देवघाटमा जग्गा अतिक्रमण : मठाधिशदेखि माओवादी कार्यकर्तासम्म संलग्न
देवघाट । देवघाट क्षेत्रमा धार्मिक उदेश्यले संरक्षण गरेर राखिएका जग्गाहरु किनबेचमा भरतपुर महानगरले मौन रुपमा सहयोग गरेको पाइएकोछ ।
देवघाट क्षेत्र बिकास समितिको चितवन तर्फको भरतपुर महानगरपालिकाको वडा नम्वर १ देवघाटमा रहेको सार्वजनिक जग्गा दिनानुदिन अतिक्रमण हुँदा समेत देवघाटबासीहरु आश्चर्यमा छन् । अझ अतिक्रमित जग्गाकोभवन शिलान्यास गर्न आफैजाने र त्यो भवनमा समेत महानगरको तर्फबाट बजेट निकासा गरिदिने निर्वतमान मेयर रेनु दाहालको कार्यप्रति क्षेत्र बिकास समितिका अध्यक्ष बद्री अधिकारीले समेत आपत्ति जनाउनु भएको छ ।
मठाधिशदेखि माओवादीसम्मको संलग्नता
सुवेदी समाजको नाममा केही समय अगाडि महानगरबाट बजेट समेत दिएर स्वयम् दाहालले शिलान्यास गरेकोप्रति क्षेत्र बिकास समितिका अध्यक्ष अधिकारीले आपत्ति जनाउनु भएको हो । देवघाट क्षेत्रमा महानगरबाट रकम निकासा गरी समितिलाई केही जानकारी नदिई मेयर स्वयम शिलन्यास गर्न जादैगर्दा जग्गा अतिक्रमण र किनबेचमा प्रश्रय मिलेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
त्यसैगरी भरतपुर महानगरपालिकाको वडा नम्वर १ देवघाट क्षेत्रमा नै रत्न कँडेलले सार्वजनिक जग्गा मिचेर व्यक्तिगत घर निर्माण गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १ लाई देवघाट क्षेत्र बिकास समितिले जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको अध्यक्ष अधिकारीले बताउनु भयो । कँडेल माओवादी कार्यकर्ता हुनुहुन्छ । अहिलेको स्थानीय निर्वाचनमा उहाँ भरतपुर महानगरको१ नम्बर वार्डमा माओवादीबाट वडाध्यक्षका लागि सिफरिसमा पर्नुभएको थियो ।
अर्का देवघाट टोल बिकास संस्थाका अध्यक्ष मन्दिरका पिठाधीस मुकुन्दशरण सिग्देलले केही समय अगाडी नदी तटीय जग्गा अतिक्रमण गरी आश्रमको नाममा व्यवसायीक भवन बनाउनुभयो । शवदाहस्थलसंगै बनेको सो व्यावसायिक भवन चालिस लाख रुपैयामा देवघाटमा नै बस्ने जगनाथ पोख्रेललाई बिक्री गरेकोभेटिएको छ । नदी तटीय क्षेत्रको जग्गामा भवन बनाउन र किनबेच रोक्न क्षेत्र विकासले महानगरलाई जानकारी गरायो, तर भरतपुर महानगरले सो कार्य रोक्न कुनै सुनुवाई नै गरेन । यस विषयमा देवघाट सार्वजनिक सरकारी नदीतटीय जग्गा अतिक्रमण विरुद्धको संरक्षण अभियान, चितवनले समेत क्षेत्र विकास समितिलाई ध्यानकर्षण गराएको थियो ।
स्मरण रहोस्, भरतपुर महानगरको मेयर देवघाट क्षेत्र बिकास समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
सुकुम्बासीको नाममा हुकुम्बासी
त्यसैगरी सन्त बहादुर गुरुङ्ग विगत अठ्ठाईस वर्ष देखि देवघाट क्षेत्र बिकास समितिको चितवन तर्फको एन आर एन वृद्धाश्रमको छेउमा रहेको क्षेत्र बिकास समितिको जग्गामा बसोवास गर्दै आउनुभएको छ । उहाँ सुकुम्बासी भएको भन्दै क्षेत्र बिकास समितिले अहिलेसम्म उनको बसोवासलाई केही गरेको थिएन । तर २०७८ वैशाख लागेसंगै सन्तबहादुरले कब्जा गरेर बसेको ठाँउमा टहराहरु बन्न थाले । साना साना पाँच वटासम्म टहरा बन्दै गरेको देखेपछि क्षेत्र बिकासले पत्र काटेर सो टहरा नबनाउन भन्यो । तर उहाँहरुले वेवास्ता गर्दै बनाउदै जनाउनुभयो । क्षेत्र विकासले खोज्दै जाँदा सन्तबहादुरका छोरीहरु र भतिजहरुले बनाएको पाइयो । देवघाट क्षेत्र बिकासले सरोकारवालाको भेला नै राखेर निर्माण कार्य रोक्न लगायो ।
तर देवघाट क्षेत्र विकास समितिले सन्तबहादुरको खोजी गर्दै जादा उहाँ सुकुम्बासी नभएको पायो । विगत २८ वर्ष देखि बृहत धार्मिक प्रवचनको आडैमा वसोवास गदै आउनुभएका सन्त बहादुले विगत २८ वर्ष अगाडी नै एक कठ्ठा जग्गा यज्ञशाला मार्फत पाउनुभएको थियो। सो एक कठ्ठा जग्गा २०७८ वैशाख महिनामा सन्तबहादुरले एक कठ्ठा जग्गा कश्य गोत्रीय अधिकारी समाजलाई १३ लाख ७५ हजारमा विक्री गर्नुभयो।
विश्व शान्ति महायज्ञ यज्ञशालाले समेत यसरी जग्गा बेच्न पाउँदैन ।
यज्ञशालाले जग्गामा मनपरि
राजा महेन्द्र बागेश्वरीमा रहेको दरवारमा आउँदा २०१८ सालमा रुद्री, पुजा, होम गर्नका लागि विश्व शान्ति महायज्ञ यज्ञशालालाई केही जग्गा मौखिक रुपमा दिनुभएको थियो । विश्व शान्ति महायज्ञ यज्ञशालाले देवघाट क्षेत्र बिकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र रहेको पाँच बिगाह जग्गा आफ्नो भनी उपभोग गर्दै आयो । २०५७ सालमा देवघाट क्षेत्र विकास समितिले दुई विगाह जग्गा आफ्नो अधिनमा लियो । दुई विगाह मध्ये एक विगाह जग्गामा एन आर एन वृद्धाश्रमलाई नीतिगत निर्णय गरी आश्रम सञ्चालनको लागि दिईयो । सो आश्रम भने हाल गलेश्वर आश्रममले लोक कल्याणकारी रुपमा सञ्चालन गरीरहेको छ । उता विश्व शान्ति महायज्ञ यज्ञशालाको नाममा तिन विगाह जग्गा बाँकी रह्रयो । तर विश्व शान्ति महायज्ञ यज्ञशालाले भने होम होमाधि र मन्दिर सञ्चालनमा गाह्रो भएको भन्दै आफ्नो जग्गा अनाधिकृत रुपमा बिक्री गदै गयो । विश्व शान्ति महायज्ञ यज्ञशालाले यस भन्दा अगाडि पनि थुप्रै जग्गाहरु विभिन्न संघ संस्थालाई बिक्री गरेको भन्दै क्षेत्र विकास समितिले आपत्ति जनाउँदै आईरहेको छ भने भरतपुर महानगरका मेयर रेनु दाहाल क्षेत्र विकासको पदेन सदस्य हुँदा पनि यो विषयमा पटक पटक वैठकमा जानकारी गराईयो । तर मेयर दाहालवाट कुनै पहल कदमी नलिएको भन्दै क्षेत्र विकास समितिले आपत्ति जनाएको हो ।
विश्व शान्ति महायज्ञको नाममा रहेको तिन विगाह जग्गा किनबेच गर्ने अधिकार सो संस्थालाई नभएको भन्दै संस्थाले गरेको काम प्रति कार्यकारी निर्देशक धिरण घिमिरेले पनि आपत्ति जनाउनु भएको छ । देवघाट क्षेत्र बिकास समितिको चितवन तर्फको जग्गाहरु बिक्री वितरण हुँदा उक्त यज्ञशालाले अनाधिकृत रुपमा सरकारलाई समेत चुनौती दिदै राजश्वको रुपमा एक लाख रुपैया देखि तिन लाख रुपैयाँसम्म लिने गरेको छ ।
सो यज्ञशालाको नाममा बाँकी रहेको तिन विगाह जग्गामा अहिले कश्यप गोत्रीय अधिकारी समाज, रामजानकी बालिका आश्रम, कोईराला समाज, र दवाडी समाज र भोगचलन गदै आएका छन् ।
यज्ञशालाको अपारदर्शी पाटो
क्षेत्र विकासका कार्यकारी निर्देशक घिमिरे अब सयौ वर्षसम्म पनि सो तिन विगाह जग्गा विश्व शान्ति महायज्ञ यज्ञशालाको नाममा हुुनुपर्ने बताउनु हुन्छ । उहाँ पारिवारीक रुपमा सञ्चालन भईरहेको विश्व शान्ति महायज्ञ यज्ञशालालाई आर्थिक पाटो साधारण सभा तथा अधिवेशन गरेर पारदर्शी रुपमा सञ्चालन गर्न आग्रह गर्नु हुन्छ ।
यज्ञशालाको नाममा रहेको जग्गा किन्ने र बेच्नेहरुले मठमन्दिर तथा आश्रमलाई दस्तुरसमेत बुझाउने गरेको पाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारी जुन संघ संस्थालाई जुन उदेश्यले जग्गा दिईएको हो, सो जग्गा सोही उद्देश्यमा मात्रै प्रयोग हुनुपर्नेमा अघोषित रुपमा विक्री हँुदा कालान्तरमा यसले देवघाटलाई ठूलो हानि पुग्ने बताउनु हुन्छ । उहाँले सरकारले नीतिगत निर्णय गरेर तत्कालै पवित्र तीर्थस्थलमा भएको अतिक्रमण रोक्नुपर्ने बताउनुहुन्छ । मठमन्दिर र आश्रमलाई दस्तुर बुझाएर सामाजिक वैधानिकता दिने गरेपनि सरासर गलत भएको अध्यक्ष अधिकारीको भनाई छ ।
उता यज्ञशालाको समन्वयमा अधिकारी समाजलाई बिक्री गरेको एक कठ्ठा जग्गामा एक लाख पचास हजार रुपैयाँ राजश्व भनी विश्व शान्ति महायज्ञका सञ्चालक लक्ष्मण सुवेदीले लिएको स्वयम सन्त बहादुर तमाङ्गले बताउनु भयो ।
उता विश्व शान्ति महायज्ञ यज्ञशालाका सञ्चालक लक्ष्मण सुवेदीले भने जग्गा किन बेच नभएको बताउनु हुन्छ । उहाँ अन्य संघ संस्थालाई बिक्री नगरीकन आपसी समझदारीमा भोगचलन गरिएको बताउनु हुन्छ ।
तर अधिकारी समाजका महासचिव युवराज अधिकारीले भने आफुहरुले पैसानै हालेर लिएको बताउनुभयो । अधिकारी समाजले वि.स. २०६८ सालमा कश्यप गोत्रीय अधिकारी समाज र विश्व शान्ति महायज्ञ बिचमा दोहोरो सम्झौता गरि पन्ध्र लाखमा पाँच कठ्ठा जग्गा लिएको जानकारी दिनु भयो ।
अतिक्रमण झनै बढ्दो

देवघाट क्षेत्रमा थुप्रै संघ संस्था र विभिन्न जातीका मानिसहरुले धार्मिक उदेश्यले जग्गा ओगटेर बसेका छन् । देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्यक्षेत्र भित्र पाँच हजार ४ सय ३४ हेक्टर जमिन रहेको छ । त्यसमध्य चितवनतर्फ करिब २७ बिगाह जग्गा रहेको छ । देवघाट क्षेत्रमा गैरकानुनी रुपमा विक्री हुने सरकारी सार्वजानिक नदी तटीय जग्गा बिक्री वितरणमा देवघाट क्षेत्र बिकास समितिको ५९ औं पूर्ण बैठकले विक्री वितरणमा रोक लगाएको छ ।
ठूलाबडा र पहुँचका आधारमा दिनानुदिन अतिक्रमण बढेको भन्दै क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले मठमन्दिर, आश्रम, कुटी र कल्पवासका नाममा जग्गा अतिक्रमण हुन दिन नहुने बताउनु भयो । उहाँले यस विषयमा यस भन्दा अगाडिका समितिहरुले चासो नदिएको र स्थानीय सरकारले पनि कुनै पहल कदमी नलिदा अहिले काम गर्न गाह्रो भएको बताउनु भयो ।
चितवन तर्फको भुभागमा पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका नामका भवनहरु निर्माण भएको क्षेत्र बिकास समितिले जनाएको छ । यससँगै विभिन्न जातजातिका कुल पूजा गर्ने स्थलहरुमा भवनहरु बनेका र बन्दै गर्दा देवघाट क्षेत्र अहिले कंक्रिटको शहरका रुपमा परिणत हुदै गएको छ भने गुरु योजना अनुसारका कामहरु गर्न पनि जग्गाको अभाव भएको छ ।
महानगरले संरक्षण गरेन
देवघाट क्षेत्र बिकास समितिका कानुनी सल्लाहकार अधिवक्ता राजकुमार क्षेष्ठ देवघाट क्षेत्र अन्तर्गतका सार्वजनिक जग्गाहरु स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सरकारी सम्पती संरक्षण गर्ने अधिकार स्थानीय पालिकाहरुलाइ दिएको बताउनु हुन्छ । उहाँ सरकारी जग्गा कसैलाई दिन र कसैलाई विक्री वितरण गर्ने अधिकार स्थानीय सरकार र स्वयम देवघाट क्षेत्र विकास समितिलाई समेत नभएको बताउनु हुन्छ ।
यदि कसैले अतिक्रमण गरेको छ भने त्यसको संरक्षण र सम्बर्दन गर्ने अधिकार देवघाट क्षेत्र बिकास समितिलाई नेपाल सरकार गठन आदेश २०५० ले दिएको छ । त्यो भन्दा बाहिरका सरकारी सार्वजनिक जग्गाको संरक्षण तथा सम्र्वदन गर्ने अधिकार स्थानीय सरकारलाई रहेको उहाँको भनाई छ ।



















