११ लाख १७ हजार २३९ रूपैयाँ गरी जम्मा ८५ लाख ३७ हजार ४८९ रूपैयाँ बजेटमा काम गरेको समावेशी शिक्षा परियोजनाकी संयोजक शर्मिला तामाङले जानकारी दिइन् । उनका अनुसार यो बजेट गत तीन आर्थिक वर्षको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement